गोरखापत्र समाचारदाता
काठमाडौं, माघ २४ गते । नभेष चित्रकारको फोटोले आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ दि इयर ०७६ को उपाधि हात पार्नुभएको छ ।
चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय वालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो जित्नुभएको हो ।
फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ मा स्पोर्टस् विधाको उपाधि गोरखापत्रका फोटो पत्रकार विकास द्वारेले जित्नुभयो । उहाँले १३ आंै दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष तर्फको बक्सिङ प्रतियोगिताको अन्तिम चरणमा नेपालका खेलाडी सनिल शाहीले भारतीय खेलाडीलाई मुक्का प्रहार गरेको फोटोको कारण पहिलो स्थान हासिल गर्नुभएको हो । उहाँले उपाधि सहित ट्रफी र ३० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फोटो पत्रकार क्लबले सबैलाई धन्यवाद दिनुहुँदै फोटोको शक्ति हजार शब्दभन्दा बढी रहेको बताउनुभयो ।
यस्ता फोटो प्रतियोगिताले हाम्रो देशको राष्टिय एकता, तराई, पहाड र हिमालको सामाजिक सद्भाव बढाउँछन्, अझ सुदृढ पार्नेछन् मन्त्री भट्टराइले थप्नुभयो, देशमा रहेका रमणीय ठाउँहरुलाई फोटोमा कैद गरेर नेपाललाई विश्व पर्यटनमा चिनाउन सकिन्छ ।’
मन्त्री भट्टराईले यस वर्ष सरकारले भिजिट नेपाल २०२० पर्यटन वर्षका रुपमा मनाइरहेको उल्लेख गर्दै नेपाल पर्यटनका लागि सुरक्षित रहेकाले नेपाल घुम्न हिच्किचाउन नपर्ने बताउनुभयो ।
यसैगरी, सुरज श्रेष्ठको फोटोले स्माइल विधा जित्यो भने डेली लाइफ विधामा गोपेन राईले आफ्नो नाममा पार्नुभएको छ ।
दिपेन श्रेष्ठले न्युज विधाको उपाधि जित्दा नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकारले तथा कल्चर एन्ड टुरिजममा सुबिर थापालाई अवार्ड प्रदान गरिएको थियो । फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भएको थियो ।
डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भयो । नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रा बन्दा दीपक बुढाथोकीको फोटो तेस्रो भएको थियो ।
‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो हुन सफल हुनुभयो ।
स्पोर्टस तर्फ सुनिता डंगोल तथा दिनेस गोलेको फोटो क्रमसः दोस्रो र तेस्रो हुन सफल भयो ।
नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भएको थियो भने फोटो स्टोरीमा रोविक उपाध्यायकोे फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भएको थियो ।
एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहनुभएको थियो ।
निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १७६ फोटाहरु छानेका छन् ।
‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपियाँ प्राप्त गरेका छन् । प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोहरुको प्रदर्शनीे काठमाडौंमा फागुन १८ देखि २३ गतेसम्म नेपाल कला परिषद् बबरमहलमा र काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ ।