logo
२०८१ मंसिर ८ शनिवार



छमछमी सिजन–४ विजेता सन्ध्या

मनोरञ्जन |


छमछमी सिजन–४ विजेता सन्ध्या



दीपक श्रेष्ठ

काठमाडौँ, कात्तिक १० गते । हेटौँडाकी सन्ध्या आचार्य रियो छमछमी ४ को विजेता बन्नुभएको छ । नृत्य प्रतिभाको खोजीका रुपमा एक वर्षअघि सुरु भएको सो प्रतियोगिताको शनिबार राति अबेर सम्पन्न अन्तिम प्रतिस्पर्धामा आचार्य विजेता बन्नुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजेता आचार्यलाई सुजुकीको अल्टो के १० कारको साँचो तथा अवार्ड प्रदान गर्नुभयो ।
नेपाल टेलिभिजनद्वारा आयोजित सो प्रतियोगितामा महोत्तरीका नेशन सुस्लिङ मगर प्रथम उपविजेता र झापाकी दिलमाया लिम्बूले द्वितीय उपविजेता बन्नुभएको छ ।
सुस्लिङले पाँच लाख र दिलमायाले तीन लाख रुपियाँसहित पुरस्कार प्राप्त गर्नुभएको छ । अघिल्लो वर्षको संविधान दिवसको अवसर पारेर थालनी गरिएको रियो छमछमीको चौथो शृङ्खलाको उत्कृष्ट पाँचमा पोखराकी सपना धाई थापा र दाङका आकाश विक समेत पर्नु भएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले निर्माण र नेतृत्वको महत्वपूर्ण आधारका रुपमा रहेका युवा पुस्ताको प्रतिभाको खोजी गर्ने छमछमी कार्यक्रम एउटा राम्रो सुरुआत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हजारौँ प्रतिभाले फुल्न र फल्न पाउनुपर्छ । छमछमीमा नेपालीपन त कति छ तर मन, भाव, सहभागितामा नेपाली छ ।” उहाँले भन्नुभयो, “बुद्ध छन् र शान्ति छ । सगरमाथा छ र ऋषिमुनिहरु थिए । जानकी, भृकुटी र अरनिको थिए र प्यागोडा शैलीको कुरा गर्न सक्छौँ ।”
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले ग्रामीण र दूरदराजमा रहेका नृत्य क्षेत्रको प्रतिभाको खोजीका रुपमा सो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । सीजी ग्रुपले प्रायोजन गरेको सो कार्यक्रममा मिथिला शर्मा, महेश गोदार, संचिता लुइँटेल र कमल राई निर्णायकका रुपमा रहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?