मकवानपुर समाचारदाता
हेटौँडा, मंसिर १ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ५ फाखेल खड्बुस्थित नेवार समुदायले हरेक तीन वर्षमा प्रदर्शन गर्दै आएको नाच आइतबार विहानबाट सकिएको छ । खड्बुमा रहेका नेवारका ४९ घरका परिवार सङ्गठित भएको महाचुनी महालक्ष्मी नाटेश्वरी गुठीमार्फत् कात्तिके नाच प्रस्तुत गर्ने गरिन्छ । इन्द्रसरोवर गाउँपालिकाको छुट्टै पहिचान, इतिहास र पौराणिक महत्व बोकेको खड्बुमा देखाइने कात्तिके नाच परापूर्वकालदेखि स्थानीयको भनाइ छ । कात्तिक महिनाभर देशका विभिन्न स्थानमा नेवारी समुदायले विभिन्न कथामा आधारित नाच देखाउने प्रचलन रहेको छ ।
यस वर्ष कात्तिक २६ गतेदेखि चार रातसम्म नाच सञ्चालन भएको स्थानीय मञ्जरी बलामीले जानकारी दिनुभयो । चार रातभर देखाइएको उक्त नाचमा पहिलो र दोस्रो दिन नाच देखाएपछि कात्तिक २८ गते खाली राखी २९ र ३० गते नाच देखाइएको थियो ।
यस वर्षको नाचमा महाभारतको विराटपर्वसँग सम्बन्धित कथामा आधारित नाच प्रस्तुत गरिएको नाच गुरु तेजबहादुर नगरकोटीले जानकारी दिनुभयो ।
चार रात देखाइने नाचमा दुई रात कुमारी खट र दुई रात महाचुनी खटमा देखाइएको थियो । नाच प्रस्तुतीका लागि गत असोज ५ गतेदेखि स्थानीय कलाकारलाई सिकाइएको थियो ।
स्थानीय अग्रज रत्नलाल बलामीले नाचको लागि ५३ जना कलाकारहरुको भूमिका रहने भन्दै युवा पुस्ताको गाउँघरमा अभाव भएपनि व्यवस्थापन गर्दै नाचमा उतारिएको जानकारी दिनुभयो । गाउँबाट काठमाडौँ बस्दै रोजगारी गरिरहेका युवालाई फुर्सदको समयमा गाउँमा झिकाएर नाचका लागि अभ्यास गराइएको थियो ।
नाच हेर्नका लागि इन्द्रसरोवर गाउँपालिकासँगै मकवानपुरका विभिन्न स्थान र छिमेकी जिल्लाबाट ठूलो सङ्ख्यामा आएका थिए ।