काठमाडौं, फागुन १० गते । सन् २०२२ मा बक्स अफिसमा धेरै ठूला फिल्म रिलिज हुने भएका छन् । यी फिल्मको बजेट तीन सय करोडभन्दा बढी छ । पछिल्ला केही वर्षमा यस्ता धेरै ठूला बजेट फिल्म बनेका छन्, जसमा प्रोडक्सन हाउसले धेरै पैसा लगानी गरेको छ ।
यो वर्षको सबैभन्दा बढी बजेटका चलचित्रहरु धेरै छन् ।
पोन्नियिन सेल्भान
फिल्म निर्माता मणिरत्नम द्वारा निर्देशित यो तमिल फिल्म यस वर्षको सबैभन्दा धेरै बजेट लगाएर बनाएको फिल्म हो । लाइका प्रोडक्सन र मद्रास टकिजले निर्माण गरेको यस फिल्मको बजेट पाँच सय करोड रहेको छ ।
यस फिल्ममा विक्रम, ऐश्वर्या राई बच्चन, कार्ती, जयम रवि, त्रिशा, जयराम, शोभिता धुलिपला, ऐश्वर्या लक्ष्मी र विक्रम प्रभु जस्ता ठूला कलाकार मुख्य भूमिकामा देखिनेछन् । ‘पोन्नियिन सेल्भान’ मा संगीत एआर रहमानको रहेको छ । यो फिल्म १९५५ मा कल्कि कृष्णमूर्तिको उपन्यास पोन्नियिन सेल्भानमा आधारित छ ।
आदि पुरुष
रामायणमा आधारित यस फिल्मको बजेट पनि पाँच सय करोड रहेको छ । यो थ्री डि फिल्म हो । यसलाई ओम राउतले निर्देशन गर्नुभएको हो ।
फिल्ममा प्रभास, सैफ अली खान र कृति सनोन मुख्य भूमिकामा देखिनेछन् । रिपोर्टका अनुसार यस प्रोजेक्टमा भिएफएक्सका लागि हलिउड प्राविधिकलाई काममा लगाइएको छ । यस फिल्मको प्रदर्शन मिति पहिले ११ अगस्ट २०२२ थियो, जुन लाल सिंह चड्डाको मितिको विवादका कारण स्थगित गरिएको थियो ।
'आदिपुरुष' लाई हिन्दी र तेलुगुसँगै तामिल, मलयालम र कन्नडमा डब गरिएको छ ।
आरआरआर
'आरआरआर' यस वर्षको बहुप्रतिक्षित चलचित्रमध्ये एक हो । फिल्ममा जुनियर एनटीआर र राम चरण मुख्य भूमिकामा छन्, जबकि अजय देवगन र आलिया भट्ट क्यामियोमा देखिनेछन् ।
एसएस राजामौली निर्देशित यो फिल्म चार सय करोडमा बनेको हो । फिल्म २५ मार्च २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ । यस फिल्मको रिलिज मिति यसअघि ३० जुलाई २०२० थियो तर कोभिडका कारण स्थगित गरिएको थियो ।
रिपोर्टका अनुसार फिल्म निर्माताले एक अन्तर्वार्तामा फिल्मको अन्तराल सिक्वेन्स ६५ दिनमा पूरा भएको बताउनुभएको थियो । जसको दिनको खर्च ७५ लाख थियो ।
राधेश्याम
तीन सय ५० करोडमा बनेको यो फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गर्नुभएको हो । फिल्मको स्टार कास्टमा प्रभास र पूजा हेगडे मुख्य भूमिकामा छन् । यस फिल्ममा राज विश्वकर्मा र रिद्धि कुमार पनि देखिनेछन् ।
यो फिल्म सन् १९७० को युरोपमा आधारित रोमान्टिक ड्रामा हो । फिल्मको छायांकन तेलुगु र हिन्दीमा गरिएको छ । यससँगै फिल्म हिन्दी, तमिल, तेलुगु र मलायालम भाषामा रिलिज हुनेछ । 'राधे श्याम' मार्च ११, २०२२ मा रिलिज हुँदैछ ।
पृथ्वीराज
यशराज फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नुभएको हो । पृथ्वीराज चौहानको जीवनीमा आधारित यस फिल्मको बजेट तीन सय करोड रहेको छ ।
फिल्ममा अक्षय कुमारले पृथ्वीराज चौहानको भूमिका निभाउनुभएको छ । यस फिल्मबाट मानुषी छिल्लर पनि बलिउडमा डेब्यु गर्दै हुनुहुन्छ ।
यो फिल्म १० जुन २०२२ मा रिलिज हुनेछ । यस फिल्ममा सञ्जय दत्त, सोनू सुद, आशुतोष राणा र साक्षी तन्वर महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
ब्रह्मास्त्र
अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ तीन सय करोडको बजेटमा बनेको हो । यस फिल्ममा आलिया भट्ट, रणवीर कपूर, अमिताभ बच्चन र मौनी रोयको मुख्य भूमिका छ ।
यो फिल्म करण जोहरले निर्माण गर्नुभएको हो । यो फिल्म ११ सेप्टेम्बर २०२२ मा रिलिज हुनेछ । यस फिल्मको संगीत प्रीतमले दिनुभएको हो ।
यसअघि यो फिल्मको नाम ड्रयागन राखिएको थियो तर पछि 'ब्रह्मास्त्र' नाम फाइनल गरिएको थियो । हालैको एक अन्तर्वार्तामा फिल्मका निर्देशक अयान मुखर्जीले यस फिल्मको शीर्षक ‘ब्रह्मास्त्र’ प्राचीन ज्ञान, ऊर्जा र शक्तिसँग सम्बन्धित रहेको बताउनुभएको हो ।