logo
२०८१ मंसिर ९ आईतवार



सोरठीको संरक्षणमा जुटे स्थानीय

मनोरञ्जन |
समाज |


सोरठीको संरक्षणमा जुटे स्थानीय
सोरठी नाच्दै नौबहीनीका मगर समुदाय । तस्बिर – सलिम मियाँ


 

सलिम मियाँ
विजुवार, कार्तिक १७ गते । प्युठानमा सोरठी गीत र नाच संरक्षणमा स्थानीय जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन नौबहिनी गाउँपालिका–५ गावैका पुरानो पुस्ता सक्रिय भएका हुन् ।

गाउँलेले वि.स. २०५२ सालमा स्थापना गरेको ‘मारुनी नाच समिती सोरठी गीतको संरक्षणमा लागेको हो । सिद्वबाबा मारुनि नाच समितिका सचिव रामबहादुर पुनले पुरानो संस्कृतिबारे नयाँ पुस्तालाई सिकाउन र तिनको संरक्षणमा प्रेरित गर्न बुढौली पुस्ता जुटेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ,”

सोरठी गीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म संलग्न छन् । पुनका अनुसार समितिलाई सोरठीगीत प्रदर्शनकै लागि विभिन्न ठाउँबाट माग आउने गरेको छ।

समितिले सोरठी गाएबापत आएको दान रकम सामाजिक काममा खर्चने गरेको बताएको छ । समितिले प्रस्तुतिलाई व्यवस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको समेत व्यवस्था गरेको छ ।

कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुगेँ आवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ’बा’ को निर्देशनअनुसार अन्य कलाकारले गायनमा सघांउछन् ।

मगर समुदायमा विवाह, व्रतबन्ध देखि सार्वजनिक समारोह, मेला पर्व र उत्सवमा समेत सोरठी प्रस्तुत गरिन्छ।

प्युठानमा नौबहिनीसँगै माडी, गौमुखी र ऐरावती क्षेत्रमा यो नाच नाचिन्छ । सोरठीगीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ । तर, पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन नसकेको संस्कृतिकर्मीहरु बताउँछन्।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?