logo
२०८१ बैशाख २५ मंगलवार



आत्महत्या निरुत्साहनको कथा ‘बरदान’

मनोरञ्जन |


आत्महत्या निरुत्साहनको कथा ‘बरदान’


काठमाडौं, चैत्र ११ गते। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा निर्माण भएको छोटो चलचित्र हो ‘बरदान’। चलचित्रमा विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य पारिएकी एक नारीको कथालाई उठान गरिएको छ।

कथाको सुरुवात नायिका नम्रता श्रेष्ठको प्रेमका प्रसंगबाट हुन्छ जहाँ पत्रकारको भूमिकामा देखिएकी कलाकार लुनिभा तुलाधरले नम्रतालाई उनका प्रेमका प्रसंगबारे कुराहरु खोतली रहेको देखाइन्छ। नम्रता आफ्नो पहिलो प्रेमी प्रविण खतिवडाबाट धोका पाएपछि आत्महत्याको प्रयासमा हुन्छिन्। तर, उनलाई चलचित्रका अर्का नायक दयाहाङ राईले आत्महत्या गर्नबाट रोक्छन्। दयाहाङको सहानुभुतीले नम्रताको मन पग्लिन्छ। तर, यसपछि पनि नम्रताले फेरि प्रेममा धोका पाउँछिन्। उनले आफूले भित्र भित्रै मनपराएको मान्छेलाई नपाएपछि फेरि आत्महत्या प्रयास गर्छिन्। यिनै कुराहरुको संगालो नै चलचित्रको कथा हो। चलचित्रको कथा नै नायिका नम्रता श्रेष्ठ वरपर मात्र घुमेको छ।

छोटो चलचित्रका रूपमा प्रस्तुत यस कथाको विषयवस्तुले मानिस कसरी आत्महत्या गर्छन् र कसरी यो अवस्थामा पुग्छन् भन्ने कुरा दर्शाइएको छ। चलचित्रले भावुकता र रिक्तताको पूर्ण बयान गरेको छ। जीवनमा आइपर्ने सानो घटनाले कसरी कालान्तरमा ठूलो परिवर्तन ल्याउछ भन्ने कुरा कथावस्तुमा समावेश गरेको पाइन्छ।

कथाले मानिसले आफ्नो जीवनमा भोग्नुपरेको एउटै घटना बारम्बार दोहोरिरहँदा त्यो घटनापछि कुन अवस्थासम्म पुग्नसक्छ भन्ने कुरा बताउन खोजेको छ। कथाले समग्रमा व्यवहारिक जीवनमा आइपर्ने समस्याबाट विचलित भएर आत्महत्या गर्ने होइन बरु मनोबल बढाएर सकारात्मक दिशातर्फ जानुपर्छ भन्ने सन्देश दिन खोजेको छ। जीवनमा प्राकृतिक हिसाबले भोग्नुपरेको असमानता र परिस्थितिको कथा हो, ‘बरदान’।

विवाहका लागि वाचा गरिसकेका केटाले प्रेमिका माथि विभिन्न खोट देखाउनु र विवाह नगर्ने अवस्थामा पुग्नु मर्मस्पर्शी कुरा हो। जुन कुराले मानिसमा परिवर्तनको सोच भन्दा पनि नैरश्यताको भाव व्यक्त गरेको प्रष्ट रूपमा देख्न सकिन्छ।

२४ मिनेटको छोटो चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, प्रविण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जनको अभिनय गर्नुभएको छ चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्नुभएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?