गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३ गते । निर्देशक परिच्छेद सेनको चलचित्र प्रेमगन्जको छायाङ्कन समाप्त भएको छ । गत वर्ष वैशाखदेखि सुरु भएको चलचित्रको छायाङ्कन मङ्सिर १ गते समाप्त भएको हो । पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्थगित भएको थियो ।
लकडाउनका कारण सबै प्राविधिक कलाकार कामविहीन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राविधिक माथि दुईकरोड लगानी गर्यो । अर्थात चलचित्रमा दुई करोड लगानी भएको बताइएको छ ।
चलचित्र काभ्रेको देउराली, नाला र पनौतीमा, सोलुखुम्बुको पत्ताले, काठमाडौं तथा भक्तपुरमा दृश्याङ्कन भएको छ ।
बेनिसा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्र मार्फत राईडर प्रशान्त, सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दै हुनुहुन्छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुतकर्ता राजु फुँयाल हुनुहुन्छ ।