गोरखापत्र समाचारदाता
काठमाडौँ फागुन १० गते । निर्देशक दिपेन्द्र के खनालको चलचित्र आमाले नयाँ योजना सार्वजनिक गरेको छ । सबै आमाहरुप्रति सम्मान व्यक्त गर्दै आमासँगै चलचित्र ‘आमा’ हेर्दा पैसा नलाग्ने योजना निर्माण पक्षले सार्वजनिक गरेको हो ।
जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्देशक खनालले जानकारी दिनुभयो । शुक्रबारदेखि चलचित्र ‘आमा’ को देशभर प्रदर्शनी गरिएको छ ।
निर्देशक खनालले भन्नुभयो, ‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने जानकारी दिनुभयो । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाललगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले फिल्मको निर्माण गर्नुभएको हो ।