logo
२०८१ बैशाख २३ आईतवार



प्रम ओली विकास र समृद्धिको नेतृत्वकर्ताः मन्त्री बाँस्कोटा

फिचर |
राष्ट्रिय |


प्रम ओली विकास र समृद्धिको नेतृत्वकर्ताः मन्त्री बाँस्कोटा


नवराज कट्टेल
विराटनगर, असोज १ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास र समृद्धिको यात्रा वर्तमान सरकारको नेतृत्वमा साकार हुने बताउनुभएको छ ।
संविधान जारिसँगै सुरु भएको परिवर्तनको यात्रा संस्थागत गर्दै नेपाललाई विकास र समृद्धितर्फ बढाउन वर्तमान सरकार सफल हुने बताउनुभएको छ ।
प्रेस संगठन नेपाल मोरङद्वारा बुधबार विराटनगरमा अयोजित पत्रकार भेटघाट कार्याक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि यात्राको नेतृत्व गर्ने अवसर पाउनु भएको बताउँदै, विश्वका शक्ति राष्ट्रहरूको जस्तै नेपाल पनि पाँचवर्ष भित्रमा धेरै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । चीनमा देङ सिआओ पिङ, रुसमा लेनिनले देशलाई अगाडि बढाए जस्तै नेपालमा वर्तमान प्रधानमन्त्रीलाई अवसर मिलेको बताउनुभयो ।
संविधान जारी भएपछिको पहिलो एकवर्ष आधार वर्षको रुपमा रहेकाले नागरिकले राखेका अपेक्षा अनुसारको काम नभए पनि चालु वर्षदेखि ठोस परिणाम देखिन थालेको मन्त्री बाँस्कोटाको भनाई थियो ।
भर्खरै हामीले तेलको पाइपलाइनको शुभारम्भ गरेका छौं, त्यस बाहेकका महत्वपूर्ण आयोजनाहरू धमाधम बढिरहेको बताउँदै मन्त्री बाँस्कोटाले अमेरिकामा पूर्वाधार मार्फत नागरिकबीचको ‘कनेक्टिीभिटी’ स्थापित भए जस्तै नेपालमा पनि विकासले गति लिएको बताउनुभयो ।
सरकारले चालेका कदम सही भएका कारण नेपालको आर्थिक बृद्धिदर ७.६ ले हाँसिल भएको बताउँदै मन्त्री बास्कोटाले विस्तारै आयात प्रतिस्थापन हुँदै निर्यात व्यापार बढ्दै गएको बताउनुभयो ।
अबका एकवर्षपछि एक हजार मेघावाट बिद्युत राष्ट्रिय प्रसारणमा थपिन्छ, मन्त्री बाँस्कोटाले भन्नुभयो–अहिले सरकारले खपत बढाउनका लागि आग्रह गर्दै आएको छ । उहाँले नागरिकका हरेक सपना पूरा गर्नेतर्फ वर्तमान सरकार अगाडि बढेकै कारण चीनसँगको पछिल्लो सम्झौता भएको बताउनुभयो ।
हामीले देखेको रेल ल्याउने सपना पूरा गर्न चीनसँग सम्झौता भएको छ, मन्त्री बाँस्कोटाले भन्नुभयो–अब त्यो सम्झौता अनुसार कुनै न कुनै दिन हाम्रो यात्रा सुरु हुनेछ, सक्षम बन्दै गएपछि त्यो सपना पूरा गर्नका लगानी गर्ने दिन आउनेछन्

उहाँले भारतसँग इतिहासकै सबैभन्दा सुमधुर र राजनीतिक सम्बन्ध स्थापित भएको बताउँदै अब औपचारिक सम्बन्ध भन्दा माथि उठिसकेको बताउनुभयो । पाइपलाइन उद्घाटनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालसँग सबैभन्दा राम्रो र सुमधुर राजनीतिक सम्बन्ध स्थापित भएको बताउनुले त्यो कुरा प्रष्ट पारिसकेको उहाँको धारणा थियो । उहाँले राजनीतिकतन्त्रको आन्दोलन सकिएकोले अब आर्थिक तन्त्रको युगमा प्रवेश गरिसकिएको समेत बताउनुभयो ।

छिद्रबाट परिवर्तन विरुद्ध खेल्नु निरर्थक
पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले छिद्रबाट छिरेर पराजित शक्तिले उदाउने सपना निरर्थक रहेको बताउनुभयो । विकास र समृद्धिको यात्रामा रहेको सरकारप्रति नागरिकका केही गुनासा रहे पनि क्रमशः त्यसको सम्बोधन गर्दै बढ्ने बताउँदै उहाँले त्यसैका आधारमा व्यवस्थाका विरुद्ध लाग्ने सपना नदेख्न चेतावनी दिनुभयो ।
लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक अरु कुनै पनि नभएको बताउँदै मन्त्री बाँस्कोटाले नागरिकको चेतनास्तरको माथि उठिसकेकोले तानाशाहीतन्त्र स्वीकार गर्न नसक्ने बताउनुभयो । तानाशाही वा परिवारतन्त्रको शासन व्यबस्था अंगिकार गर्ने भन्दा नागरिकको चेतनास्तर माथि उठिसकेको छ; मन्त्री बाँस्कोटाले भन्नुभयो–जनता सार्वभौमसत्ता सम्पन्न शासन पद्धति बाहेकको विकल्प सोच्न सक्दैनन् ।
जनताबाट निर्वाचित सरकारले कमजोरी गरे पाँचवर्षपछि त्यसको सजाय भोग्नुपर्ने बताउँदै सरकार जनताप्रति उत्तरदायि रहेको धारणा राख्नुभयो । सरकारले कुनै कारणले काम गर्न नसकेको देखाएर शासन व्यवस्थाकै विरुद्ध चलखेल गर्नु नाजायज हुने र त्यो निरर्थक भएर जाने उहाँको बुझाई थियो ।
उहाँले नेपालको संविधान नागरिकको संघर्ष र बलिदानीबाट आर्जेको सम्पति भएको बताउँदै त्यसलाई महत्वपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो । संविधान जारी भएको दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै नागरिकमा जागरण ल्याउनु पर्नेमा जोड दिनुभयो ।
संविधान दिवस अन्य पर्व भन्दा पनि महत्वपूर्ण रहेकोले नागरिकमा देशभक्ति भावना जागृत गराउन विशेष महत्व दिनुपर्ने बताउनुभयो ।
लोकतान्त्रिक आन्दोलन संस्थागत र नागरिकको अधिकार सुनिश्चित गरेको संविधानको महत्व र मर्मलाई स्थापित गर्नसक्दा मात्रै आन्दोलन र बलिदानले सार्थकता पाउने उहाँको भनाई थियो । कसैले संविधान अस्वीकार गर्छु भनेर कालो झण्डा देखाउने ईच्छा राख्नु लोकतन्त्रमा छुट भए पनि त्यो नागरिकका दृष्टिकोणमा प्रत्युत्पादक हुने उहाँले बताउनुभयो ।
पत्रकार सक्षम बन्नुपर्छ
नेपाली प्रेस जगत इतिहासकै सवल र सक्षम बनिरहेको बताउँदै मन्त्री बाँस्कोटाले श्रमजीवी ऐन कार्यन्वयनको माग पत्रकारकै रहेको बताउनुभयो ।
उहाँले सञ्चार क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्दै सरकारले स्वतन्त्र र मर्यादित प्रेसलाई सुनिश्चित गर्ने बताउनुभयो ।
मुलधारका सञ्चारमाध्यकै लागि विज्ञापन नीति आवश्यक रहेको बताउँदै उहाँले सामाजिक सञ्जालमा देखिएको विकृति नियन्त्रण र दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
मुलधारका टिभी च्यानललाई नै चुनौती दिदैं युटुबरहरूले विज्ञापन खिच्न थालेका कारण त्यसलाई दायरामा ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाली सञ्चारमाध्यमकै विकास र उन्नतिका लागि क्लिनफिड नीति ल्याउन आवश्यक ठानेको उहाँले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?