गाेरखापत्र अनलाइन
काठमाडाैं, फागुन १५ गते । नेपाल भाषाका छ वटा म्युजिक भिडियो सङ्ग्रह ‘मैचाया सपलय्’ शनिबार सार्वजनिक गरिएको छ । जी करिव पाँच दशकसम्म नेपाल भाषाका गीत, सङ्गीत, डबली नाटक, भजनमा सक्रिय रहनुभएका सङ्गीतकार भीमबहादुर नकःमिको शब्द तथा सङ्गीत रहेको ‘मैचाया सपलय्’ का केही गीतमा मनराजा नकर्मीका सङ्गीत रहेका छन् ।
गीतकार दुर्गालाल श्रेष्ठ, गायक भृगुराम श्रेष्ठ, रत्न बेहोसी, संगीता प्रधान, तारावीर सिंह कंसाकार, धनबहादुर गोपाली, अमरराज शर्मा र मनराजा नकर्मीले संयुक्त रुपमा भिडियो एल्वमको सार्वजनिक गर्नुभएको हो ।नेपाल भाषाको गीत, भजन, डबली नाटकका क्षेत्रमा ख्यातीप्राप्त भीमबहादुर नकःमिका भक्तिरस भजनमाला चार भागसम्म प्रकाशित छन् । त्यस्तै, बलम्बु ज्ञानमाला भजन पुस्तक र सीडीमा समेत प्रकाशित छन् ।
विशेषगरी भक्तिसङ्गीतमा सक्रिय भीमबहादुरको दुई महिनाअघि निधन भएको थियो । प्रस्तुत म्युजिक भिडियोमा एकाघरपरिवारका तीन पुस्ताको संलग्नता रहेको छ । भीमबहादुर नकःमिको शब्दमा, छोरा मनराजा नकर्मीको सङ्गीत छ । बुहारी आशा नकर्मीको स्वर छ र नातिनी नायिका आशिष्मा नकर्मीको अभिनय रहेको छ । ‘मैचाया सपलय्’ मा मोहन शाक्य र आशा नकर्मीको स्वर रहेको छ । त्यस्तै, म्युजिक भिडियोमा रामृष्ण खड्गी, लुज सिंह, मोनाम पाख्रिन र आरध्या लक्ष्मी खड्गीको निर्देशन रहेको छ । म्युजिक भिडियोहरुमा आशिष्मा नकर्मी, कर्मा, विनोद श्रेष्ठ, सुरज नापित, रुपेन्द्र श्रेष्ठ, रोजिना सुवाल, रवी डंगोल, भिन्तुना जोशी, प्रतिक श्रेष्ठ, अन्जला नकर्मीलगायतको अभिनय रहेको छ ।