logo
२०८१ बैशाख २३ आईतवार



कला क्षेत्रसँग होलीको सम्बन्ध प्रगाढ

मनोरञ्जन |


कला क्षेत्रसँग होलीको सम्बन्ध प्रगाढ


सुकृत नेपाल

काठमाडौँ, चैत ३ गते । रङको पर्व होलीले कलाकारलाई नछुने त कुरै भएन । प्रायः कलाकारले होलीलाई भेटघाट, रमाइलो र थकान मेटाउने बहानाका रूपमा लिने गरेका छन् । होलीले हरेक पेसा व्यवसायका मानिसलाई छोएको छ नै तर कला क्षेत्रसँग यसको सम्बन्ध अझै प्रगाढ छ । होलीको दिन विभिन्न मिडिया हाउसमा हुने होली कार्यक्रमले कलाकारलाई व्यस्त त बनाउँछ नै साथै साथीभाइबीच रङ छ्यापाछ्याप गर्न रुचाउने धेरैजसो कलाकार लोला हानेको र फोहोर पानी फ्याँकेको त्यति मन पराउँदैनन् ।

कलाकार दिव्य देव यसपटकको होली ‘चिसो एस्ट्रे’ टिमसँग मनाउने सुरुमा रहेको बताउनुहुन्छ । चलचित्र होलीको भोलि प्रदर्शनमा आउँदै छ, त्यसैले हामी सबै चलचित्रका टिम चलचित्रको प्रमोसनका लागि पनि बनेपा जाने सुरसारमा छौँ, उहाँले बताउनुभयो । अघिल्ला वर्षका होलीभन्दा यसपटकको होलीमा आफू अलि धेरै उत्साहित रहेको पनि उहाँको भनाइ थियो । हिन्दुहरूको महान् चाड मानिन्छ होली । फागुनमा पर्ने पूर्णिमाको दिन मनाइने यो पर्व रङहरूको पर्व हो । यो दिन एक–अर्कामाथि विभिन्न रङको वर्षा गर्ने गरिन्छ । साना नानीदेखि वृद्धवृद्धासम्म रङमा रमाउने गर्छन् यो दिनमा । युवकयुवतीले गीत गाउँदै नाच्दै होली विशेष बनाउने गरेका छन् ।

नायिका स्वस्तिमा खड्का यसपटकको होली आफ्नो परिवारसँगै मनाउने योजनामा हुनुहुन्छ । घरमा होली सकिएपछि भ्याएसम्म सबैतिर जान्छु । सानोमा यो पर्व विशेष तरिकाले मनाइन्थ्यो । अहिले पनि उत्साह लाग्छ । होलीले खुसी हुने, भेटघाट गर्ने, माया साट्ने र रमाइलो गर्ने अवसर दिलाउने नायिका खड्काको भनाइ छ । होलीले मनोरञ्जनसाथ साथै प्रेमको आभास पनि दिन्छ । एक अर्कोलाई रङको वर्षा गर्दै दुःख भुलेर सबैसँग रमाइलो गर्न पाइन्छ । धेरै समय भेट नभएका साथीभाइसँग भेट हुन्छ । यो पर्वले सद्भाव र माया आदान–प्रदान गर्न अवसर दिलाउने गर्छ ।

गायक दीपक बज्राचार्य भने होली मनाउने कि नमनाउने भन्ने कुरामा अन्योलमा देखिनुहुन्छ । उहाँको यसपटकको होली केही फरक नै छ । उहाँको आमा बित्नुभएको हुनाले होली मनाउने नमनाउने कुरामा उहाँ दोधारमा रहेको उहाँले बताउनुभयो । अब साथीहरूका लागि भए पनि काम त गर्नैपर्छ । त्यसैले होलीमा कार्यक्रममा जान्छु । मनदेखि काम गर्न मन छैन तर टिमका लागि भए पनि काम गर्नैप¥यो । गायक बज्राचार्य थप्नुहुन्छ, “मनमा ढुङ्गा राखेर कार्यक्रममा जाँदै छु, रङहरू लगाउँदिनँ । यो सब मैले आफ्नो ब्यान्डको टिमका लागि गर्न लागेको हो । ”

होली आफ्नोपन देखाउने पर्व पनि हो । रङ लगाएर रङजस्तै जीवन होस् भन्ने कामनासमेत होलीमा गरिन्छ । होलीमा विभिन्न गाढा रङ पनि प्रयोग गरिन्छ । यो कसैलाई मन पर्छ, कोही रङ लगाएको मन पराउँदैनन् । होलीमा एक–अर्कोसँग भएको मनमुटाव त्यागेर रङसँग रमाइलो गर्दै मनाइने होलीको सकारात्मक पक्ष हो ।

होलीको खासै योजना नभएको बताउनुहुन्छ रङ्गकर्मी सिर्जना सुब्बा । मलाई यो दिन अलि अल्छी लाग्ने दिन लाग्छ । उहाँ भन्नुहुन्छ, “मनाउनुपरे पनि नजिकका आफन्त साथीभाइसँग मनाउँछु होला । बच्चा बेलामा होली भनेपछि एकदमै रमाइलो लाग्थ्यो तर अहिले त्यति रुचि लाग्दैन । होलीका नाममा विभिन्न खराब रङ खेल्ने प्रचलन बढ्दै गएकाले पनि अहिले त्यति रमाइलो लाग्दैन । मलाई होली खेलेको हेर्नचाहिँ एकमदै मन पर्छ । ”

होली भनेको सद्भावको पर्व हो । कसैको मन नभई–नभई लोला हान्नु र रङग छ्याप्नु होलीको अर्थ होइन । रमाइलो गरेर परिवारसँग होली खेलौँ । अन्यथा फोहोर पानीले लोला हान्ने काम कतै नगरौँ । होलीकै दिन पनि असभ्य तरिकाले होली खेल्दा कत्तिको ज्यान गएको छ, तसर्थ होली पर्वलाई सभ्य पर्वका रूपमा मनाऊँ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?