राममणि दाहाल
हेटौँडा, मङ्सिर १० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सङ्क्रणकाल टुङ्गिएको बताउनुभएको छ ।
देशमा ठूलो परिवर्तन भएकोले प्रणाली र संरचनाहरुमा परिवर्तन भएको भन्दै उहाँले भन्नुभयो, संविधानले निर्धारण गरेका संरचना बनाउनुपर्ने भएकोले जटिलतामा बित्यो, दुई वर्ष सङ्क्रमणकालमा सकियो ।
प्रदेश ३ का मुख्यमन्त्रीको निवासमा मङ्गलबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कर्मचारी समायोजनलगायतका कार्य टुङ्गिदै गएको बताउनुभयो ।
भरतपुरको चुनावी सभालाई सम्बोेधन गरेर बाराको निजगढमा हुने कार्यक्रममा सहभागी हुने क्रममा हेटौँडा आइपुग्नु भएको नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजो संविधान बन्दैन कि भन्ने चिन्ता थियो संविधान निर्माण भयो, निर्वाचन हुँदैन कि भन्ने चिन्ता थियो तीन तहको निर्वाचन भएर सरकार बनेर काम गरिरहेका छन्, अब विकासप्रतिको चिन्ता बढेको छ ।’
केही प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउन बाँकी रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रदेशको स्थायी राजधानी र नामाकरण छिट्टै टुङ्गो लाग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
अब कन्फ्युजमा राख्नु हुँदैन, राजनीतिको विषय टुङ्ग्याएर विकास निर्माणमा केन्द्रित हुनुपर्छ, पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो केही दिनभित्रै टुङ्गो लाग्छ ।
उहाँले भन्नुभयो, ‘सरकार नेतृत्वको पार्टी अध्यक्ष भएकोले प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको विषय टुङ्गो लगाउन मद्दत गर्छु ।’
राजनीतिक स्थायित्वका लागि विकल्प नदेखेर एकता गरेको हो, अब अलमलमा बस्नु हुँदैन भन्दै उहाँले पार्टीभित्र र बाहिर देखिएको अन्त्य गर्न नै पार्टीमा पछिल्लो निर्णय भएको हो भन्नुभयो । उहाँले भन्नुभयो, प्रधानमन्त्रीले सरकारको नेतृत्वगर्ने, महिले पार्टीको नेतृत्व गर्ने हो, पछिल्लो समयमा पार्टीको काममा देश दौडाहामा छु, सरकारमा आलोपालो गर्ने र पार्टीमा देखिएको अन्यौल, अलमल र कन्फ्युज अन्त्य भयो ।
उहाँले जनता उपनिर्वाचनमा उत्साहपूर्वक सहभागी भइरहेको, जनतामा निराशा छैन, निर्वाचनप्रतिको जागरुकता र सक्रियता घटेको छैन, आस्था भन्दै वर्तमान संरचना र परिवर्तनप्रति जनतामा आस्था र विश्वास बढेको छ भन्नुभयो ।
वर्तमान सरकार आएपछि ऐन कानुन बनेको, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध माथि उठेको, विकासका पूर्वाधार निर्माणका काम भएको र आर्थिक विकासको दर बढेको बताउँदै नेकपा अध्यक्ष प्रचण्डले नेतृत्वले आत्मसमिक्षा गरेर अझ राम्रो गर्नु आवश्यक भएको बताउनुभयो ।
एकतावद्ध रुपमा गएमा, भिजन र दृढता भएमा विकासको गतिले तिब्रता लिने र दोहोरो अङ्कमा नेपालको आर्थिक विकास हुनेप्रति आफू विश्वस्त रहेको भन्दै उहाँले भन्नुभयो, दुई पार्टीबीच एकता भएको होइन ।
राजनीतिक अराजकता र अस्थिरता अन्त्य गरी स्थायित्वका लागि दुई पार्टीबीच एकता भएको बताउँदै उहाँले अहिले ७० वर्ष यताकै राजनीतिक स्थायित्व र सहमति रहेकाले हामीलाई अवसरसँगै चुनौती पनि रहेको बताउनुभयो ।
‘राजनीतिक स्थायित्वका लागि विकल्प नदेखेर एकता गरेको हो, अब अलमलमा बस्नु हुँदैन भन्दै उहाँले पार्टीभित्र र बाहिर देखिएको अन्त्य गर्न नै पार्टीमा पछिल्लो निर्णय भएको हो भन्नुभयो ।’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले सरकारको नेतृत्वगर्ने, महिले पार्टीको नेतृत्व गर्ने हो, पछिल्लो समयमा पार्टीको काममा देश दौडाहामा छु ।’
कार्यक्रममा प्रदेश ३ का मुख्यान्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवारज दुलाल, नेकपाका प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयाल, नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
राजधानीका बारेमा आन्तरिक छलफल
प्रदेश ३ को राजधानी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै प्रदेश सभाका सदस्यबीच आन्तरिक विवादका कारण टुङ्गो लाग्न नसकिरहेको समयमा पार्टी अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) , मुख्यमन्त्री, सभामुखसहितका नेताहरुबीच छलफल भएको छ ।
हेटौँडास्थित मुख्यमन्त्री निवासमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरुसहितको भेटमा छलफल भएको हो । राजधानी छिटो टुङ्गो लगाउने विषयमा छलफलमा भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा जोर्जे लामाले जानकारी दिनुभयो । यसअघि हेटौँडा प्रदेश ३ को स्थायी राजधानी हुनुपर्ने सार्वजनिकरुपमा बताउँदै आउनुभएका अध्यक्ष प्रचण्डले मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुसँगको भेटमा पनि हेटौँडा नै हुने बताउनुभएको छ ।