logo
२०८१ बैशाख २३ आईतवार



'चिसो एष्ट्रे' हलिउड स्तरकाे फिल्म

मनोरञ्जन |


'चिसो एष्ट्रे' हलिउड स्तरकाे फिल्म


काठमाडौं, चैत्र २ गते । फिल्म 'चिसो एष्ट्रे' लाई कलाकारहरुले हलिउड फिल्म जस्तो लागेको प्रतिक्रिया दिनुभएको छ । मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै कलाकारहरुले फिल्मको कथा वाचन र दृश्य भाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिनुभएको हो ।

प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएको बताउनुभयो ।

‘हलिउड जस्तो’ फिल्म कस्तो लाग्यो भन्ने प्रश्नमा सन्तोष पन्तले भन्नुभयो, 'युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटी जस्तै सबै कुराको मात्रा मिलेको र मलाई असाध्यै राम्रो लाग्यो ।'

निर्देशक प्रदीप भट्टराईले पनि सन्तोष पन्तको झैं फिल्मलाई हलिउडस्तरको मानेको प्रतिक्रिया दिनुभएको छ । उहाँले नेपाली सिनेमा हलिउड जस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ भएको बताउनुभयो ।
‘सिधा भाषामा भन्दा यो हलिउड स्टाइलको सिनेमा हो । लुटपछि यसको शैली ब्रेक गर्ने जुन फिल्मको हामी खोजिगरिरहेका थियौँ त्यो यही सिनेमा हो,’ उहाँले भन्नुभयो, ‘सिनेमाको दृश्य भाषामा यो ठूलो फड्को हो ।’
अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको बताउँदै फिल्मले काठमाडौँ खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताउनुभयो ।

‘पहिलो कुरा त यो मेरो स्वादमा पर्यो । ग्रिपिङ छ । कलाकारको काम एकदमै राम्रो छ । मलाई मनपर्यो, उहाँले भन्नुभयो ।

साहित्यकार कुमार नगरकोटीले भन्नुभयो, ‘म परम्परागत कथा वाचनमा विश्वास गर्दिन । यो फिल्मले पनि गरेको छैन । मलाई त सबैभन्दा बढी यही हिम्मत नै मनपर्यो । बाँकी कुरा पनि राम्रो छ ।'

मंगलबार प्रिमियरमा उपस्थित अधिकांशले फिल्म कथा वाचन गर्ने शैली, कलाकारको अभिनय र छायांकनको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताउनुभयो ।

कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षक कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको सिनेमा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको हो ।

अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ ।

कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित चलचित्रलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?