सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का नवनियुक्त महाप्रबन्धक अशोक प्यासी राई संस्थानलाई नेपालका विविधतायुक्त अमूर्त कला, संस्कृतिको प्रवद्र्धनसँगै आत्मनिर्भर बनाउने योजनासहित अगाडि बढ्नुभएको छ । १८ वर्षसम्म रङ्ग पत्रकारितामा रमाउनुभएका महाप्रबन्धक राईलाई मुलुकको मौलिक कला र संस्कृतिबारे ज्ञान कम छैन । नेपाली नाटक, गीत, सङ्गीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले वि. सं. २०१६ सालमा राष्ट्रिय नाचघरको स्थापना भएको थियो । संस्थानले धार्मिक, सामाजिक तथा हास्य नाटकका अतिरिक्त गीति नाटक, नृत्य, नाटक, प्रहसन, लोक गीत, आधुनिक गीत, कविता वाचन एवम् परम्परागत शास्त्रीय नृत्य तथा लोक नृत्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नवनियुक्त महाप्रबन्धक राईसँग संस्थानको नयाँ योजनाबारे गोरखापत्रले गरेको कुराकानी :
पत्रकारिता क्षेत्रबाट राष्ट्रिय नाचघरको महाप्रबन्धकको जिम्मेवारीमा आइपुग्दा कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
हो, मैले लामो समय पत्रकारिता गरेँ । कला क्षेत्रको रिपोर्टिङ गरेँ, समाचार, विचार, विश्लेषण लेखेंँ । मेरो रुचिको क्षेत्रकै जिम्मेवारी पाउँदा म खुसी छु र आफ्नो अनुभवसँगै अग्रजको सल्लाह, कलाकार र कर्मचारीको सहकार्यमा यस संस्थानलाई दिगो रूपमा आत्मनिर्भर बनाउने मेरो सोच छ ।
अहिले संस्थानको स्थिति कस्तो छ ?
म भर्खर नियुक्त भएर आएको छु । बाहिरबाट हेर्दा त राम्रै छ । विस्तारै यहाँका कर्मचारी, कलाकारसँग सहकार्य गर्दै भौतिक दृष्टिकोणले सम्पन्न संस्थानलाई आर्थिक रूपमा पनि स्वावलम्बी बनाउने योजनामा काम गर्दैछु । यस संस्थानलाई बाहिरबाट कलाकार वा आम मानिसले जस्तो देख्छन्, सोच्छन् नि त्यस्तै अवस्थामा पु¥याउन धेरै काम गर्न बाँकी छ ।
संस्थानलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन के गर्दै हुनुहुन्छ ?
संस्थानको वार्षिक खर्च करिब पाँच करोड रुपियाँभन्दा माथि लाग्छ । सरकारले केही बजेट त छुट्याउँछ । त्यो बजेट यहाँका कर्मचारीका लागि तलब खुवाउन पनि गाह्रो हुने अवस्था छ । यस संस्थान नाफाको व्यापार गर्न स्थापना गरिएको पनि होइन । कलाको प्रवद्र्धनसँगै आर्थिक रूपमा सबल हुन कार्यक्रम निरन्तर चल्नुप¥यो । हल भाडामा दिन सकिने अवस्था पनि यसको आर्थिक आम्दानीको स्रोत हो । नयाँ ढङ्गको कार्यक्रम ल्याएर हाम्रा विविधतायुक्त कला प्रदर्शन गरेरै कमाउन सकिन्छ । मैले जिम्मेवारी पाउँदा चुनौती र अवसर दुवै प्राप्त भएको महसुस गरेको छु ।
नयाँ योजना के–कस्ता बनाउनुभएको छ ?
यहाँको स्थितिको अध्ययन गर्दैछु । अबका तीन महिनामा संस्थानभित्र भौतिक सजावट, यहाँ लामो समयदेखि कार्यरत कर्मचारी कलाकारसँग नयाँ ढङ्गले सहकार्य गर्नेबारे छलफल र सुधार गर्न सकिने सम्मका प्रशासनिक सुधारका काम गर्दैछु । त्यसपछि आगामी चारवर्षे कार्यक्रम सार्वजनिक गर्छु ।
दीर्घकालीन योजना कस्ता हुनेछन् ?
हाम्रा कला संस्कृति अहिलेसम्म एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण मात्र हुँदै आएका छन् । त्यसलाई दीर्घकालीन रूपमा जीवन्त राख्न डिजिटल अर्काइभको संस्थानमा टड्कारो आवश्यकता देखेको छु । यसको व्यवस्था अहिलेसम्म संस्थानमा छैन । नृत्य, नाटक, गीत÷सङ्गीत प्रस्तुति र त्यस बारेमा बुझाउनुपर्दा सम्बन्धित वा जानेका कलाकारलाई खोज्दै हिँड्नुपर्ने अवस्थाको डिजिटल अर्काइभले अन्त्य गर्दछ भने सधैँका लागि कला जीवन्त हुन्छ । व्यक्ति–व्यक्तिबीच मात्र आदान–प्रदान हुने अवस्थाले सम्बन्धित कलाकारको निधनपछि दोस्रो पुस्ता तयार भएन भने त कला लोप हुन्छ । यस्तो अवस्थाको अन्त्यका लागि दीर्घकालीन योजना अन्तर्गत डिजिटल अर्काइभको स्थापना गर्ने सोच बनाएको छु ।
नेपाल भ्रमण वर्षलाई लक्ष्यित गरी संस्थानले कस्ता कार्यक्रम ल्याउँदैछ ?
सबैभन्दा पहिले सांस्कृतिक संस्थानमा मुलुकभरका जातीय विविधतायुक्त लोक धुन, लोक गीत, नृत्य र नाटक साताको एक दिन निरन्तर प्रस्तुति र मञ्चन गरिने लक्ष्य छ । त्यसबाट मौलिक संस्कृति, गीत÷सङ्गीत, नाटकको प्रवद्र्धन हुन्छ । कार्यक्रममा सहभागिता जनाउनुहुने कलाकारको रोजीरोटी पनि जुट्छ । संस्थानको आयआर्जन पनि नियमित हुन्छ । कार्यक्रमबाट भ्रमण वर्षमा नेपाल आउने पर्यटकको बसाइ लम्ब्याउन पनि योगदान पुग्छ ।
संस्थानमा कस्ता कार्यक्रमले प्राथमिकता पाउँछन् ?
यस संस्थानको स्थापना नै नेपाली मौलिक संस्कृतिको प्रवद्र्धन र जगेर्ना गर्न भएको हो । जुन एक पुस्ताबाट अर्को पुस्तामा सदियौँ अगाडिदेखि हस्तान्तरण हुँदै आएका थिए । अहिले विविध कारणले संस्कृति हस्तान्तरण हुने अवस्थामा कमी आएको छ । विश्वमै दुर्लभ सभ्यता, संस्कार कलाको प्रवद्र्धनका लागि सरकारले चासो देखाएर स्थापना भएको संस्थानले तिनको जगेर्नालाई प्राथमिकता दिन्छ । नेपाली जातिको विविधतासँगै हरेक जातिमा फरक संस्कृति, संस्कार, भाका, नृत्य मौलिक कथा छन् । विशेष गरी लोक र मौलिक कलाको प्रवद्र्धनका कार्यक्रमले प्राथमिकता पाउँछन् ।
कलाकारको हितमा के गर्नुहुन्छ ?
मौलिक कला संस्कृतिका धनी हामी नेपाली यस सन्दर्भमा विश्वकै धनीमध्ये पर्छाैं । कलाकार पहिले बाँच्नुपर्छ । घर चल्नुपर्छ । त्यसपछि मात्र उहाँसँग सम्बन्धित कलाकारितामा दत्तचित्तले काम गर्न जोश, जाँगर, उत्साह जाग्छ । उहाँहरूलाई सम्बन्धित क्षेत्रमा निरन्तर प्रस्तुति गर्ने अवसर जुराउन पहल गर्नुपर्छ । साथै पहिलो पुस्ताले दोस्रो पुस्तालाई प्रशिक्षण दिने वातावरण बनाउन सके विद्वत् कलाकारले आफ्नो अनुभव, ज्ञान अर्कोलाई प्रदान गर्न पाउँछन् भने कलाको प्रवद्र्धन पनि हुन्छ । दोस्रो पुस्ता कलाकार पनि तयार हुन्छ । यस्तो वातावरणका लागि संस्थानले पहल गर्नेछ ।
प्रस्तुति : शिवा तामाङ / यलु जोशी