logo
२०८१ मंसिर ७ शुक्रवार



नेपालबाट राजनैतिक रुपमा विश्वलाई नयाँ विचार दिन आवश्यक :प्रचण्ड

फिचर |
राष्ट्रिय |


नेपालबाट राजनैतिक रुपमा विश्वलाई नयाँ विचार दिन आवश्यक :प्रचण्ड


भैरहवा समाचारदाता
भैरहवा, मङ्सिर ३ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताउनुभएको छ ।
उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको पाँचौँ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को उदघाटन गर्दै प्रचण्डले सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्नुपर्ने आफ्नो दृढ मान्यता रहेको बताउनुभयो ।
“जनताको बीचमा विभिन्न जिज्ञासा र प्रश्न छन्, प्रश्न छन् । बाँके–बर्दियामा गयो भने एउटा भावना पाइन्छ, दाङ जाँदा रुकुम–रोल्पाका जनताको एउटा भावना छ । मैले बोल्दा सकेसम्म सबैलाई सहज हुने र सबैलाई लाभ हुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदा पनि बोलेको हुँ, दाङमा जाँदा पनि बोलें, अहिले पनि बोल्छु”–उहाँले भन्नुभयो– “सबैलाई धेरै भन्दा बढी सुविधा कहाँ हुन्छ, त्यही राजधानी हुनुपर्छ ।”
नेकपाका अध्यक्ष प्रचण्डले पूर्वाधार विकास भइसकेका सहरमै राजधानी हुनुपर्छ भन्ने कुनै जरूरी नभएको बताउनुभयो । “नयाँ ठाउँमा पनि राजधानी विकास गर्न सकिन्छ । यो छलफलकै क्रममा छ”–उहाँले भन्नुभयो । यसैबीच हाम्रा परासी समाचारदाताका अनुसार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट राजनैतिक रुपमा विश्वलाई नयाँ विचार दिन आवश्यक भएको बताउनुभएको छ । नेपालमा ऐतिहासिक घटनाक्रम भएको र सफलताहरु हासिल भएको चर्चा गर्दै उहाँले कम्युनिस्ट आन्दोलनको नयाँ विचार संसारलाई दिन सक्षम हुने उहाँले बताउनुभयो ।
मङ्गलबार नवलपरासीको परासीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाँले विश्वलाई नयाँ सन्देश दिनेगरी नेपालमा कम्युनिस्ट आन्दोलन अघिबढेको चर्चा गर्नुभयो । देशको लामो अस्थिरता अन्त्य गर्न दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको उल्लेख गर्दै उहाँले देशको समृद्धिको जिम्मा आफ्नो पार्टीले लिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?