माला कर्ण
कल्याणपुर, फागुन १३ गते । सप्तरीमा पहिलो पटक भोलि शनिबार मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुँदैछ । किशोर–किशोरीको क्षमता विकास र अभिबृद्धिका लागि हुन लागेको कलेज आइकनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
रक्षा मिडिया हाउस प्रालि. काठमाडौंले आइकनको अन्तिम तयारी अन्तर्गत गरेको प्रि–जजिङपछि फाइनलका लागि १७ जनालाई छनाेट गरेको छ । निर्णायकको अन्तर्वार्ता, वाक्कला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट फाइनल चरणको १७ जना छनाेट भएको आयोजक लायन्स क्लब अफ राजविराज सिटीका अध्यक्ष अरुण प्रधानले बताउनुभयो ।
राजविराजमा हुने ग्राण्ड फाइनल कार्यक्रमबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन २०२२ छनोट गर्नेछ । फाइनलका लागि शिवशङ्कर सिनेमा हलमा भव्य तयारी गरिएको प्रधानले जानकारी दिनुभयो । प्रधानले शिवशङ्कर सिनेमा हलमा हुने फाइनलका लागि टिकट बिक्री खुला गरिएको बताउनु भयो ।
राजविराज बजारकेन्द्रित मात्र नभई विभिन्न पालिकाका सहभागीलाई एक महिनासम्म कोरियोग्राफर, फोटोग्राफर, डान्सर र विभिन्न विषयका विज्ञ प्रशिक्षकबाट तालिम दिइएको छ । सहभागीको व्यक्तित्व विकासका लागि सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, वाक्कला, सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानव अधिकार, ट्राफिक नियम, मनोवृति, क्याटवाकका विषयमा समेत विशेषज्ञबाट प्रशिक्षित गराइएको छ ।
प्रतियोगितामा विजेताहरुलाई शनिबार ताजसहित क्राउन, प्रमाणपत्र, उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिने आयोजकले बताएको छ । रक्षा मिडिया हाउस प्रालिले झापा, इलाम, उदयपुर, सुर्खेतलगायतका जिल्लामा यसअघि पनि विभिन्न प्रतिभामूलक आइकन प्रतियोगिता गरिसकेको छ ।