logo
२०८१ बैशाख १७ सोमवार



वाह ! सालैजो

मनोरञ्जन |


वाह ! सालैजो


सुकृत नेपाल

काठमाडौं, फागुन २९ गते । संसार महामारीबाट अछुतो रहन सकेन । सबैले पीडा भोगे । गरिब निमुखा र व्यवसायीले पीडाको भार धेरै बोक्नुपर्यो । यस्तै पीडाको भार बोक्ने बृहस्पती (रोय श्रेष्ठ) को कथा हो, नाटक ‘ढल्केको सालैजो’ ।

देशको राजनीतिक उतारचडाव, कोरोना महामारी र सामाजिक बेथिती मात्र होइन आफ्नो मिल्ने साथीले गरेको चोटिलो प्रहार घरबेटीको गनगन र सुनौलो भविष्यको खोजीमा बृहस्पतीले चालेको आँटिलो र स्वाभिमानी प्रयास हो नाटक ‘ढल्केको सालैजो’ ।

कोरोना महामारीले ९ महिना बन्द रहेको सालैजो कार्पेट पसल बृहस्पतीले खाइनपाई खोलेका छन् । उनलाई अझ पनि कार्पेट बेचेर नै घरबेटी शंकर जीसँग (प्रभाकर न्यौपाने) लिएको ५० लाख तिर्ने आशा छ । तर सधै घरबेटी शंकर पसलमा किचकिच गर्न आइरहँदा उनी वाक्कदिक्क भइसकेका छन् । उनको बच्चादेखि कै साथी सोभित (अनोज पाण्डे) ले पनि उनलाई धेरै कुराहरुमा सहयोग गरेका हुन्छन् । सोभितले बृहस्पतीलाई केही सहयोग पुगोस भनेर घरबेटी शंकरसँग तीन महिनाको म्याद मागिदिन्छन् र यदी बृहस्पतीले तीन महिना भित्र उक्त रकम फिर्ता नगरे आफैं तिरिदिने आश्वासन समेत दिन्छन् । मेहिनती र ठगि गर्न नजान्ने बृहस्पतीको टाउकोमा थपिएको तीन महिने अल्टिमेटम उनले कसरी पुरा गर्छन भन्ने नाटकको मुख्य बिषय हो ।

नाटकमा वृहस्पतीको छेउकै पसलमा अर्को पसल खोलेर बसेका रमन (प्रयास बान्तवा राई) को हालत पनि वृहस्पतीको भन्दा कम देखिँदैन । यती हो कि उनी घरबेटीको गनगन सजिलै सहन र सामना गर्न सक्छन् । उनको पसल पनि बिक्रिमा छ । उनलाई थाहा छैन उनको पसल कहिले खुल्छ । उनको दैनिकी भनेकै टुरिष्ट गाइड टुगा (बिरेन्द्र मुखिया) संग बाघचाल खेलेर दिन बिताउनु मात्र हो । टुगाले विदेशीको आश मारिसकेको छ । अझ टुगा त यती बाठो भइदिन्छ कि कहिलेकाही बृहस्पतीको पसलमा कार्पेट किन्न आएको ग्राहकलाई अनेकन बहाना बनाएर फर्काइदिन्छ । जुन कुरा रमनलाई बिल्कुलै मन परेको हुँदैन । कलाकारिताले खासै बाच्ने आधार नदेखाएपनि बुटिक संचालनतिर लागेकी रोजी (संगीता थापा मगर) को कथा पनि निकै मर्मस्पर्शी छ । नाटकमा रोजीको हाउभाउ यस्तो लाग्छ कि उनले टन्न पैसा कमाएकी छिन् र उनीमाथी धेरै राजनीतिक देखि व्यापारीसम्मको हात छ । तर वास्तविकता तब उजागर हुन्छ जब उनले पैसाको लागि वृहस्पतीसँग हात फैलाउँछिन् । श्रीमानको दुखसुखमा साथ दिन पछि हट्नु हुँदैन भन्ने कुरा बृहस्पतीको जीवनसाथीको रुपमा देखिएकी शान्ता (सुचित्रा उप्रेती) को अभिनयमा प्रष्टता देखिन्छ ।

उनको अभिनय घरपरिवारमा गर्नुपर्ने हरेक भूमिका झल्किन्छ । यस्तै बृहस्पती र शान्ताको छोराको रुपमा देखिएका प्रतिक (अजश्र ढुंगाना) प्रेमिको रुपमा नाटकमा प्रस्तुत भएका छन् । उनको प्रेमिका हिमानी (हेमा नगरकोटी) ले प्रतिकलाई बिवाह गरेर आफनै तरिकाले बस्न दिएको बारम्बारको दबाबले प्रतिक केही दिक्क भएको हो कि जस्तो लाग्छ । यी दुईको माया प्रेमको बारे दुबैको परिवारलाई थाहा छ र प्रतिक यो चाहँदैन कि आफनो गरिबीको गन्ध हिमानी माथी परोस् । बृहस्पती आफनी दिदि (सरला पराजुली) संग पनि सहयोग माग्न जान्छन् तर उनी आफनै दुख वेदना सुनाउँछिन् । बृहस्पती मामा (अर्जुन न्यौपाने) पनि सहयोग माग्न पुग्छन् तर सहयोगको साटो बृहस्पतीले सान्तवाना र चियाको अफर मात्र पाउँछन् ।

नाटक सलौजाको सबैभन्दा राम्रो पक्ष भनेकै यसको संगीत हो । सालैजोको शब्द, संगीतले कथालाई धेरै बलियो र खदिलो बनाइदिएको छ । राज पंगेनी, प्रनिस थापा मगर, सरला पराजुली र संगीता थापा मगरको संगीत संयोजनले नाटकलाई स्तरीय बनाएको छ । नाटकमा सबै कलाकारहरुले आ–आफनो भुमिकामा न्याय गरेका छन् ।

नाटक हेरेपछि धेरैले यो नाटक निर्देशक आशान्त शर्माले नै बनाएको हो त भनेर प्रश्न पनि गर्न सक्छन् । नाटकमा सधै भिन्न कथामा केही नयाँ कुरा दिन खोज्ने निर्देशक शर्माले यसपटक भने मध्यम वर्गीय मानिसको कथालाई मनछुने शैलीमा प्रस्तुत गरेका छन् । नाटक मार्फत निर्देशक आशान्तले आफ्नो लेखन र निर्देशकीय क्षमतालाई धेरै नै फराकिलो बनाएको पनि देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?