logo
२०८१ मंसिर ७ शुक्रवार



‘करेसा कन्सर्ट’ मञ्चन सुरु

मनोरञ्जन |


‘करेसा कन्सर्ट’ मञ्चन सुरु


गोरखापत्र समाचारदाता

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनपछि बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ । राराहिल मेमोरियल स्कुल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा नियमित मञ्चन सुरु भएको हो ।
रङ्गकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘करेसा कन्सर्ट’ यसअघि नेपालबाट प्रतिनिधित्व गर्दै कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भारतमा विश्व प्रिमियिर गरिएको थियो ।
विशेष गरी ३ देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष लक्षित गरेर तयार पारिएको नाटकमा अभिनय पनि बालबालिकाले नै गरेका छन् । यसर्थ निर्देशक केदार श्रेष्ठका अनुसार नाटक ‘करेसा कन्सर्ट’ विशुद्ध बालनाटक हो, साथै बाल सहभागितामूलक नाटक पनि हो ।
नाटकमा नसना महर्जन (खुर्सानी र साग), सविना सेन (प्याज र लौका), ओसिन राई (धनियाँ), लकस महर्जन (फर्सी), सुधा खनाल (तीतेकरेला), आशियाना रायमाझी (गोलभेँडा), कविना रोक्का (मुला), विजया पाण्डे (काँक्रो), सुजाता भट्ट (लसुन) र मञ्जु महर्जन (अदुवा) ले अभिनय गरेका छन् ।
करेसाबारीमा भएका तरकारीजन्य पात्रहरू फर्सी, साथ, लसुन, गोलभेँडा, प्याज, लौका, मुला, धनियाँ, खुर्सानी, अदुवा आदिमार्फत कथा बुनिएको छ । यी पात्रहरूको मपाइँत्वले निम्त्याएको वैमनस्यता र झैझगडाबाट सुरु हुने कथा मेलमिलाप र सद्भावमा पुगेर टुङ्गिन्छ ।
हरेक तरकारीबीच अस्वस्थ प्रतिस्पर्धा, घोचपेचबाट करेसाबारीमा सामाजिक समस्या उत्पन्न भएपछि करेसाबारीका मुखिया फर्सीले करेसाबारीमा एक कार्यक्रमको आयोजना गरेर समस्या समाधान गर्ने जुक्ति निकाल्छन् ।
नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारीहरूले आफ्नो महìव र विशेषताहरूबारे चर्चा त गर्छ निर्देशक श्रेष्ठले भन्नुभयो, तरकारी पात्रहरूमार्फत नेपाली समाजको बेमेल, रुढी, भेदभाव, वैमनश्यता, अहम्ता आदिलाई पनि चित्रण गरेको छ । यसर्थ यो बालनाटकसँगै सामाजिक यथार्थवादी नाटक पनि हो । यसमा मानव समाजको कथा पनि भेटिन्छ भने तरकारी पात्रमार्फत तरकारीहरूको विशेषता र महìवको सन्देश पनि बुनिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?