logo
२०८१ बैशाख १७ सोमवार



'बादलहरु' बोलको गीत सार्वजनिक

मनोरञ्जन |


'बादलहरु' बोलको गीत सार्वजनिक


काठमाडौं, फागुन २८ गते । राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गर्नुभएको हो भने गीतमा मानव सुवेदीको संगीत रहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको स्वयंको उपस्थितिमा काठमाडौंमा एक कार्यक्रममार्फत गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा बोल्दै गायक शिव परियारले आफूले धेरै कुरा बताउने गीत गाए पनि विकासको गीत गाउने संगीत पहिलो पल्ट हेरेको धारणा राख्नुभयो । ‘म आफैँले पनि जीवनमा धेरै भाव र जीवन अभिव्यक्त गर्ने गीत गाएको छु तर विकासको पनि गीत हुन सक्नेरहेछ भन्ने कुरा यो गीत हेरेपछि महसुस गरेँ,’ उहाँले भन्नुभयो ।

सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले नै निर्देशन गर्नुभएकाे हो । गीतकार, लेखक र अभिनय गरी तीन विधामा जोडिएकी सुरक्षा पन्तले गीतको भिडियोले तीन वटा विम्बलाई प्रस्तुत गर्ने जमर्को गरेको जानकारी दिनुभयो ।

सुरक्षाका अनुसार भिडियोभित्र आफ्नो चरित्रले नेपाल आमाको प्रतिनिधित्व गर्ने र घनु जोशी र राज के गोस्वामीले निर्वाह गरेको चरित्रले नेतृत्व र भविष्यको अर्थ अभिव्यक्त गरेको छ । उहाँले कुलमान घिसिङले कुनै गाउँमा जनतालाई विजुलीको महत्व सम्झाउँदै गरेको भिडियोबाट प्रेरित भएर नै भिडियोको खाका बनेको बताउनुभयो ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतलाई सुशील सापकोटाले छायांकन गर्नुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?