नेत्र शाही
खलङ्गा, पुस १६ गते ।
‘ए आउँसी बार भैलो,
दर बुधवार भैलो,
दरमे खोली भैलो’
यो खस सभ्यता झल्काउने भैलोको एक टुक्का हो । खस सभ्यताको मौलिक संस्कृतिको भैलो अहिले खेल्न थालिएको छ । परम्परागत रुपमा खेलिने खस संस्कृतिको भैलो खेल्न अहिले ज्येष्ठ नागरिक र महिलाको टोली लागि परेको छ । यो भैलो पुसको औंसीदेखि पञ्चमीसम्म खेलिने ठूलोभैलोले कर्णालीका गाउँबस्तीहरुमा छाएको हो ।
जुम्लाका महिला तथा ज्येष्ठ नागरिक पुरुषले परम्परा बचाउनकै लागि भैली खेल्दै आउने गरेका छन् । धार्मिक तथा सांस्कृतिक आस्था जोडिएको ठूलो भैलो लोप हुँदै गएको समयमा जुम्लामा दुई/तीन वर्षदेखि सुरुवात गरिएको छ । यहाँका बुढापाका, समूह बनाएर ४÷५ दिन खेलिने भैलोको महत्व जोगाउनु पर्ने आशा समेत गरिएको छ ।
जुम्लामा महिला, बुढाबुढी ‘स्थानीय गीतहरु गाएर भैली भन्दै हरेक आफन्तले घरको आँगनमा जाने र भैलो माग्ने’ चलन रहेको छ । पछिल्लो समयमा देउसी जसरी अगाडि बढिरहेको छ । त्यसैगरी मौलिक संस्कृतिका गीत भजन गाएर कर्णालीमा भैलो खेलिने गरेको संस्कृति तथा भाषाका जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो । साथीसंगीहरु बीचमा भैलो खेलिने र त्यहाँबाट प्राप्त चामल, दाल र नगद पाटेभात, बनमा गएर खाने चलन रहेको उहाँको भनाइ छ । भैलो खेल्ने समयमा भने खस संस्कृतिका पोशाकहरु लगाउने चलन पनि छ ।
पछिल्लो समयमा रमाइलो तथा परम्परा जोगाउन खेलिने भैलो अहिले हराउँदै गएको उहाँले बताउनुभयो । युवा पुस्ताले त्यति प्रथामिकता नदिएकोमा बुढापाखा तथा जानकारहरु चिन्तामा रहेका छन् । बाह्रौं शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको हिउँदे भैली खेल्ने चलन जोगाएमा हाम्रो मौलिक संस्कृति प्रवद्र्धन हुने स्थानीयको भनाइ छ ।
दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महत्वपूर्ण पर्वको अझै बढी मानिन्थ्यो । जुम्लाका महिला र पुरुषमा खस परम्परा अनुरुप छुट्टाछुट्टै भैलो खेल्ने चलन रहेको थियो ।
पछिल्लो समयमा भैलेरा भैलेरीले आफू अनुकूलको दक्षिणा माग्ने चलन बसेकाले समस्या आउने गरेको पाइएको छ । पोशाकमा महिलाले फरिया लगाउने, आँचला हाल्ने, गृह लठ्ठी हातमा लिएर भैली खेल्ने चलन छ । भैलो खेलेर संकलन गरेको रकम भैलो समाप्तिका बेला भोज खाएर मनोरञ्जन गर्ने प्रचलन रहिआएको छ ।
राजारजौटाका पालामा बाज (चिल) समात्ने र बाज पालेर बेच्ने, तिनीहरुलाई युद्धकला सिकाई एक अर्काको देशका बाज लडाएर मनोरञ्जन गर्ने हिसावले भैलो सुरु गरिएको किम्बदन्तीमा उल्लेख रहेको जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो ।