मुना हमाल
सुर्खेत, असोज २० गते । रुकुम पश्चिमकी २६ वर्षीया एक महिलाको मोबाइलमा नयाँ नम्बरबाट फोन आउँछ । विस्तारै फोन गर्ने युवकसँग कुरा हुन थाल्छ । फोनबाट स्थापित भएको सम्बन्ध भेटघाटमा परिणत हुन्छ । भेट भएपछि विवाह गरेर भारत जाने र उतै कमाउने बस्ने योजना बन्छ । महिला युवकसँग विवाह गरेर भारतको नयाँदिल्लीमा पुग्छिन् । उनका श्रीमान् सुरुमा महिलालाई यौन गतिविधिमा लगाउँछ । तर आफू बेचिएको थाहा पाएपछि उनी भागेर नेपाल आउन सफल हुन्छिन् । विवाह गरेर भारत लैजाने युवक अहिले मानवबेचविखन तथा ओसारपसारको अभियोगमा जेल सजाँय भोगिरहेका छन् ।
यस्तै, सुर्खेतमा दुईजना महिलालाई चिनजानेकै मान्छेले एकजनालाई विवाह गर्ने र एक जनालाई रोजगारीमा लैजाने आश्वासन दिएर नेपालगञ्जसम्म पु¥याए । विवाह गर्ने र भारतमै काम गरेर बस्ने योजनाका साथ उनलाई ती युवकले नेपालगञ्जसम्म पु¥याएका थिए । नेपालगञ्जको होटलमा पुगेपछि उक्त केटाले ‘लड्की’ अर्थात् केटीहरु लिएर भारत चाँडै पुग्न लागेको छु भन्ने फोन सुनेपछि भाग्न सफल भए ।
विवाह होस् वा काम गर्ने बहानामा महिलाहरु बेचिने गरेका यी दुई उदाहरणहरु हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार चार वर्षमा कर्णालीबाट २४ जना महिला बेचबिखनमा परेका छन् । पछिल्लो समय विभिन्न बहानामा चेलिबेटी बेचबिखनमा पर्दै आएका छन् । वि.सं. २०७२ यता कर्णालीबाट २४ जना महिला बेचिएका छन् । कर्णालीका ग्रामीण भेगका गरिब तथा विपन्न महिलाहरु बढी बेचबिखनमा पर्ने गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएको परिवारका महिलाहरु जोखिममा पर्ने गरेको प्रहरीको भनाई छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाका अनुसार चार वर्षको अवधिमा सुर्खेतमा सबैभन्दा बढी १० जना बेचिएका छन् ।
यस्तै, चार वर्षमा दैलेखबाट दुई, सल्यान पाँच, रुकुम पश्चिमबाट तीन, जुम्ला चारजना बेचिएका छन् । तर मुगु, कालिकोट, डोल्पा, हुम्ला र जाजरकोटमा भने पछिल्लो चार वर्षमा चेलिबेटी बेचबिखनबारे कुनै घटना दर्ता भएको छैन । सूचना अधिकारी तिम्सिनाका अनुसार महिलाहरुलाई विवाह गरेर, प्रलोभनमा पारेर र रोजगारीमा लगाइदिने बहानामा भारतमा र बेचिएका छन् । आफन्त र चिनेजानेकै मान्छेबाट पनि महिलाहरु बेचिने गरिएका छन् ।
प्रहरी र महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाले बेचिएका महिलाहरुको उद्दार र पुर्नस्थापना गर्ने काम गरेका छन् । महिलाहरु विवाह र सुख पाउने प्रलोभनमा परेर बेचिने गरेको आवाज संस्थाका वरिष्ठ मनोसामाजिक परामर्शकर्ता नीसा पौडेल बताउनुहुन्छ ।
बेचबिखनमा चौध/पन्ध्र वर्षको उमेरदेखि ३५ वर्ष उमेर समूहका महिलाहरु जोखिममा परेका छन् । सानै उमेरमा विवाह गर्ने र घरमा आर्थिक अवस्था कमजोर भएका र बुबाआमा नभएका महिलाहरु बेचबिखनमा बढी जोखिममा पर्ने गरे पनि सम्बन्धित निकायको ध्यान नगएको उहाँ बताउनुहुन्छ ।