शालिग्राम नेपाल
चितवन पर्यावरण र नेपालको वन्यजन्तु पर्यटनको पर्याय नै बनेको छ । यहाँ राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि नै यस्तो पर्यटनको शुरुआत भइसकेको थियो । अहिले यसले व्यावसायिक स्वरुप र अन्तर्राष्ट्रिय ख्याति कमाउँदै आएको छ ।
घना जङ्गलमा स्वतन्त्र विचरण गरिरहेको गैँडा, वेगमा दौडिरहेको पाटे बाघ, हरिण, जङ्गली हात्ती र विभिन्न चराचुरुङ्गी हात्तीमाथि वा जीप चढेर वा हातमा लठ्ठी लिएर जङ्गलमा डराइडराई हिँड्दै हेर्न लालायीत हुनु यहाँ जाने पर्यटकको उत्कट चाहना हो ।
यो बाहेक हिजोआज पहाडी क्षेत्रमा छोटा टे««किङ रुट, प्रसिद्ध तीर्थस्थल देवघाट, होम स्टे यहाँका आकर्षण हुन् । राजधानीबाट नजिक र देशकै मध्यभागका रहनुले पनि यो स्थान स्वदेशी विदेशी दुवैको सहज गन्तव्यका रुपमा स्थापित हँुदैछ । यहाँका मुख्य आकर्षण र पर्यटकीय सुविधाबारे छोटो चर्चा
हात्ती सफारी
जङ्गली जनावर अवलोकनका लागि निकुञ्जभित्र हात्ती सफारी सबैभन्दा आकर्षक मानिन्छ । निकुञ्जको मध्यवर्ती क्षेत्रका जङ्गलमा सहकारीले हात्ती सफारीको व्यवस्था गरेको छ । यस्तो सफारी गर्नका लागि प्रतिव्यक्ति नेपालीका लागिएकहजार १ सय, भारतीयका लागि एकहजार आठसय, विदेशीको लागि दुईहजार दुईसय शुल्क लाग्ने गर्दछ । सौराहाको अर्को आकर्षण साँझमा राप्तीको किनारबाट देखिने सूर्यास्तको मनोरम दृश्य, हात्तीले नुहाइदिने आदि रहेका छन् ।
जीप सफारी तथा जङ्गल वाक
यहाँको अर्को आकर्षण जङ्गलभित्र खुला जीप सफारीको हो । सौराहादेखि कसरासम्म समूहमा र मेघौलीका होटलले आफ्ना ग्राहक प्रत्येकका लागि पनि यस्तो सफारीको व्यवस्था गर्दछन् । सफारीका लागि सौराहा क्षेत्रमा प्रतिव्यक्ति दुई हजारदेखि १५ हजार रुपियाँसम्म लाग्छ । यस्तै गरी जङ्गल वाकको लागि दुई घण्टा, ४ घण्टा र एक दिनभरि घुम्न पाइन्छ । यसको शुल्क चारदेखि पाँचहजार रुपियाँसम्म लिने गरिएको छ । मेघौलीमा नारायणी र राप्तीनदीको सङ्गम स्थलको सूर्यास्तको दृश्य पनि अर्काे रमाइलो पक्ष हो ।
धार्मिक पर्यटनमा देवघाट धाम, रत्ननगरको गुम्बज शैलीको कृष्ण मन्दिर, मुग्लिन नारायणगढ सडकको जलवीरे झरना, चितवनको पुरानो सदरमुकाम उपरदाङगढी हुँदै सिराइचुली जाने पदमार्ग, माडीको सोमेश्वरगढी आदि छन् । बस्न खानको लागि चितवनमा एक दर्जनको सङ्ख्यामा स्टार तहको सुविधा भएका होटल छन् । चितवन आउने पर्यटकको रोजाइ जङ्गल सफारी हुने भएकोले सफारीलाई लक्षित गरी चितवन राष्ट्रिय निकुञ्ज नजिकै सुविधासम्पन्न होटल खुलेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार यहाँका आधादर्जन होटलमा तारेतहको सुविधा छ तर प्रमाण लिएका छैनन् । स्टारको प्रमाण लिएमा कर तिर्नुपर्दछ त्यसैले करबाट छुट पाउनको लागि पनि त्यो प्रमाणपत्र नलिएको उहाँको भनाइ छ । स्वीमिङपुल, कोठाको सुविधा, खाने सामग्रीको गुणस्तरीयता, बस्नेसँगै अतिरिक्त क्रियाकलापले पनि यहाँको सेवा स्टार तहको भन्दा कम छैन । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार यो क्षेत्रमा एकसय २० वटा होटल छन्, तीनहजार जनाले एकैपटक वास बस्न सक्ने क्षमता छ ।’ यिनीहरुले पर्यटकको स्तर अनुसारको सेवा दिन सक्छन् ।
त्यस्ता होटलले पर्यटकलाई आफैँले जङ्गलका सुविधाका लागि सहयोग गर्ने पनि बताइन्छ । चारतारे सरहको दाबीगरिएको ल्याण्ड मार्क, पार्क सफारी, सेभेन स्टार होटलले जङ्गल सफारी, स्थानीय क्षेत्रको अवलोकन, डुङ्गा सयर, थारु संस्कृति हेर्न पाउने व्यवस्थालगायतको सेवा गरी एकरात बास तथा खानाको सात हजारदेखि १२ हजार रुपियाँसम्म लिने गरेको छन् । प्याकेज कार्यक्रममा आफूले चाहेको सुविधा थपघट गर्न चाहेमा त्यही अनुसारको शुल्क लाग्ने गर्दछ । कतिपय होटलमा अन्तर्राष्ट्रिय सेमिनार, विभिन्न कार्यक्रम गर्न सकिने सुविधा पनि छ । योसँगै ग्रिनपार्क, स्टार बैङक्वेट, सेन्टर पार्क यी होटलले पनि स्टार तहका सेवा दिँदै आएका छन् । सौराहा आएका विदेशी पर्यटकका लागि यी होटल रोजाइमा पर्ने गरेका छन् । यी होटलमा नेपाली, भारतीय र अन्य विदेशीको लागि शुल्क केही फरक पनि छ ।
पश्चिम चितवनको मेघौली जगतपुरमा पनि अहिले स्टार तहको सेवा भएका होटल खुलेका छन् । निकुञ्ज र राप्तीकिनारमा यी रिसोर्ट छन् । चितवनको होटल सेराई भरतपुरबाट २५ किलोमिटर पश्चिम दक्षिणमा छ । योे होटलमा एक रात बसेर जङ्गल सफारी गरी खाना खाएको दुईजनालाई ४० हजार रुपियाँ लाग्छ । अर्को डिलक्स सेवा सुविधा भएको कोठामा बस्नेहरुका लागि प्याकेज कार्यक्रममा दुईजनाको दुईलाख रुपियाँ लाग्ने व्यवस्थापक रोशन सापकोटा बताउनुहुन्छ । यस्तै वाराही रिसोर्टका अनुसार यहाँ सस्तोमा १२ हजारदेखि अधिकतम ८० हजारसम्म शुल्क लाग्ने गर्दछ । जङ्गल भिल्ला, साराङ रिसोर्ट, भरतपुरको गार्डेन रिसोर्ट, सेन्ट्रल पाम होटल, जुगेडीको प्रेसिडेन्सी रिसोर्ट, कुरिनटारको रिभर साइडलगायतका होटल तारे तहको सेवा दिने होटल चितवनमा छन् । यीबाहेक सस्ता होटेलको खोजी गर्नेका लागि यहाँ एक हजारदेखि नै कोठा उपलब्ध हुन्छ ।