सुकृत नेपाल
काठमाडौं, चैत ५ गते । साहित्यकार पारिजातको उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ ले दोस्रो विश्वयुद्धपछिको मानवीय संवेदना र विसंगत सामाजिक परिवेशलाई आधार बनाएर युद्धबाट फर्केको सुयोगवीर सिंह र एक सम्भ्रान्त परिवारसँगको सम्बन्धको कथा बताउँछ । तत्कालिन परिवेशमै फरक चेतना बोकेकी सकमबरी सुयोगवीरको युद्धको विस्मृती र विक्षिप्तताको ऐना बनेर आउनुहुन्छ ।
४५ वर्षसम्म अविवाहित सुयोगवीरको महिलाप्रतिको दृष्टिकोण र २४ वर्षे सकमबरीको आत्मसम्मान, स्वच्छन्दता साथै स्वतन्त्रताको दर्शनबीच उत्पन्न हुने अन्तद्र्वन्द्व नाटकमा चर्चा छ । समग्रमा पितृसत्तात्मक चिन्तन र नारीवादी चेतनाबीचको विमर्श नै ‘शिरीषको फूल’ को अन्तर्वस्तु हो ।
युद्धको विस्मृतिले विक्षिप्त भएका सुयोगवीर संयोगवस आमभन्दा फरक चेतकी सकमबरी सामु पुग्छन् । विगतलाई छोपेर वर्तमान बाँचेको सुयोगवीरले सकमबरीमाथी आफनो मनमा अल्झिएको कुण्ठाले आक्रमण गर्नुहुन्छ । यही आक्रमणको नतिजा बरीको मृत्यु त्यसपछि सुयोगवीरको कहालीलाग्दो नै नाटकको मुख्य कथा हो । यसपछि नाटकको अन्त्य हुन्छ र अनेकन प्रश्नहरु मनमा खेल्न थाल्छन् ।
जीवघातक सुनगाभा र कमलो शिरीषको फुलबीचको द्वन्द्वान्तमक प्रसँगसंगै जीवनबाट ओझेल भएका सकमबरी ओझेलमा परेका हुन वा ओझेल पारिनुभएको हो ? जीवन सक्याउनुभएको हो वा तत्कालिन सामाजिक परिवेशमा विद्रोह गर्नुभएको हो ? यही प्रश्नहरुको ओझेलमा नाटक रुमलिएको छ ।
युद्धका समयमा सुयोगवीरले सुवेदारका रूपमा चलाएको हैकमवाद, नारीहरूमाथि गरेको यौनशोषण रक्सीको लत नाटकमा क्रमशः दृश्यमा देखाइन्छ । तीन बहिनीहरुको दाजु शिवराजसँगको मित्रता र संगै सधैजसो संगै रक्सी पिउने बानी, घरसम्मको आउजाउ, शिवराजका बहिनीहरू मुजुरा, सकम्बरी, सानुसँगको परिचय र सुयोगवीरको एक चुम्बनपछि शून्य रूपमा विलीन भएका बरीको मृत्युसम्मको कथालाई नाटकमा प्रस्तुत गरिएको छ ।
सकमबरीका रूपमा देखिएको पात्र समृद्धि नेपालको अभिनयले उपन्यासकै पात्र सम्झाउँछ । उहाँको स्वच्छन्दता र मौनता, आम महिलाभन्दा फरक चेतलाई नाटकमा उस्तै दखाइएको छ । तीन पात्र समकबरी, सुयोवीर र शिवराजले गरेका दृश्यहरूमा प्रयोग गरेका रक्सीका बोतल र चुरोट उपन्यासका शब्दहरूजस्तै लाग्छ । नाटकमा यी दृश्यहरु प्राय धेरैपटक दोहोरिरहेको दर्शकलाई भान हुन्छ । सकमबरीको फूलप्रतिको झुकाव कोठा तथा बगैंचामा सजिएका फूलहरूले पनि उपन्यासको सम्झना दिलाउँछ । नाटकको लागि शिरीषको सिंगो रूख र फूलहरू धेरै महत्व राख्छ ।
नाटकमा संवादहरू उपन्यास भित्रकै छन् । नाटक एक साहित्यिक कृतिमाथिको रंगमञ्चीय कला तथा सौन्दर्य मुल्यको अभिव्यक्ति हो । नाटक पितृसत्तात्मक चिन्तन र नारीवादी चेनताबीचको विमर्श हो । एक भावनाविहीन पुरुषलाई प्रेमले कसरी पगाल्न सक्छ भन्ने कुराको चित्रण पनि हो । झरेका शिरीषको फूलहरू, ढलेका फूलदानी र गमलाले सकम्बरीको मृत्यु भएको संकेत दिन्छ । यस्तै सुयोगवीरको चुम्बनपछि सकमबरीको एक्लो मौनता लगत्तै मृत्युको संकेतले भने दर्शकलाई अच्चमित बनाउँछ । सकम्बरीको मृत्युले शुन्य र अन्त्य भएको नाटक के साच्चै नै सकिएकै हो त भन्ने सौचन बाध्य बनाउँछ ।
उपन्यासलाई ‘चौथो आयाम’ समूहले नाटकीकरण गर्नुभएको हो भने परिकल्पना केदार श्रेष्ठ तथा निर्देशन अञ्जान प्रदीपले गर्नुभएको छ । नाटकलाई थिएटर मल–कीर्तिपुर रङ्गमञ्चले प्रस्तुत गरेको छ । नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, मञ्जु महर्जन, अस्मिना भारती जेनी सुनुवारलगायतको अभिनय रहेको छ । मञ्च व्यवस्थापन र सहनिर्देशन शिव परियारले गर्नुभएको छ ।