सुकृत नेपाल
काठमाडौँ, चैत ९ गते । नायक पुष्प खड्का अहिलेको चर्चित कलाकारका रूपमा चिनिनुहुन्छ । उहाँ नृत्यमा पनि धेरै प्रखर हुनुहुन्छ । चलचित्र ‘अझै पनि’बाट आफ्नो चलचित्र यात्रा सुरु गर्नुभएको पुष्पको डेब्यु चलचित्र भने ‘दर्पण छायाँ–२’ हो । कैलालीमा जन्मिनुभएको पुष्पले आफ्नोे आधा पढाइ नेपाल त आधा भारतमा गर्नुभयो । कक्षा ६ सम्म भारतमा पढेपछि उहाँ जन्मथलो कैलाली फर्कनुभयो । उहाँ कराँते, नृत्यलगायतका अतिरिक्त क्रियाकलापमा अग्रसर हुनुहुन्छ । पुष्पले अहिलेसम्म एक हजार हाराहारी म्युजिक भिडियो र आठवटा चलचित्रमा काम गरिसक्नुभयो । चक्लेटी र व्यस्त कलाकार पुष्प खड्कासँग गरिएको कुराकानी :
फुर्सदमा नै देखिनुहुन्छ ?
अहिले अलि फुर्सद नै छ भन्नुप¥यो । ‘एक्स–९’ भन्ने चलचित्रको सुटिङ गर्नुपर्ने थियो तर त्यसको सुटिङ अलि पछाडि स¥यो । त्यसैले म्युजिक भिडियोहरूमा काम गरिरहेको छु । अहिले चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा नै व्यस्त छु ।
कति भयो यो क्षेत्रमा लाग्नुभएको ?
सात वर्ष जति भयो ।
अहिलेसम्म कतिवटा चलचित्रमा अभिनय गर्नुभयो ?
चलचित्र आठवटा जति पुग्यो । अझै पनि, दर्पण छायाँ–२, मङ्गलम, दाल भात तरकारी र मारुनी प्रदर्शन भइसके भने प्रदर्शन हुने बाँकी चलचित्रमा कृष्णलीला, तिम्रो मेरो साथ र मनसँग मन हो ।
आफूले अभिनय गरेकामध्ये तपाईंलाई सबैभन्दा मन परेको चलचित्र कुन थियो ?
नवल नेपाल निर्देशित ‘मङ्गलम’ मलाई धेरै नै मन परेको चलचित्र हो । मलाई लाग्छ म भाग्यमानी कलाकार हुँ जसले मङ्गलम जस्तो चलचित्रमा अभिनय गर्ने मौका पाएँ । चलचित्रमा मलाई सुहाउने क्यारेक्टर पनि थियो । यो चलचित्रबाट मैले राष्ट्रिय अवार्डसमेत पाएको थिए । मेरो यो क्यारियरकै दोस्रो चलचित्र पनि हो । म ‘मङ्गलम’ लाई कहिले भुल्न सक्दिनँ ।
चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म बच्चादेखि नै नाच्न रमाउने । फेरि मलाई कलाकार बन्ने एकदमै रहर थियो । कैलालीमा जन्मिएँ । बाबुआमा रोजगारीको सिलसिलामा भारतमा रहनुभएको हुनाले मेरो आधा पढाइ नेपाल त आधा भारतमा नै भयो । भारतमा बस्दा त्यहाँको परिवेश र कल्चर पनि त्यस्तै थियो । मेरो कलाकार बन्ने इच्छा पनि बढ्दै गयो । होस्टेल बसेर ‘प्लस टु’ पढ्दा भागेर चलचित्र हेर्न जान्थँे । मैले भागेरै नृत्य पनि सिकेँ । ‘प्लस टु’ सकेपछि अभिनय र पढाइ अगाडि बढाउने भन्दै म २०६३ सालमा काठमाडौँ आए । आउनेबित्तिकै नृत्य सिक्न थालेँ । किनकि मेरो बुझाइ यही थियो कि हिरो बन्न नृत्य सिक्नुपर्छ । त्यत्तिकैमा स्वर्गीय निर्देशक आलोक नेम्वाङसँग मेरो चिनजान भयो । उहाँले नै मलाई म्युजिक भिडियोमा अवसर दिनुभएको थियो । यति मात्र नभएर उहाँकै निर्देशनमा मैले चलचित्र ‘अझै पनि’ सहायक कलाकारका रूपमा काम गरँे । त्यतिले मात्र मलाई पुगेन, चलचित्रको मुख्य भूमिकामा देखिने हुटहुटीले मलाई छाडेन । त्यही बीचमा शिव परियारको गीत ‘पिउँदिनँ भन्दा भन्दै पिलायो साथीले’ भन्नेमा काम गर्ने मौका पाएँ । निर्देशक तुलसी घिमिरेले सो गीत हेर्नुभएछ र मेरो कामबाट प्रभावित भएर उहाँले नै मलाई चलचित्र ‘दर्पण छायाँ–२’ मा मुख्य नायकका रूपमा काम गर्ने अवसर दिनुभएको थियो ।
तपाईं अलि रिजर्भ किसिमको हुनुहुन्छ भन्ने सुनिन्छ, के हो कुरा ?
मलाई बोल्नभन्दा पनि बढी कुराहरू बुझ्न धेरै मन लाग्छ । म अलि कम नै बोल्छु । म आफ्नो भूमिकालाई झट्ट बाहिर देखाउँदिनँ । यसको मतलब यो पनि होइन कि बोल्दै नबोल्ने । म आफ्नो नजिककाहरूसँग चाहिँ खुल्न सक्छु ।
यसरी रिजर्भ बसेर चलचित्रमा टिक्न सकिन्छ त ?
कलाकारहरू सबैको एउटै नजर हुँदैन । म सधैँ अरूले मलाई मेरो कामले खोज्न आउन भन्ने चाहन्छु । म मान्छेहरूले मेरो कामबाट नै मेरो आवश्यकता महसुस गरून् भन्ने चाहन्छु । म त्यति धेरै हिँड्दिनँ पनि । मेरो अफयेर र अन्य कन्ट्रोभर्सीमा पनि म खासै छैन । म आफँैमा सचेत छु । आफू चाँडै नखुल्ने भएर पनि अरूलाई मलाई चिन्न गाह्रो हुन्छ जस्तो लाग्छ ।
अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा काम गर्नुभयो ?
हजारभन्दा बढी पुगे होलान् ।
म्युजिक भिडियोबाट टन्नै पैसा कमाइन्छ भन्छन् नि ?
मेरो म्युजिक भिडियोको यात्रा तीन हजार रुपियाँबाट सुरु भएको हो । अहिले म मनग्य लिने कलाकारमध्ये नै पर्छु । अब म्युजिक भिडियोबाट पैसा कमाएको छैन कसरी भनूँ ।
चलचित्र र म्युजिक भिडियोमा काम गराइको हिसाबले कुन सजिलो ?
चलचित्रभन्दा म्युजिक भिडियोमा नै सजिलो हो । चलचित्रमा धेरै समय लाग्छ तर म्युजिक भिडियोमा खासै धेरै समय दिनुपर्दैन । फेरि चलचित्र भनेको निकै ठूलो क्यानभास हो । धेरै मिहिनेत गर्नुपर्छ । म्युजिक भिडियोमा खासै त्यस्तो गर्नुपर्दैन ।
अफेयरमा हुनुहुन्छ हो ?
पहिला थिएँ, अहिले छैन । अहिले म सिङ्गल नै छु ।
यो क्षेत्रमा तपाईंको प्रतिस्पर्धी को त ?
मेरो प्रतिस्पर्धी म आफैँ हुँ । मलाई प्रतिस्पर्धामा होइन आफ्नो विश्वास र काममा धेरै भरोसा लाग्छ ।
तपाईं सधैँ दुःख र रोदनको भूमिकामा मात्र देखिनुहुन्छ, किन ?
त्यस्तो पनि होइन । राम्रो एक्सनको चलचित्र मैले पाएँ भने अवश्य नै निर्देशकलाई प्रभावित बनाउन सक्छु । चलचित्रमा फेरि जस्तो भूमिका आउँछ त्यसैमा भिज्नुपर्ने हुन्छ । चलचित्रमा जस्तो भूमिका पाए पनि पछि हट्दिनँ ।