स्मृति मिश्र
जनकपुरधाम, चैत २८ गते । जीवन्त र चरित्रसङ्गत अभिनय तथा सशक्त र प्रभावोत्पादक संवाद प्रवाहीकरणबाट मैथिली रङ्गमञ्चमा उपस्थिति जनाउने थोरैमात्र महिला कलाकारमा अग्रणी हुनुहुन्छ अनितारानी मण्डल । रङ्गमञ्चमा महिलाको उपस्थिति न्यून भएका बेला पनि प्रभाव, पहुँच र निकटताका आधारमा अवसर पाउने दुर्नियतिका बीच रङ्गकर्ममा मण्डलको प्रवेश प्रतिभा र क्षमतालाई निरन्तर तिर्खादै जाने मिहिनेतका कारण सम्भव भयो ।
मैथिली, भोजपुरी र नेपाली गरी आधा दर्जन चलचित्र, सयौं लघु चलचित्र, कयौं सडक नाटक र मञ्चमा हुने नाटक, प्रहसन आदिमा सहभागी भएर सदैव चर्चा र प्रशंसाको पात्र बन्दै आउनुभएकी उहाँ कलाक्षेत्रमा आर्थिक असुरक्षा भए पनि यस फाँटमै संलग्न भइरहन चाहनुहुन्छ । मधेसको प्रदेशको राजधानी जनकपुरधामलाई आधारक्षेत्र बनाएर कलायात्रा अघि बढाइरहनुभएका उहाँ महोत्तरी जिल्लाको धबौलीका बासिन्दा हुनुहुन्छ । गत १७ वर्षदेखि मैथिली रङ्गमञ्चकी आभा बढाइरहनुभएकी मण्डल भन्नुहुन्छ, ‘‘कलाक्षेत्रमा दाम छैन तर नाम र आत्मा जुराउने सन्तुष्टि छ । यही नै मेरो सम्पत्ति हो ।’’
राजेशप्रसाद मण्डल र चन्द्रदेवीकी छोरी खासमा विवाहपछि नाट्ययात्रा सुरु गर्नुभएको हो । घरआँगनभित्र चुल्हाचौका, बढारकुढार र स्याहारसुसार गरी असल बुहार्तन गर्नुपर्ने बेलामा घरको आली नाघेर रङ्गमञ्चसम्म पुग्दा उहाँका सासूससुराले निकै आपत्ति गर्नुभयो । तर, कलाक्षेत्रको मर्म र सम्भावना बुझ्नुभएका पति सतिशकुमार मण्डलको सहयोग र साथले उहाँलाई मैथिली रङ्गमञ्चमा नभई नहुने कलाकारका रूपमा स्थापित बनायो । अझ आमाबुवाको हौसला बढाइँ भने उहाँका लागि जीवनदायिनी शक्ति नै बन्यो ।
कलाकारका रूपमा काम आरम्भ गर्न सजिलो भए पनि एउटी महिलाका लागि यस क्षेत्रमा टिकिरहन निकै मुश्किल हुने अनुभव मण्डलको छ । ‘‘आर्थिक असुरक्षा, घर व्यवहार धान्नुपर्ने बाध्यता, अवसरमा पहुँच अभाव आदि धेरै कारण छन् जसले गर्दा महिलालाई कलाक्षेत्रमा टिक्न गाह्रो हुन्छ’’ मण्डलले भन्नुहुन्छ ।
नाटक छोटो हुन्छ । केही बेरसम्म मञ्चित हुन्छ तर रङ्गमञ्चको त्यो केही बेरका लागि महिनौं तयारी गर्नुपर्ने हुन्छ । पात्रलाई बाँच्नुपर्दा त्यसअनुसार शारीरिक तथा मनोवैज्ञानिक तयारी पूरा गर्नुपर्ने हुन्छ । मण्डलको बुझाइ छ, ‘हो, यो मिहिनेत रङ्गमञ्चको नेपथ्य हो । जसको मूल्यांकन दर्शकदीर्घामा बसेका सामान्य व्यक्तिले गर्दैनन् ।’
मैथिली कलाक्षेत्रको विकासमा व्यक्तिगत र संस्थागत दुवै योगदान भइरहेको छ । तर, राज्यको लगानी भने अत्यन्त कम छ । कलासँग जोडिएका राज्यसंयन्त्र थोरैमात्र छन् । भएका सरकारी संस्था पनि वृहत् हितपोषणका पक्षमा काम गरेका देखिँदैनन् । कलाकार मण्डल भन्नुहुन्छ, ‘यहाँ कलाकारले आफ्ना क्षमताका भरमा काम गर्नुपर्ने हुन्छ । सहयोग र प्रोत्साहन गर्ने सरकारी निकाय उदासीन छन् ।’ उहाँको गुनासो मधेस प्रदेशको चलचित्र तथा लोकसञ्चार बोर्डसँग छ । बोर्डले कलाकारको वृत्तिविकास र सामाजिक सुरक्षाका लागि काम नगर्नुलाई उहाँ दुर्भाग्यपूर्ण मान्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘‘जनताका करबाट चलेको चलचित्र तथा लोकसञ्चार बोर्ड के गर्दैछ ? कलाकारलाई सहयोग र सुविधा हुने केही गरेको कतै पनि सुनिएको छैन ।’’