logo
२०८१ जेष्ठ ३ बिहीवार



कलाकारको भीडको सँगालो ‘लप्पन छप्पन–२’

मनोरञ्जन |


कलाकारको भीडको सँगालो ‘लप्पन छप्पन–२’


सुकृत नेपाल

काठमाडौँ, फागुन २३ गते । विदेशबाट नेपाल आएको तीन सय मिलियन डलर हत्याउन प्रमुख पात्रहरूले गरेको सङ्घर्षको कथा हो चलचित्र ‘लप्पन छप्पन–२’ । नेपाल, बेल्जियम, अष्स्«ेलिया, नेदरल्यान्ड्स र दुबईमा छायाङ्कन गरिएको मल्टिस्टार यस चलचित्रले राजनीति र अपराधको कथा बोकेको छ ।

प्रधानमन्त्रीको भूमिकामा देखिएका भक्तराजलाई नजिकिँदै गरेको चुनावमा आफू हार्छु कि भन्ने चिन्ताले सताउँछ र उनी व्यापारी केशवराजसँग सहयोग माग्न पुग्छन् । केशवराजले भक्तराजलाई फेरि प्रधानमन्त्री तपाईं नै बन्ने हो भनी आश्वासन दिन्छन् र चुनावमा जति खर्च लाग्ने हो त्यो पनि दिने वाचा गर्छन् । यहाँबाट सुरु हुन्छ चलचित्रमा पैसाको खेल । केशवले विदेशमा रहेका ‘गड फादर’ बाट तीन सय मिलियन डलर नेपाल ल्याउने सोच बनाउँछन् र भक्तराजलाई पनि र आफूलाई यसमा सहयोग गर्न आग्रह गर्छन् । कालो धन नेपाल ल्याउने जिम्मा चमेरोले पाएका हुन्छन् । यही पैसाको वरिपरि घुमेको छ चलचित्रको कथा । पैसा कसरी नेपाल भित्रिन्छ र त्यो पैसामा क–कसले आँखा लगाएका छन् भन्ने कुरा ‘लप्पन छप्पन–२’ मा देखिन्छ ।

‘किङ्स ग्रुप अफ कम्पनी’ का मालिक प्रतापजङ्ग राणा (शिव श्रेष्ठ) आफ्नो छोरा पारसजङ्ग (सौगात मल्ल)को इगोका कारणले कम्पनीलाई षड्यन्त्रको ठूलो झट्का लाग्छ । यता पारसजङ्ग कम्पनीविरुद्ध षड्यन्त्र गर्नेलाई खोज्दै अस्ट्रेलिया पुग्छन् । जहाँ उनी भालु डनसँग भेट्न पुग्छन् । त्यसपछि रायन, मनी लाउन्ड्रिङ माफिया चाम्लिङलगायत थुप्रै पात्रसँग उनको सम्पर्कमा आउँछन् ।

कथामा नयाँ नयाँ पात्र थपिँदै जान्छन् । पात्रले चलचित्रको कथा केही गिजोलिएको जस्तो पनि भान हुन्छ । धेरै पात्रलाई कथामा देखाउन खोज्दा उनीहरूको भूमिका के–के हो भन्ने कुराले दर्शकलाई अवश्य नै अल्मलाउन सक्छ । चलचित्रमा चमेरो, गड फादर र पारसको चरित्रलाई माथि उकास्नका लागि पनि धेरै पात्रलाई प्रयोग गरिएको हो भन्ने दर्शकलाई सोच्न बाध्य बनाउँछ ।

चलचित्रमा विदेशका समुद्र, चिल्ला गाडीलाई धेरै नै फोकस गरिएको छ जसले खासै अर्थ दिँदैन । चलचित्रमा सौगात मल्लले गरेको एउटा एक्सनको दृश्य धेरै नै लम्बेतान बनाइएको छ । जुन दृश्य कथासँग खासै मेल खाँदैन । सौगात एक्लैले एउटा नायिकालाई आफ्नो हात पार्न धेरै जनासँग भिडेको त्यो एक्सनको दृश्य समय बर्बादीका लागि मात्र प्रयोग गरिएको जस्तो देखिन्छ । चलचित्रमा चाहिनेभन्दा बढी मात्रामा एक्सनलाई फोकस गर्न खोजिएको छ ।

चमेरो (अर्पण थापा)को हाउभाउ र संवादले भने अवश्य नै दर्शकलाई केही मात्रामा रमाइलो बनाउँछ । उनले अन्य चलचित्रजस्तै यसमा पनि तारिफयोग्य काम गरेका छन् । फरक गेटअपमा देखिएका उनको भूमिकालाई अवश्य नै धेरै दर्शकले रुचाउने छन् । उनले बोल्दा डबल मिनिङ लाग्ने शब्द धेरैको हाँसोको विषय बनेको छ । उनले भिलेन र कमेडी दुवैमा सुहाउने अभिनय गरेका छन्

पारसको भूमिकामा देखिएका सौगात मल्लको अभिनयमा अझ पनि नयाँपन झल्किन सकेको छैन । चलचित्रको पूरा कथा नै उनीमाथि घुमेको छ तर उनी यस्तो भूमिकामा अभिनय गर्न कसरी तयार भए त्यो सोच्नै पर्ने कुरा हो । उनको चलचित्रमा बोल्ने शैलीमा चाहिँ केही हल्का परिवर्तन आएको हो कि जस्तो लाग्छ । प्रतापजङ्गको भूमिकामा देखिएका अभिनेता शिव श्रेष्ठको अभिनय ठीकठाक छ । उनलाई ओल्ड इज गोल्डभन्दा फरक पर्दैन । ‘गड फादर’को भूमिकामा देखिएका अनुपविक्रम शाहीको अभिनयमा पनि पुरानै शैली छ । अन्य चलचित्रमा जस्तै यसमा पनि उनको गेटअपमा खासै केही परिवर्तन छैन । अन्य कलाकारलाई भने चलचित्रमा भीड बटुल्नका लागि मात्र अभिनय गराइएको हो कि जस्तो लाग्छ ।

चलचित्रको सिनेम्याटोग्राफी राम्रो छ । निर्देशक चलचित्र अन्त्यमा अलि हत्तारिएका हुन कि जस्तो लाग्छ किनकि उनलाई चलचित्रको क्लाइमेक्स जति सक्दो चाँडो सकेर अर्को सिक्वेल बनाउने हतारो भएको हो कि ? 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?