logo
२०८१ जेष्ठ २ बुधवार



दशैँको फेशन

मनोरञ्जन |


दशैँको फेशन


राधा ढकाल
फेशन डिजाइनर


दशैँ जति नजिकै आउँदैछ त्यति नै हाम्रो मनमा दशैँको रमाइलोले खुल्दुली बनाउँछ । साना केटाकेटीलाई त झन् कहिले स्कूल बिदा होला र नयाँ लुगा रोज्न बजार जाने भन्ने हतार भइरहेको हुन्छ । बालबालिकाले दशैँमा बनाउने धेरै योजनामध्ये नयाँ लुगाको छनोट सबैभन्दा पहिलो र महìवपूर्ण हो । आजका बालबालिका परिवर्तनका एक उदाहरण हन् । दस वर्षअघिका बालबालिका र अहिलेका बालबालिकामा तुलना गर्ने हो भने उनीहरूका सोच, विचार र सिकाइमा परिवर्तन आएको पाइन्छ । यही परिवर्तन बालबालिकाले लगाउने ड्रेसको रोजाइँमा झन् धेरै देखिन्छ ।
अचेल चाडपर्वको समयमा साना बालबालिकाले रमाइलो मान्ने र खुशी हुने ठूलो कुरा नै उनीहरूको रोजाइँको फेशनयवल ड्रेस हो । अहिले बालबालिका यति चुजी र स्मार्ट छन् कि आफूलाई मन पर्ने रङ र फेब्रिकमा सुहाउने गरी बनाउन आफ्नै डिजाइन लिएर बुटिकमा पुग्ने गर्छन् । पर्व र माहोलअनुसार लगाउने लुगामा समेत फरक–फरक रङ र डिजाइन चाहन्छन् । अहिले पर्वअनुसारको रुचि र रङ छनोटमा बालबालिका अत्यन्तै सचेत छन् । रातो, हरियो, पहँेले र नीलो रङ मिसिएको लेहेङ्गा र लामो छोटो वानपिस यो तिजमा धेरै बालबालिकाको रोजाइ थियो । तीजलगतै दशैँका लागि पनि फेशनयवल ड्रेसमा रुचि हुने बालबालिकाले आफूलाई मन पर्ने र सुहाउने डिजाइनमा अर्डर गरिसकेका छन् । कतिपय आमाबाबाले नै छोराछोरीको रुचि र चाहनाअनुसारको डिजाइनमा अर्डर गरिदिनुहुन्छ ।
कक्षा ४ मा पढ्ने सानी स्नेहाले तीज सकिने बित्तिकै आउँदै गरेको दशैँका लागि लुगा अर्डर गरिन् । आमासँगै बुटिकमा आएकी उनले आमालाई पनि उस्तै लुगा लगाउन कर गरिन्  । छोरीको जिद्दीले आमाले पनि छोरीकै जस्तो अर्डर गर्नुभयो । दशैैँको रातो टीका र पहेँलो जमराको रङलाई मिल्ने गरी है ? लुगाको रङ र डिजाइन चाहिँ मैले भने जस्तै हुनपर्छ, स्नेहाले मोबाइलमा डिजाइन देखाउँदै भनिन् । स्नेहा सानी भए पनि फेशनमा उनको अत्यन्तै रुचि र सोख थियो । उनले यस्तो डिजाइन विभिन्न कार्टुनमा साना केटाकेटीले लगाएको देखेर आफूले पनि लगाउने रहर गरेकी रहिछन् । स्नेहा जस्तै धेरै केटाकेटी अचेल आमाबाबसँगै बुटिकमा नै आएर लुगा अर्डर गर्छन् । फेशन भन्नेबित्तिकै हामी छोरीका लागि भन्ने बुझ्छौ तर होइन अहिले छोराछोरी र आमाबाबाले सामान्य लुगालाई पनि उस्तैउस्तै कन्ट्रास्ट बनाएर लगाउने लहर नै चलेको छ । प्रायः आमाछोरी र बाबाछोराको लुगामा रङ र उस्तै डिजाइन मिलाउने गरिन्छ । यो तीजमा अधिकांश आमाछोरीको लुगा उस्तैउस्तै डिजाइन र रङमा देखियो भने दशैँका लागि बाबा र साना छोराको उस्तै उस्तै रङमा बढी अर्डर आएको छ ।
सामान्य नै किन नहोस् यस्तो म्याचिङ फेशनले लगाउनेलाई मात्र होइन हेर्नेलाई पनि रमाइलो लाग्छ । फोटोमा हेर्दा पनि आनन्द आउँछ । चाडपर्वको समयमा बालबालिकाले सामाजिक सञ्जालमा आफ्नो फोटोहरू पोस्ट गर्नुको मुख्य उद्देश्य नै आफ्नो फेशनयवल ड्रेस अरूलाई देखाउने, राम्रो भनिदिऊन् र लाइक कमेन्ट धेरै आओस् भन्ने चाहना हुन्छ । अन्य समयमा दैनिक विद्यालय र गृहकार्यको बोझले दिक्क भएका बालबालिकाका लागि सानो कुराले दिने ठूलो खुशीलाई हामी अभिभावकले पनि बुझ्नु पर्छ ।
साना बालबालिकामा पनि केही नयाँ अनि फरक खालको लगाउने सोच र फेशनप्रतिको सचेतनाले उनीहरूको मन र मस्तिष्कमा एउटा रमाइलो भावको सञ्चार भइरहेको हुन्छ । पर्वहरूको बहानामा भए पनि साना केटाकेटी मन खोलेर रमाउन पाउँछन् । आफूले लगाएको नयाँ लुगाकै कारण पनि उनीहरू मन खोेलेर रमाउने वातावरण भयो भने यसले बाल मस्तिष्कमा सकारात्मक ऊर्जा मिल्छ । हेर्दा सामान्य लुगा हो  । आखिर हरेक आमाबाबले आफ्ना छाराछोरीका लागि दशैँमा नयाँ लुुगा अवश्य किनिदिनुपर्छ । त्यही लुगा पनि उनीहरूले चाहेजस्तै केही फरक डिजाइनमा भयो भने उनीहरू आफूलाई अरूभन्दा फरक महसुस गर्छन् । यसले बालबालिकामा आत्मविश्वास पनि बढाउँछ । बुटिकमा सामान्य एक सय रुपियाँको कपडालाई पनि डिजाइन बनाउन सकिन्छ । त्यो पनि आफ्नो बजेटअनसार नै बनाउन सकिन्छ । मनपर्ने रङ र फेब्रिकमा आफुलाई सुहाउने डिजाइनमा भने ध्यान दिनुपर्छ । 

 

मुना असोज २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?