logo
२०८१ बैशाख ८ शनिवार



गङ्गारामको कथा ‘दशवीं’

मनोरञ्जन |


गङ्गारामको कथा ‘दशवीं’


सुकृत नेपाल

काठमाडौँ, चैत २९ गते । नेल्सन मन्डेलाले भनेका थिए, शिक्षा एउटा यस्तो माध्यम हो जसको सहायताले हामी विश्वलाई परिवर्तन गर्न सक्छौँ । यही कुराको वरिपरि चलचित्र ‘दशवीं’ को कथा घुमेको छ । चलचित्रले यो बताउन खोजेको छ कि, राजनीतिमा कुर्सीको शक्तिले तपाईंलाई अन्धो बनाउँछ र शिक्षाले आँखा खोल्ने काम गर्छ ।

चलचित्रका मुख्य पात्र गङ्गाराम चौधरी (अभिषेक बच्चन) हरित प्रदेशका मुख्यमन्त्री हुन्छन् । यो काल्पनिक प्रदेश हो तर चलचित्रका कलाकारको भाषाले यो जनाउँछ कि यो हरियाणाको भाषा हो । आठ कक्षासम्म पढेका गङ्गारामलाई यो कुराले गर्व लाग्छ कि उनले ठूलो परीक्षा पास गरेका छन् र उनको पीए उनको इशारामा नाचिरहेको छ ।

यही क्रममा गङ्गारामलाई एउटा कसुरमा जेल चलान गरिन्छ र उनको मुख्यमन्त्रीको पद उनको श्रीमती विमला (निम्रत कौर)लाई दिइन्छ । उनी मुख्यमन्त्री बनेपछि उनले धेरै कुराको ज्ञान पाउँछिन् र आफ्नै श्रीमान्को काममा उनी अड्चन गर्न थाल्छिन् । यता जेलमा गङ्गारामको भेट प्रहरी अधिकारी ज्योति देशवाल (यामी गौतम)सँग हुन्छ । राजाको जिन्दगी बिताइरहेका गङ्गारामको भेट जब प्रहरी अधिकारी देशवालसँग हुन्छ त्यसपछि उनको जेलभित्रको रहनसहन पनि परिवर्तन हुन्छ ।

उनलाई अन्य कैदीलाई जस्तै व्यवहार गर्न थालिन्छ । गङ्गारामलाई जेलभित्र मेच बनाउने काम दिइन्छ तर उनलाई त्यो काम गर्न मन लाग्दैन र उनी कामबाट बच्नका लागि दशवीं कक्षाको परीक्षा दिने निधो गर्छन् र उनी शिक्षित भएपछि उनको सोचमा
धेरै परिवर्तन आउँछ । गङ्गारामको शिक्षाको विषयमा नै चलचित्र घुमेको छ । कसरी उनले शिक्षा हासिल गर्छन् र शिक्षित भएपछि उनमा के कस्तो परिवर्तन आउँछ भन्ने कुरा नै चलचित्रको मुख्य विषय हो ।

दशवीं जस्तो राजनीति र शिक्षा मिसिएको चलचित्र अहिले कमै बनेका छन् । चलचित्रमा निर्देशक तुषार जलौटाले कलाकारबाट राम्रै काम लिन सकेका छन् । दर्शकलाई चलचित्रले मध्यान्तरसम्म बाँधेर राख्न सक्छ तर मध्यान्तरपछि दर्शकलाई कतिबेला चलचित्र सकिएला जस्तो हुन्छ । चलचित्रमा अभिषेक बच्चनको अभिनय तारिफयोग्य छ । उनको हरियाणा शैलीको बोलीलाई दर्शकले अवश्य नै रुचाउँछन् । शारीरिक भाषादेखि लिएर अनुहारको भावको शैलीसम्म हेर्ने हो भने निम्रत कौरको भूमिका चलचित्रमा प्रभावशाली देखिन्छ । एउटा सक्षम तथा कडक भूमिकामा देखिएकी नायिका यामी गौतमले गरेको प्रहरी अधिकारीको भूमिका चलचित्रमा प्रभाव पार्ने खालको छ ।

चलचित्रको कथा ठीकठाक भए पनि यसभित्र धेरै प्रश्न उठाउन सकिन्छ । गङ्गारामको श्रीमती आफ्नो श्रीमान् दस कक्षा पास हुन भन्ने चाहँदिनन् र उनी श्रीमान्लाई सजिलै फेल गराउन सक्थिन् तर किन गराइनन् । एउटा पूर्वमुख्यमन्त्रीसँग प्रहरी अधिकारी ज्योतिको कुरा गर्ने शैली र व्यवहार राम्रो हुँदैन । ज्योतिलाई गङ्गाराम किन केही गर्न सक्दैन । यिनै कुराले चलचित्र केही खस्किएको जस्तो लाग्छ तर कलाकारको अभिनय र चलचित्रको गीतसङ्गीतले चलचित्रलाई माथि उठाउने काम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?