काठमाडौं, पुष १९ गते । अमेरिकाको न्यूयोर्कमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले सगुन दिएर माफी माग्नुभएको छ । शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर उहाँले माफी माग्नुभएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा भएको कार्यक्रममा गायक राईमाथि शेर्पाले मन्चमै पुगेर दुर्व्यवहार गर्नुभएको थियो ।
उक्त घट्नाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शेर्पामाथि सुरक्षा चुनौती बढेको र कलाकारमाथि अपमान भएको भन्दै आयोजकमाथि प्रश्न उठेको थियो । तर घट्नाबारे चौतर्फी विरोध भएपछि शेर्पाले आयोजक समितिको उपस्थितिमा गायक राईसमक्ष माफी माग्नुभएको छ ।
राजेशले पनि पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको बताउनुभएको छ । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्वीकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।
स्टेजमा गीत गाइरहेका राईमाथि अचानक शेर्पा स्टेजमा उक्लिएर पछाडिबाट अँगालोमा लिएर लडाउन खोजेका थिए । बुद्ध ट्याक्स एकाउन्टिङद्वारा आयोजना गरिएको कार्यक्रममा हातपातको घटनापछि पनि गायक राईले केही घण्टा आफ्नो प्रस्तुति दिनुभएको थियो ।