logo
२०८१ मंसिर ८ शनिवार



पानीको लडाइँको कथा ‘दी प्रोफेसर’

मनोरञ्जन |


पानीको लडाइँको कथा ‘दी प्रोफेसर’


काठमाडौँ, माघ १० गते । इमरान अकबर इनमदारद्वारा निर्देशित, ‘दी प्रोफेसर’ आईआईटी, दिल्लीका पूर्वप्राध्यापक आलोक सागरको सत्य कथामा आधारित छोटो चलचित्र हो । चलचित्र आलोक सागरको जीवनको वरिपरि घुम्छ, जसले मध्यप्रदेशमा आदिवासी समुदायको उन्नतिका लागि आफ्नो जीवन बलिदान गरेका थिए ।
यस्तै चलचित्रमा एउटा पत्रकारले कसरी आलोकको कथा उठाउँछन् र अन्ततः आलोक सागरको जीवनका अनगन्ती कुरा थाहा पाउने मौका पाउँछन् भन्ने कुरालाई पनि देखाइएको छ ।

पूर्वप्राध्यापक आलोक सागरबाट प्रेरित पात्र आलोक कुमार आफ्नो परिवार र सम्पूर्ण जीवन छाडेर मध्यप्रदेशको तिकमगढमा आदिवासी समुदायसँग बस्दै आउनुभएको छ । तिकमगढ यस्तो गाउँ हो जहाँ बस्नलाई घर त छ तर पिउने पानीको चरम अभाव छ । कुमार एउटा यस्तो पात्र हुनुहुन्छ जसले आदिवासी समुदायको बीचमा बसेर उनीहरूको जीवनस्तर माथि उठाउने प्रयत्न पनि गर्नुहुन्छ । उहाँले आफ्नो सम्पूर्ण जीवन आदिवासी समुदायको मद्दतमा नै बिताउनुभयो । आफू अलग जिल्ला कोचुमुवामा बस्ने भए पनि उहाँले तिकमगढका जनताका लागि नै आफ्नो सम्पूर्ण समय दिनुभयो । कुमारले गाउँका जनताले पानी पिउन पाउन् भनेर आफ्नो गाउँ कोचुमुवाबाट १२ किमि साइकलमा तिकमगढसम्म पानी ओसारपसार गर्ने काम पनि गर्नुहुन्थ्यो ।

चलचित्रको सुरुवात कुमारसँगै आदिवासी समुदायका अन्य सदस्यहरू पानी पम्पको छेउमा पर्खिरहेका दृश्यबाट हुन्छ । अन्य ठाउँमा जस्तै आदिवासी बस्तीमा पनि विगत तीन दिनदेखि पानी आपूर्ति भएको छैन । कुमार पानीको गुनासो लिएर गाउँका अफिसर घनश्यामकहाँ पुग्नुहुन्छ तर उहाँले कुमारलाई पानी चाँडै आउने सान्त्वना दिएर फिर्ता पठाइदिनुहुन्छ ।
यसैबीच मुम्बईबाट एक पत्रकार कुमारको खोजी गर्दै गाउँ पुग्नुहुन्छ । उहाँले कुमारलाई भेट्नु त हुन्छ तर कुमार आफ्नो कथा सबैलाई सुनाउन चाहनुहुन्न । पत्रकारको धेरै प्रयासपछि कुमार आफ्नो कथा भन्न राजी हुनुहुन्छ र सुरु हुन्छ दुईबीचको कुराकानी । पत्रकार र कुमारबीचको कुराकानी वरिपरि नै चलचित्रको कथा घुमेको छ ।

पत्रकारले कुमार र आदिवासीको बारेमा कलम पनि चलाउँछन् । पत्रकारको लेखले केही सरकारी अधिकारीहरूलाई गाउँमा पानीको अभाव हेर्न उत्प्रेरित गर्छ, तर अन्त्यमा कुमार र अन्य गाउँले अझै पम्पमा पर्खिरहेका हुन्छन््, पानी आउने आशामा । चलचित्रमा कुमार भारतीय पूर्वराष्ट्रपति स्व. अब्दुल जे कलामबाट प्रभावित हुनुभएको देखाइएको छ । चलचित्रमा साना साना कुरालाई निर्देशकले भिन्न र बेजोड ढङ्गबाट प्रस्तुत गर्नुभएको छ ।

चलचित्र वास्तविक समस्या भएका मानिसको बारेमा एउटा कथामा आधारित लघुकथा हो । पानीको चरम अभावदेखि वातावरण संरक्षणको सवालसम्म चलचित्रका निर्देशक इनमदारले चलचित्रमार्फत पस्केका छन् । २० मिनेट अवधिको चलचित्रले ‘दादाशाहेब फाल्के गोल्डेन क्यामेरा अवार्ड’, र विभिन्न फिल्म फेस्टिबलमा विभिन्न अवार्ड जितेको छ । चलचित्रमा जयश पाण्डे, सचित आचार्य र सचिन के जरयालले अभिनय गर्नुभएको छ ।

मनोरञ्जन ब्युरो

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?