logo
२०८१ बैशाख २५ मंगलवार



मदनको कथा : चिसो एस्ट्रे

मनोरञ्जन |


मदनको कथा : चिसो एस्ट्रे


सुकृत नेपाल

काठमाडौँ, चैत ७ गते । ‘आँखामा आगो, ओठभरि ज्वाला बोकी एक दिन मैले पनि कलङ्कीमा इन्ट्री हानेँ,’– चलचित्र चिसो एस्ट्रेको संवाद हो यो जुन काठमाडौँ सहरसँग माया गाँस्न हिँडेका चलचित्रका मुख्य पात्र मदन (दिव्यदेव)को कथामा केन्द्रित छ । ‘चिसो एस्ट्रे’ चलचित्र मदन वरिपरि घुमेको छ । गाउँबाट काठमाडौँ छिरेका मान्छेका सपना कसरी धुलो धुवाँमा उड्छन् भनेर चलचित्रले प्रस्ट्याउन खोजेको छ ।

मदनले काठमाडौँमा इन्ट्री हानेपछि उसको धेरै कुरामा परिवर्तन आउँछ । मदनको भेट कसरी रविन तामाङ (बबी दाइ), रोनी (निकुन श्रेष्ठ), शालीनता (सृष्टि श्रेष्ठ), ज्याकी (नवीन लम्साल) र बिक्की भेजा (सुशीलराज पाण्डे)सँग हुन्छ भन्ने कुराको सँगालो नै चलचित्रको मुख्य कथावस्तु हो । अनेकौँ सपना बुनेर गाउँबाट सहर पसेको युवाको सङ्घर्षको कथा भनेको छ, चिसो एस्ट्रेले ।

ठमेलको रेस्टुरेन्टमा गीत गाएर हलिउड लेभलको म्युजिक भिडियो बनाउन सपना देख्ने डाउनलोड गल्लीको रोनीको चरित्रले पनि मदनलाई धेरै ठाउँमा घुमाउँछ । यस्तै ग्याङ्स्टार बनेरै पैसा कमाउने भूपि गल्लीको ज्याकीसँग पनि मदनको भेट रोनीले नै गराएका हुन्छन् । मदनलाई थाहा छैन ज्याकी कस्तो स्वभावको मान्छे हो भनेर । मदन त केवल काठमाडौँ सहरमा आफ्नो रवाफ देखाउन चाहन्छ । यस्तै सेता पुतली अभियान चलाउने शालीनताको भेट मदनसँग ट्याक्सीमा नै हुन्छ । रुख काट्नेलाई सचेत गराउन सेता पुतली टाँसी हिँड्ने शालीनताको काम हो तर मदन, ज्याकी र शालीनताको क्यारेक्टरले नै चलचित्रको क्लाइमेक्स बताउँछ । चलचित्रमा बबी दाइ एक मनकारी पात्रको रूपमा देखिएका छन । सहरको गञ्जागोलमा आदर्श लाग्ने बबी दाइजस्ता पात्रले नै मदनलाई काठमाडौँ सहरमा बाँच्नका निम्ति ट्याक्सी चलाउने काम दिएका हुन्छन् । यस्तै चलचित्र मदनसँग ठोकिन आउने अर्को पात्र हुन बिक्की भेजा । बिक्की भेजा मदन, रोनी र ज्याकीको दुश्मनका रूपमा चलचित्रमा प्रस्तुत भएका छन् । चलचित्र यिनै पात्र र परिस्थिति वरपर घुमेको छ ।

अभिनयको हिसाबले हेर्ने हो भने सबै कलाकारको अभिनय बेजोड लाग्छ । रङ्गमञ्च पृष्ठभूमिबाट आएका कलाकार दिव्यदेवले नै चलचित्रलाई माथि उठाएका छन् भन्दा फरक पर्दैन । उनको अभिनय साँच्चै नै उत्कृष्ट छ ।
बबी दाइको भूमिकामा देखिएका रविन तामाङलाई यो भूमिका एकदमै सुहाएको छ । ‘नाका’, ‘मुखौटा’ र ‘छड्के’ मा काम गरिसकेका उनी चिसो एस्ट्रेमा छोटो भूमिकामा देखिए पनि उनको अभिनयलाई धेरैले रुचाउँछन् । दर्शकको मनमा छुट्टै स्थान बनाउन सफल देखिन्छन् उनी ।

निकुन श्रेष्ठले आफ्नो भूमिकालाई भरपुर न्याय गरेका छन् । दिव्यदेव पछि धेरैले सम्झिने भनेको उनको भूमिकालाई नै हो । यस्तै अर्का कलाकार नवीन लम्सालले पनि चलचित्रमा उत्तिकै चासोवद्र्धक भूमिका गरेका छन् । उनको भूमिकालाई पनि दर्शकले भुल्न सक्दैनन् । कम बोल्ने झिल्के अवतारमा देखिएका सुशीलराज पाण्डे ‘लुट’ पछि यसमा पनि मज्जाले जमेका छन् । पाण्डेको फरक लुक्सलाई धेरैले मन पराउनेछन् । चलचित्रमा नायिका सृष्टि श्रेष्ठले गरेको अभिनय भित्रभित्रै गुम्सिएको जस्तो लाग्छ । निर्देशकले सृष्टिलाई त्यति खुलाउन नखोजेका हुन् कि । सृष्टिले गरेको भूमिका खासै बलियो छैन । चलचित्रमा निर्देशकले उनलाई सेतो पुतलीको चर्चाका लागि मात्र अभिनय गराएका हुन् कि भन्ने भान हुन्छ ।

चलचित्रका निर्देशक दिनेश पाल्पालीले ‘चिसो एस्ट्रे’ मा गरेको सबैभन्दा सुन्दर काम भनेको चलचित्रको कथालाई उनले कसरी पस्किएका छन् भन्ने नै हो । निर्देशकले चलचित्रका हरेक पात्रलाई उनीहरूलाई सुहाउने भूमिकामा भिजाउन खोजेका छन् । चलचित्रमा छिटफुट कमी कमजोरी देखिएता पनि निर्देशकीय पक्ष र कलाकारको अभिनयलाई अवश्य नै दर्शकले रुचाउनेछन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?