logo
२०८० चैत्र १६ शुक्रवार



पुष्पल र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री घोषणा

मनोरञ्जन |


पुष्पल र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री घोषणा


काठमाडौं, चैत २८ गते । डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिबार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन् । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए ।

यस्तै, अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहि फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए । यसै फिल्मतर्फ निर्देशनमा दीपेन्द्र लामा र पपुलर फिल्ममा छ माया छपक्कैले जुरी अवार्ड जित्यो । लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभीता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्म मध्येबाट उत्कृष्ट चयन गरेका हुन् ।

१२ औँ संस्करणको अवार्डमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो । उनलाई नगद पच्चीस हजार एक रुपैयाँसहित सम्मान गरिएको हो ।

चलचित्रका प्राविधिकहरु तर्फ उत्कृष्ट छायाँकनमा मारुनी बाट संजय लामा, साउण्ड एडिटरमा किशोर आचार्य सानो मनबाट, उत्कृष्ट पाश्र्व संगीतमा एलिस कार्की साङ्लोबाट, उत्कृष्ट ध्वनी मिश्रणमा अमित श्रेष्ठ जात्रै जात्राबाट र उत्कृष्ट सम्पादकमा बिपिन मल्लले छ माया छपक्कैबाट अवार्ड प्राप्त गर्न सफल भएका थिए ।

त्यस्तै, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामा र छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गरियो । छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गरेका थिए साथै कृष्ण काफ्लेको गायन प्रस्तुती लगाएतका आकर्षण रहेको थियो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?