logo
२०८१ बैशाख २४ सोमवार



‘महानगर मेरो अनुभवसँग जोडिएको कथा हो’

मनोरञ्जन |


‘महानगर मेरो अनुभवसँग जोडिएको कथा हो’


सुकृत नेपाल

काठमाडौँ, चैत २८ गते । निर्देशक मोहन राई अहिले चलचित्र ‘महानगर’ बाट धेरै चर्चामा हुनुहुन्छ । आफूलाई व्यक्तिगत रूपमा अवार्ड लिने कुरा त्यति सहज नलाग्ने बताउने उहाँलाई अवार्डका लागि चलचित्रहरू प्रतिस्पर्धा गरेको मन पर्दैन । राईले हालै सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफमा उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको अवार्ड पाउनुभयो भने उहाँकै चलचित्रले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत हात पारेको थियो । उहाँको चलचित्र धेरै फेस्टिभलहरूमा पनि छानिएका छन् । निर्देशक राईसँग चलचित्र ‘महानगर’कै विषयमा केन्द्रित रहेर गोरखापत्रले गरेको कुराकानी :

à अहिले जताततै ‘महानगर’ कै चर्चा छ ?
यो कुरा सुनेर खुसी लाग्यो । धेरै ठूला–ठूला बजेटमा बनेका विशेष गरी विदेशी चलचित्रको धेरै चर्चा भइरहेको अहिलेको अवस्थामा महानगर जस्तो चलचित्रको चर्चा छ भन्ने सुन्दा खुसी लाग्छ ।

à नेपालमा भएका धेरै जस्ता फेस्टिभलमा प्रायः तपाईंले नै बाजी मार्नुहुन्छ, अरूलाई पनि अवसर दिने कि ?
होइन, त्यस्तो बाजी मारेको होइन । महानगर नेपालमा अहिलेसम्म दुईवटा फेस्टिभलमा सहभागी भएको छ । पोखरामा आयोजना भएको पामे इन्टरनेसनल फिल्म फेस्टिभल र भर्खरै सम्पन्न भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा । मलाई व्यक्तिगत रूपमा अवार्ड लिने कुरा त्यति सहज लाग्दैन, अवार्डका लागि चलचित्रहरू प्रतिस्पर्धा गरेको मन पर्दैन । प्रत्येक चलचित्र आफ्नो हिसाबले विशेष हुन्छ ।

à चलचित्र ‘महानगर’ बनाउने सोच कसरी आयो ?
यो मेरो व्यक्तिगत अनुभवसँग जोडिएको कथा हो । महानगरको मुख्य पात्रझैँ नेपालको पूर्वी जिल्लाको एउटा सानो गाउँबाट एउटा सपना बोकेर म पनि वर्षौं पहिला काठमाडौँ आएको थिएँ । काठमाडौँमा बाहिरिया भएर बाँच्नु, सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव, भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले महानगर बनाएको हो ।

à अहिलेसम्म कतिवटा अवार्ड जित्नुभयो ?
महानगर सन् २०२१ कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलको २६औँ संस्करणको एसियन सेलेक्ट सेक्सनबाट वल्र्ड प्रिमियर भएको हो । त्यसपछि अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल र डीसी साउथ एसियन फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो । यसरी नै स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोनामा छनोट भएको थियो । नेपालमा पामे इन्टरन्यासनल फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको हो । अवार्डचाहिँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाएका हौँ ।

à यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मभित्र बच्चा बेलादेखि नै लेखक बन्ने सपना थियो तर जब कक्षा ६ पढ्दा केही चलचित्र हलमा हेर्ने अवसर पाएँ (त्यतिबेला अहिले जस्तो सजिलो थिएन राम्रा अथवा आफूले चाहेको चलचित्र हेर्न, हलमा जे चल्थ्यो त्यही नै हेर्नुपर्ने हुन्थ्यो) चलचित्रको जादुले मलाई मोहित बनायो । मैले चलचित्रसम्बन्धी तालिम, प्रशिक्षण नेपाल र भारतमा सन् १९९९–२००० ताका नै लिएको हो । कामको सुरुवात अलिक ढिला गरी भयो । ननफिक्सन चलचित्रबाट मैले काम सुरु गरेँ र अहिले पनि म बढी ननफिक्सनमा नै काम गर्छु ।

à चलचित्र निर्देशन गर्दाको अनुभव कस्तो रहेको छ ?
त्यति सजिलो काम पक्कै होइन तर कुनै पनि काम राम्रोसँग गर्न सजिलो हुँदैन । यो काम गर्न तपाईंलाई रमाइलो लाग्छ कि लाग्दैन, मन पर्छ कि पर्दैन भन्ने हो । म आफूलाई एउटा सिकिरहेको औसत अथवा त्योभन्दा पनि कमको निर्देशक मान्छु । त्यसैले पनि राम्रो वा प्रभावकारी निर्देशक बन्न मेरा लागि जहिले पनि चुनौतीपूर्ण हुन्छ । मैले म चलचित्र निर्देशक बन्न सक्छु कि सक्दिनँ अथवा त्यो खुबी मसँग छ कि छैन भन्ने सोचेर धेरै समय बिताएँ तर मुख्य कुरा चलचित्रको माध्यमबाट तपाईंलाई आफ्नो दर्शकलाई, समाजलाई, विश्वलाई केही भन्नु छ कि छैन भन्ने रहेछ । यो कुरा बुझ्न मलाई लामो समय लाग्यो । यदि तपाईंसँग केही भन्ने कुरा, कथा छ भने कसरी भन्ने तपाईंले पत्ता लगाउनुहुन्छ । यो पत्ता लगाउने प्रक्रिया कसैका लागि लामो वा अलिक कठिन हुन सक्ला, कसैका लागि अलिक छोटो र सहज ।

à तपाईं रङ्गमञ्चबाट यो क्षेत्रमा प्रवेश गर्नुभएको हो ?
होइन, तर मैले रङ्गमञ्चबारे धेरै भिडियो र वृत्तचित्र बनाएको छु । रङ्गमञ्चका अग्रजहरू र समकालीन साथीहरूको सहयोग र सद्भाव पाएको छु । अहिले पनि म प्लेब्याक थिएटर नामक एक प्रकारको नाटकबारे वृत्तचित्र बनाइरहेको छु ।

à चलचित्रमा रङ्गमञ्चकै कलाकारलाई अभिनय गराउनुको कारण के हो ?

त्यस्तो विशेष कारण छैन र रङ्गमञ्चकै कलाकार लिने भन्ने पनि थिएन । त्यो संयोगले जुरेको मात्र हो ।

à निफमा ‘महानगर’ कस्तो भयो ?
निफमा जति पनि दर्शक आउनुभयो र चलचित्र हेर्नुभयो अधिकांशले मन पराउनुभयोे । उत्कृष्ट नेपाली चलचित्रलगायतका केही अवार्ड पनि पाइयो । जुरीलाई पनि मनप-यो भन्नुप-यो । समग्रमा राम्रो अनुभव भयो ।

à तपाईंको अबको योजना के छ ?
म अर्को चलचित्रका लागि पटकथा लेख्दैछु । पटकथा पूरा भयो भने निर्माणको काममा अघि बढाउने सोचमा छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?