logo
२०७९ असोज १२ बुधवार



कोरोनाको चपेटामा दोहोरी साँझ

श्रमजीवी कलाकार मारमा

मनोरञ्जन |


कोरोनाको चपेटामा दोहोरी साँझ



गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ५ गते । लोकदोहोरी गायिका गङ्गा बरालको प्रतिभा बन्दाबन्दीमा परेको करिब २७ महिना भएको छ । सानैदेखि लोकदोहोरी गाउन सिपालु बरालले राजधानीका विभिन्न लोकदोहोरी रेस्टुरेन्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुहुन्थ्यो ।
आफ्नो कलाको कमाइमा उहाँलाई निकै गौरव लाग्थ्यो । दोहोरीमा आमने–सामने बसेर टुक्कालाई एक/दुई मिनेटमै फर्काउन सक्ने क्षमतालाई अरूको मनोरञ्जनका लागि प्रस्तुत गर्दै घरपरिवारलाई सघाउँदै आउनुभएकी बरालजस्तै हजारौँको काम कोरोना महामारीका कारण ठप्प भएको हो ।
लोकदोहोरी गायिका सानु ओझालाई पनि यस महामारीको दुई वर्ष अत्यधिक लामो लागेको छ । अब पनि व्यवसाय खोल्न नदिए, यस क्षेत्रमा रोजगारी गर्ने श्रमिकहरू रोगले भन्दा भोकले मर्नेछन्– ओझा भन्नुहुन्छ । लोकदोहोरीमै वाद्यवादकका रूपमा कार्यरत भरत भट्टको अनुभव पनि सुखद छैन ।
व्यवस्थापनमा स्नातक तह उत्तीर्ण भट्ट डोटी शिखर नगरपालिका–९ का बासिन्दा हुनुहुन्छ । “सङ्गीतको शौखले यस क्षेत्रमा लागेँ, अन्य क्षेत्रभन्दा रात्रिकालीन व्यवसाय नीति नियमबिना चलेको पेसागत सुरक्षा कतैबाट नहुने क्षेत्र रहेछ, दुई वर्षदेखि रोजगारी नहुँदा कतैबाट पनि हामीलाई सोधखोज गरिएन, यसकारण हामी ऋणमै डुबेका छौंँ,” भट्ट भन्नुहुन्छ ।
साथीभाइले ऋण पनि कति देलान् ? अब पनि रोजगारी नखुले बाँच्न गाह्रो पर्ने स्थिति आयो । यसप्रति राज्यले गम्भीर भएर सोच्नुपर्छ– उहाँको भनाइ छ । साथै यस क्षेत्रलाई विकृतिको दृष्टिकोणले हेर्नुभन्दा नीति नियममा ल्याएर पेसागत सुरक्षासहित सञ्चालन गर्न दिनुपर्ने उहाँको सुझाव छ ।
यस क्षेत्रका श्रमिकका हितका लागि पैरवी, अनुगमन, हकहित र कर्तव्यका बारेमा समेत जागरण फैलाउँदै आएको विश्वास नेपालद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा लोकदोहोरी श्रमिकका समस्याबारे चर्चा गर्ने क्रममा उहाँहरूले उक्त विचार व्यक्त गर्नुभएको हो ।
‘नाचगान क्षेत्रमा कार्यरत श्रमिकको नीतिगत सवालमा काठमाडौँ महानगरपालिका र ट्रेड युनियनहरूबीचको छलफल’ कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले स्थानीय तहमा श्रमिकको तथ्याङ्क राख्ने कामको थालनी गरेर अनौपचारिक क्षेत्रका श्रमिकको समस्या समाधान थाल्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा संलग्न महिला/किशोरी श्रमिक मानव बेचबिखनमा पर्न सक्ने जोखिमको न्यूनीकरण र व्यवसायलाई पनि मर्यादित बनाउन नीति नियमसहित अनुगमनलाई कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष विनोद श्रेष्ठले कोरोना महामारी आउँदा सबैभन्दा पहिले बन्द भएको दोहारी साँझलगायतका नाचगान क्षेत्र अन्य सबै व्यवसाय खुलिसकेपछि खोल्न नदिंँदा यस क्षेत्रमा काम गर्ने श्रमिकका साथै व्यवसायी पनि उकासिनै नसक्ने गरी डुबेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले सङ्घमा आबद्ध देशभरका १३४ लोकदोहोरी रेस्टुरेन्ट व्यवसायसहित सबै रात्रिकालीन व्यवसायकर्मी र त्यहाँ कार्यरत सबै श्रमिकको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिनुभयो । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले यस क्षेत्रलाई मर्यादित बनाउँदै पर्यटनसँग जोड्न सके राज्यलाई आर्थिक लाभ हुन्छ भने धेरै नेपालीको रोजगारी स्रोतको सुनिश्चित हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?