logo
२०८१ मंसिर ८ शनिवार

...परिवेश...



रारा : मनले पनि राम्रो देखेँ

फिचर |


रारा : मनले पनि राम्रो देखेँ


जयदेव भट्टराई

लाग्न त समय ६ घण्टा मात्र लाग्ने हो तर पहाडी बाटोको सौन्दर्य, त्यसमा पनि कर्णालीको आकर्षण क्यामेरामा थप्दै जानुपर्ने । कर्णालीको मार्सी, चिनु चामल, सिमीको दाल, हरिया सागसहित अनेकौँ खानाको स्वाद लिँदै हिँड्नुको मजै बेग्लै । जुम्लाको चन्दननाथ नगरपालिकाबाट दुईवटा जिपमा बाँडिएर बिहान सात नबज्दै थालिएको हाम्रो लम्बेतान यात्रा राराको निकट पुग्दा १० घण्टा बितिसकेको रहेछ । कर्णालीको सुन्दरताले विकट ठाउँ पुगेको पटक्कै भान भएन  । श्रीनगर, लाम्रा, द्यौलापानी, तातोपानी, कुडारी, त्रिवेणी, डुण्डेली हँुदै कालिकोटको माग्ममा विश्राम लिन पुग्यौँ । बाटैबाट देखिने जुम्लाको प्रसिद्ध कनकासुन्दरी मन्दिर हेर्दै, माग्मको स्वादिलो खाना खाँदै इतिहास र गौरव बोकेको सिंजा उपत्यका टेकेर अघि बढ्यौँ । आर एआरएरारा, राम्रो भन्छन् सारा भन्दै गुनगुनाउँदै काठमाडौँदेखि नै रारा हेर्न उत्साहित मन नेपालगञ्जको गर्मीमा पुग्दासमेत राराको चिसो सम्झेर आनन्दित भइयो । जुम्ला पुग्दा पनि राराकै सौन्दर्य कल्पिँदै रोमाञ्चित भइयो । सल्लेरीमा रारा राष्ट्रिय निकुञ्जको स्वागतद्वार र नेपाली सेनाको सोधपुछपछि रारा प्रवेश गरेको अनुभूति भयो । लामो यात्राको आफ्नै किसिमको रमाइलो भए पनि राराको आकर्षणले सडक यात्रामा भन्दा राराको झलक हेर्ने कौतुहलताले उद्वेलित बनाइरहेको थियो । मोटर बाटोको टुङ्गोमा ओर्लनासाथ
‘यहाँबाट हिँड्न सक्नेका लागि दुई घण्टा हो तपाईंहरूलाई तीन घण्टा लाग्ला’ सैनिक जवानको कुरा टुङ्गिन नपाउँदै अघि बढे पाइला । अबको विकल्प भनेको हिँड्नु कि घोडाको सहारा लिनु मात्र रह्यो । जङ्गलको बाटो, पाटन (फराकिला चउर) राराको किनारको लामो बाटो हिँडिरहँदा अनायास भनिएछ– यी कवि साहित्यकार भनेका पनि अनौठै हुँदा रहेछन् । पानीको ताल हेर्न यतिका समय खर्चेर कति दुःख पाउन सकेका ? कात्तिक ३ गते दिउँसोको समयमा देखियो कवि साहित्यकार मात्र होइन राराको सौन्दर्य हेर्न अनेकथरी मान्छेको ओइरो लागेको, अनेक भूगोल, अनेक बाटोबाट ओइरिएका । बाटाभरि भेटिन्थे प्रकृति प्रेमी शिथिल बनेको शरीर, थाकेको मन, जिज्ञासु आँखा रारातिरै सोझिरहेका थिए, आरएआरए रारा, राम्रो भन्छन् सारा भन्दै हामी एक तमासले हिँडिरहेका छौँ । खुट्टा थाके पनि बोल्नेहरू थाकेका छैनन्, यात्रामा गरिने गफबिना एजेन्डाका हुन्छन्, जसले जे कुरा ग¥यो त्यसैको पछि लाग्छन् । सबै कुराको चुरो नभेटिँदै अर्कै प्रसङ्ग आइहाल्छ । लामो यात्रामा सँगै हिँडिदिए हुन्थ्यो भन्ने त सबैलाई लाग्दो हो तर मन मिल्ने, कुरा मिल्ने, हिँड्न सक्ने, नसक्ने सबै आआफ्नै समूहमा बाँडिएर एकनाश यात्रारत थियौँ ।
जुम्लाको चन्दननाथ नगरपलिकाबाट जिपमा बढीमा ७ घण्टामा पुग्न सकिन्छ रारासम्म, हामीले भने १० घण्टा लगायौँ । फेसबुकमा फोटो राख्ने होडबाजीले हो कि प्रकृतिको सुन्दरताले मुग्ध पारेकाले हो, यात्राको आधा जति समय त हात हातमा भएका मोबाइलबाट फोटो खिच्नमै खर्चियौँ । मोटर बाटो पुगेको ठाउँसम्म जिपबाट, त्यसपछि
जङ्गली बाटो हिँड्दै अघि बढियो । वरिष्ठ साहित्यकार सरुभक्त, मोमिला,राजेश्वर कार्की, मणि लोहनी, ठाकुर बेलवासे, विमल वैद्य, केशव सिग्देल अनुपम रोसी, डा. हरिप्रसाद मानसाग्नी, अमेरिकी नागरिक एवं नेपाली संस्कृतिका अध्येता ग्रेगरी, कलाकार सुन्दर बस्नेत, पुरीचन्द्र देवकाटा दम्पत्तीसमेत १४ जना उकालो लागेका थियौँ राराको । शरीर थाके पनि मन थाकेको थिएन, एउटा लोभ थियो सबैमा रारा हेर्ने । काठमाडौँबाट नेपालगञ्जसम्म एक घण्टा, नेपालगञ्जबाट जुुम्लासम्मको ३५ मिनेटको हवाइयात्रा । जुम्लाबाट मुगुको रारासम्म ७ घण्टाको मोटरबाटोको यात्रा अनि तीन घण्टा पैदल यात्रा यी सबै जोड्दा लामै यात्रा मान्नुपर्ने हुन्छ ।
हिँडिरहन सक्नुपर्छ, आखिर गन्तव्य त भेटिइहालिन्छ । धेरै वर्षदेखिकोे पर्खाइ त्यसमा पनि लामो यात्रा गरेर राराको किनार टेक्नासाथ सारा थकाइ बिर्सिएर भनिएछ ‘साँच्चै राम्रो रहेछ रारा’ । आफैमा सुन्दर भएर पनि लामो समयको पर्खाइपछि मात्र धेरैको आँखामा पर्न सकेको रारा आफैमा राम्रो भएर पनि वर्णन गरिदिनेहरूको अभावमा रहेको थियो । बाटोभरि बोलेर नथाकेकाहरू समेत रारा देख्नासाथ बोल्न नसक्ने अवस्थामा पुगे, निःशब्द । पत्याइनसक्नु सुन्दर, मनमोहक राराको सौन्दर्यमा लठ्ठिए मन र आँखा । आफैमा सुन्दर रारा इतिहास बोकेर पनि धेरैका आँखामा पर्न नसकेको प्रकृतिको अनुपम उपहार रारा पुग्ने धोको कसलाई पो नहोला र ? त्यसमा पनि नेपाली भाषाको उत्पत्ति थलो सिंजा उपत्यका हुँदै गरिएको यात्रा । नेपाली कला साहित्य डट कमले यसपालिको कला साहित्य यात्रा यही थलोलाई रोज्नु र त्यसैमा सहभागी हुन त्यही थलोमा पुग्दा नपुगी नहुने ठाउँमा आएको अनुभूति भयो । कात्तिक २ गतेको बिहान जुम्लाको चन्दननाथ नगरपालिकाबाट थालिएको जिप यात्रा जुम्लाको सिंजा, कालिकोटको माग्म हुँदै मुगुको रारासम्म पुग्दा साँझ झमक्क भइसकेको थियो । जूनको प्रकाश र टर्च लाइटको सहयोगमा हामी १४ जना एकनासले राराको किनार हिँड्दाको रोमाञ्चक अनुभूति बिर्सिनसक्नु । राराको फैलावट र गहिराइ नाप्ने यत्नै गरिनँ, राराको सौन्दर्यको फराकिलोपनको के लेखाजोखा गर्नु ? र पनि थाहा लाग्यो पाँँच दशमलब एक हजार मिटर लम्बाई, तीन दशमलव दुई हजार मिटर चौडाइ र १६७ मिटर गहिराइको यही रारा तालमा पुगे कैयौँ प्रकृतिप्रेमी । समुद्री सतहबाट २९७२ मिटर उचाइमा अवस्थित रारा । कर्णालीको मुगुको छायानाथ रारा नगरपालिकाको वडा नं ९ मा समुद्री सतहबाट २९७२ मिटर उचाइमा अवस्थित रारा । वि.सं २०२० सालमा तत्कालीन राजा महेन्द्र पुगेर यसैको बारेमा कविता लेखेपछि रारा चिन्नेहरू बढ्न थाले । पहिलेकाहरूले के नामले जान्थे कुन्नि ? राजाको भ्रमणपछि यसको नाम फेरेर महेन्द्र ताल राखिए पनि जनजिब्रोमा रारा ताल नै झुण्डिन पुग्यो । यसप्रतिको चासो बढ्न थाल्यो । राराका बारेमा यसपछि पनि धेरै लेखिएका छन्, अनेकौँ कृति प्रकाशमा आएका छन् ।
नेपाली भाषाको उत्पत्ति थलो सिंजा घुम्ने र त्यहाँको माटो चुम्ने रहर पलाएको धेरै भयो । सत्यमोहन जोशी, डा. चूडामणि बन्धु, प्रदीप रिमाल, स्थिर जंगबहादुर, विहारीकृष्ण श्रेष्ठको पाँच दशकअघिको जुम्ला यात्रा र प्रकाशमा आएको कर्णाली लोक संस्कृतिका पाँच भाग छिचोलेदेखि नै हो जुम्लाप्रति आकर्षण बढेको । कात्तिक १ गते पाइला टेक्ने तारतम्य मिल्यो । कर्णालीको जुम्लामा साहित्यिक सम्मेलन, मुगुको रारा तालको सौन्दर्यपान गर्न र कालिकोटको रहनसहन हेर्ने कार्यक्रम तय भएको थियो । साँझ झमक्क पर्दा रारा किनारमा पुग्दा देखियो राराको सौन्दर्य । मोटर, मोटर साइकलका लर्को लागेको सडकमै अनुमान भइसकेको थियो, रारामा मानिसहरूको मेला लागेको हुनुपर्छ भनेर । नभन्दै त्यस्तै रह्यो । साँझ झमक्क पर्दा राराको गन्तव्य (होटल) पुग्दा पाइला टेक्ने ठाउँ थिएन, अन्धकारमै पनि राराको मुखाकृति हेर्ने रहरले टर्च लाइट बालेरै भए पनि हेरूँ जस्तो नलागेको कहाँ हो र ? जूनको उज्यालोमा टल्किएको राराको काखैमा रात बिताएपछि भोलिपल्ट बिहान देखियो राराको राप । सूर्यको किरणसँगै अण्डाकारमा फैलिएको रारा साँच्चै मनमोहक छ । जताबाट हेरे पनि जसरी हेरे पनि सम्पूर्ण रारालाई एकसाथ हेर्न पाइने । जसले जहाँबाट जसरी हेरे पनि आफ्नै किसिमले देखिने रारामा पटक्कै छलकपट छैन । हेर्न आउनेहरूको हतारो छ, रारा चुपचाप शान्त बसेकी छ, कैयौँ प्रकृतिप्रेमीलाई तृप्त पार्ने राराका पनि त रहर होलान्, कहिलेकाहीँ सुस्ताउन मन लाग्दो हो । आफ्नै पानीमा डुबुल्की मारेर पौडिन मनलाग्दो हो तर रारा यी सबैबाट टाढा । हेर्नेहरू आउँछन् जान्छन् । पहिले अलि कम आउँथे, अचेल भीड बढ्न थालेको छ । सुन्दरतामा कुनै कमी नआएको रारालाई आजको दिनसम्म संरक्षण गर्ने काममा कुनै कमी देखिएन । नेपालको सबैभन्दा ठूलो तालका रूपमा परिचित राराको आँगन टेकेर मनभरि, आँखाभरि समेट्दाको क्षणमा कतिले कविता कोरे होलान्, कतिले आआफ्ना क्यामेरामा तस्बिर उतारे होलान्, कतिले रारासँग मनका कुरा गरे होलान् । यात्रा संस्मरणका चाङ लगाए होलान । बिदा हुने बेला यति चाहिँ भनिएछ, आँखाले सुन्दर देखेको रारालाई मनले पनि त्यत्तिकै राम्रो देखेँ मैले ।  

मधुपर्क मङ्सिर २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?