गोरखापत्र समाचारदाता
काठमाडौं, माघ १९ गते । बेलायती चलचित्र फिल्म ‘ब्ल्याक नार्सिसस’को नेपालमा विशेष प्रदर्शनी गरिएको छ ।
नेपालमा छायाङ्कन गरिएको सो चलचित्र नेपाल चलचित्र विकास बोर्डको हलमा देखाइएको थियो । सन् १९३९ मा रुमेर गोडेनद्धारा लिखित उपन्यास ‘ब्ल्याक नार्सिसस’ सन् १९४७ मा सिनेमामा रुपान्तरण भएको थियो । बेलायतको एफ एक्स र बिबिसी वनले निर्माण गरेको नयाँ फिल्म नेपालमा खिचिनुका साथै यसमा नेपाली कलाकारको पनि अभिनय छ ।
सो चलचित्रले विद्यालय निर्माण गर्ने उद्देश्यले नेपाल आएको कथालाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री डायना रिग, ‘प्रिन्स अफ पर्सिया’ तथा जेम्स बन्ड सिरिजको पछिल्लो फिल्म ‘क्वान्टम अफ सोलेस’की अभिनेत्री जेमा आर्टेटोन , ‘गेम अफ थ्रोन्स’ अभिनेत्री एसलिङ फ्रान्सिकोइ आदि कलाकारको अभिनय रहेको छन् । सविन बस्नेत, दीपिका कुँवर, दिलीप राई आदि नेपाली कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
‘ब्ल्याक नार्सिसस’ सन् २०२० को नोभेम्बरमा अमेरिका र सोही वर्षको डिसेम्बरमा बेलायतमा रिलिज भइसकेको छ ।