काठमाडौं, फागुन ८ गते । यतिबेला अभिनेत्री यामी गौतम आफ्नो फिल्म 'ए थर्सडे' लाई लिएर चर्चामा हुनुहुन्छ । उहाँको फिल्म शुक्रबार ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको हो । बेहजाद खम्बाटाले निर्देशन गर्नुभएको यस फिल्ममा यामी बाहेक डिम्पल कपाडिया, नेहा धुपिया र अतुल कुलकर्णी पनि मुख्य भूमिकामा देखिनेछन् ।
भारतीय सञ्चारमाध्यमले यामीसँगको विशेष कुराकानीलाई यसरी प्रस्तुत गरेको छ । यामीले यो फिल्म, आफ्नो आगामी प्रोजेक्ट, विवाह र व्यक्तिगत–व्यवसायिक जीवनसँग सम्बन्धित धेरै कुरा सेयर गर्नुभएको छ ।
'ए थर्सडे' को चर्चा कहाँबाट सुरु भयो र कसरी भयो ?
यामी भन्नुहुन्छ, 'पहिलो लकडाउन भयो, त्यतिबेला मलाई यो स्क्रिप्ट अफर आएको थियो । मलाई फिल्मको बारेमा केही भनिएन, मलाई स्क्रिप्ट मात्र पढ्न दिइयो । स्क्रिप्ट पढ्न थाले, त्यसपछि के हुन्छ जान्न उत्सुकता भयो । जब स्क्रिप्ट पढेर सकें, त्यहाँ धेरै भावनाहरू थिए । मैले सोचें कि यो केवल एक मनोवैज्ञानिक थ्रिलर होइन, यो भन्दा धेरै हो । यो कथा आउनै पर्छ ।'
मैले फिल्मका सह-लेखक तथा निर्देशक बेहजाद खम्बाटासँग कुरा गरेँ, त्यतिबेला मैले स्क्रिप्टको बारेमा केही बोलिन । मैले उहाँलाई सोधेँ कि तपाई यो फिल्ममार्फत के देखाउन चाहनुहुन्छ, यो फिल्मको के अर्थ छ । उहाँले जसरी बुझाउनुभयो, त्यसपछि मैले यो फिल्ममा काम गर्ने सोचें । आज म यही फिल्मको प्रमोशनमा छु ।
पहिलो पटक ग्रे क्यारेक्टर खेल्दै, यसमा तपाईको विचार के थियो ?
ग्रे, नेगेटिभ वा खलनायकको क्यारेक्टर हो, फिल्म हेरेपछि यो क्यारेक्टर कुन सेडको हो भन्ने थाहा पाउनुहुनेछ । मेरो मनमा कुनै शंका थिएन । बरु कौतुहलता बढेको थियो, किनभने यामीले यस्तो गरेको फ्यानले देख्नुभएको छैन ।
यामी यो पात्रमा फरक व्यक्तित्व र फरक अवतारमा छिन् । उहाँ भन्नुहुन्छ, 'म एक कलाकार हुँ । मेरो काम श्रोतालाई मनाउने हो । यो मेरो व्यक्तिगत जीवनमा आवश्यक छैन । व्यक्तिगत जीवन भन्दा जति फरक चरित्र उति रमाइलो हुन्छ । पर्दामा यामीलाई नदेखेर नैनालाई हेरेर यही सोचेर काम सुरु भयो ।'