काठमाडौं, फागुन १४ गते। अभिनेता पल शाहविरुद्ध नाबालिक बलात्कारको उजुरी परेपछि प्रहरीले कलाकारसँग सोधपुछ सुरु गरेको छ। शनिबार निर्देशक तथा निर्माता सुदर्शन थापालाई नियन्त्रण लिएर काठमाडौं प्रहरीले सोधपुछ सुरु गरेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीका अनुसार पल शाहविरुद्ध परेको उजुरीको सोधपुछका लागि निर्देशक थापालाई नियन्त्रणमा लिइएको हो। अभिनेता शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय, तनहुँमा जाहेरी दर्ता भएको छ। उनी फरार भएपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
‘उहाँलाई पक्राउ गरिएको होइन। केही जानकारी छ कि भनेर सोधपुछका लागि बोलाएका हौँ’, एसएसपी गिरीले भन्नुभयो। पछिल्लो समय अभिनेता शाहसँग सम्पर्कमा रहेको देखिएपछि प्रहरीले सोधपुछ गरेको हो। प्रहरीले अभिनेता शाह निकटका अन्य व्यक्तिसँग सोधखोज गरिरहेको छ।