अविनाश चौधरी
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि उपयुक्त गन्तव्यको रुपमा रहेको छ । मुलुकको सबैभन्दा कान्छो यो राष्ट्रिय निकुञ्जमा सजिलै वन्यजन्तु अवलोकन गर्न सकिने भएकाले उपयुक्त गन्तव्यको रुपमा रहन गएको हो । यसका साथै यो राष्ट्रिय निकुञ्ज बाटो र आवास सुविधासँग पनि जोडिएको छ । नेपाल भ्रमण वर्ष २०२० को क्रममा शुक्लाफाँटामा पर्यटक ओइरिने निकुञ्ज कार्यालयले अपेक्षा गरेको छ ।
प्रदेशको अस्थायी राजधानी धनगढी पुग्ने पर्यटकहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुग्ने गरेका छन् । धनगढीबाट यो राष्ट्रिय निकुञ्ज करिब ६१ किलोमिटरको दूरीमा छ । गाडीमा दुई घण्टामै पुग्न सकिन्छ । काठमाडौँबाट जहाजमा धनगढीसम्म आउने पर्यटक छोटो समयमै शुक्लाफाँटा पुग्न सक्छन् ।
‘वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकका लागि शुक्लाफाँटा उपयुक्त गन्तव्य हो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भन्नुभयो– ‘जाडोको बेला पर्यटक आए पनि बाह«सिङ्गा, चित्तल, मयूर, खर मयुर जस्ता वन्यजन्तु तथा चराचुरुङ्गी देख्न सकिन्छ ।’
शुक्लाफाँटामा बाह«सिङ्गाको ठूलो झुण्ड छ जुन एसियामै ठूलो मानिन्छ । शुक्लाफाँटाको फाँट (घाँसे मैदान) मा सजिलै देखापर्ने बाह«सिङ्गाले पर्यटक लोभ्याउने गरेका छन् । बाह«सिङ्गाको यही झुण्ड हेर्नका लागि देशविदेशबाट पर्यटक आउने गरेका छन् । भ्रमण वर्षको क्रममा सुदूरपश्चिम प्रदेशको ‘ब्राण्ड’ समेत बाह«सिङ्गा नै सावित हुने बताइएको छ । यो राष्ट्रिय निकुञ्जमा बाह«सिङ्गा सङ्ख्या दुई हजार २४६ छ ।
शुक्लाफाँटामा विगतको तुलनामा पर्यटक आउने क्रम बढ्दै गएको र भ्रमण वर्षको क्रममा देशविदेशबाट अझ धेरै पर्यटक आउने अपेक्षा गरिएको प्रमुख संरक्षण अधिकृत पौड्यालले बताउनुभयो ।
३०५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठूलठूला घाँसे मैदान छ । त्यही मैदानमा बाह«सिङ्गाको ठूलो झुण्ड देख्न सकिन्छ । यसअघि आरक्षको रुपमा रहेको शुक्लाफाँटालाई २०७३ सालमा निकुञ्ज बनाइएको थियो ।
पछिल्लो गणनानुसार यो निकुञ्जमा बाघका्े सङ्ख्या १६ छ । यसैगरी १७ वटा गैँडा, सिजनमा करिब ६०÷७० को सङ्ख्यामा जङ्गली हात्ती छन् । करिब ५÷६ वटा जङ्गली हात्ती शुक्लाफाँटामा नियमित बस्ने गर्दछन् । ४५० प्रजातिका चराचुरुङ्गीको बसोबास छ । यो निकुञ्जको हीरापुरस्थित घाँसे मैदानमा ९३ वटा कृष्णसार छन् । कृष्णसारलाई जतिबेला पनि देख्न सकिन्छ । यो सिजनमा आक्कलझुक्कल बाघ पनि देखिने गरेको जनाउँदै प्रमुख संरक्षण अधिकृत पौड्यालले वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकका लागि शुक्लाफाँटा उपयुक्त गन्तव्य रहेको बताउनुभयो ।
‘उपयुक्त समयमा पुगेकाहरुले त सधैँजसो बाघ देख्न सक्छन्’, उहाँले भन्नुभयो ।
शुक्लाफाँटामा रानी, सिकारी, घुमाउन, बाबालगायत प्राकृतिक तालहरु छन् । विभिन्न वन्यजन्तुसहित चराचुरुङ्गी यिनै सिमसारको आसपासमा देख्न सकिन्छ । यसैगरी तालको प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।
पर्यटन वर्षका लागि शुक्लाफाँटामा तयारी थालिएको जनाइएको छ । निकुञ्जभित्र गाडी सफारीका लागि बाटो मर्मत गर्ने कार्यदेखि दृश्यावलोकनका लागि मचान निर्माण र मर्मतको कार्य भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत उत्तम चौधरीले बताउनुभयो ।
‘यहाँ आएका पर्यटक जङ्गल ड्राइभ र हात्ती सफारी गर्न रुचाउँछन्’, उहाँले भन्नुभयो– ‘त्यसको लागि हामीले तयारी गरिसकेका छौँ ।’
शुक्लाफाँटामा चैत, वैशाखमा अझ बढी पर्यटक आउने गरेको चौधरीले उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षको मङ्सिरसम्म शुक्लाफाँटामा विदेशी ४४, सार्क राष्ट्रका ४३ र नेपाली ५९८ गरी ६८५ पर्यटक पुगेका छन् ।
गत आर्थिक वर्षमा शुक्लाफाँटामा विदेशी १७५, सार्क राष्ट्रका १५४ र नेपाली पाँचहजार ७४० गरेर छ हजार ६९ पर्यटक पुगेका थिए । भ्रमण वर्षको क्रममा स्वदेशीसहित विदेशी पर्यटक उल्लेख्यरुपमा शुक्लाफाँटा घुम्न आउने अपेक्षा गरिएको सूचना अधिकारी चौधरीले बताउनुभयो । शुक्लाफाँटा पुग्ने पर्यटकले कञ्चनपुरमै रहेको एसियाकै लामो दोधारा–चाँदनी झोलुङ्गे पुल पनि अवलोकन गर्न सक्छन् । सुदूरपश्चिममा खप्तड, बडिमालिका, रामारोशन, घोडाघोडी ताललगायतका प्रमुख पर्यटकीय गन्तव्य छन् ।