भेषराज बेल्बासे
विश्वका विभिन्न मुलुकबाट नेपाल घुम्न आउने पर्यटकले यहाँको खास के कुरा मन पराउँछन् । टुरिष्ट गाइड प्रतीक ढकालको जवाफ फ्याट्टै आइहाल्छ– ‘उनीहरुलाई मन नपर्ने यहाँ के छ र ? यहाँको हावापानी, हरियाली, सगरमाथा, विश्व सम्पदा सूचीमा रहेका सम्पदा, यहाँको संस्कृति, नेपाली खाना यस्ता धेरै कुरा छन् ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै प्रायः पर्यटकको जिज्ञासा आउने गरेको स्मरण गर्दै ढकाल सुनाउनुहुन्छ– ‘सगरमाथाको नाम सुनेर, अन्य सम्पदाको नाम सुनेर आएका हुन्छन् । अनि एयरपोर्टमा भेट भएपछि उनीहरुको जिज्ञासा सुरु भइहाल्छ, विश्वको अग्लो हिमाल सगरमाथा कतातिर छ ? यहाँबाट सगरमाथा देखिन्छ ? लुम्बिनी कहाँ छ ?’
‘हाम्रो प्राकृतिक सुन्दरता, हिमाल भयो, ट्रेकिङ जाने भन्छन्, हिमाल हेर्न माउण्टेन फ्लाइट, विश्व सम्पदा सूचीमा रहेका सम्पदा, यहाँको संस्कृति पनि उनीहरुका लागि नौलो र फरक हुने भयो, चितवन, पोखरालगायतका ठाउँमा देखिने धेरै कुरा उनीहरुका लागि रुचि र नौला नै लाग्छन् ।’ ढकाल अगाडि थप्नुहुन्छ– ‘प्याराग्लाइडिङदेखि पर्यटकलाई तान्ने कुरा धेरै नै छन् बुद्घ धर्म मान्ने छन् भने त लुम्बिनी पनि विशेष लाग्ने भयो । भारतीयहरु यहाँका मन्दिरमै धेरै समय दिन्छन् । युरोपेलीहरु बढी ट्रेकिङमा रमाउँछन् ।’
पहिला पहिला राणाका घरमा यहाँको परम्परागत नेपाली खाना, नेपाली रहनसहन, संस्कृतिमा पनि उनीहरुको विशेष रुचि रहने भन्दै उहाँले झण्डै ६०–७० को दशकको ‘आइटिनरी’ बनाउने तरिकामा सुधार हुन नसक्दा यहाँ आउने पर्यटक भारतीयले बनाएको परम्परागत आइटिनरीका आधारमा योजना बनाएर घुम्न आउने बाध्यता रहेको बताउनुहुन्छ ।
आवश्यक पूर्वाधारको अभावमा कहिलेकाहीँ खल्लो लाग्ने गरेको अनुभव पनि सुनाउँदै उहाँ भन्नुहुन्छ– ‘हामी पूर्वाधारमा पर्यटकमैत्री बनिसकेका छैनौँ । कुनै बेला मुग्लिन नारायणगढ खण्डको सडक अवरोधले पर्यटकहरु दिक्क हुन्थे । अहिले समाधान भइसकेको छ । अरू पनि पूर्वाधारका सवालमा दाँतमै ढुङ्गा लागेजस्तो हुन्छ ।’
सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ आजैदेखि औपचारिक शुभारम्भ गरिँदैछ ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।
पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको भन्दै भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने सरकारको लक्ष्य भएको बताउँदै आउनुभएको छ ।
जे जस्ता नारासहित भ्रमण वर्ष मनाइए पनि यसका मुख्य स्टेकहोल्डर नेपाल आउने पर्यटकलाई नै केन्द्रमा राख्नुपर्ने अहिलेको आवश्यकता हो । मोन्टोरेसा ट्रेकिङ एण्ड एक्स्पिडिसनका सञ्चालक गणेश न्यौपाने नेपाल आउने पर्यटकले मुख्य गरी यहाँको एडभेञ्चर टुरिजमलाई नै बढी मन पराउने गरेको अनुभव सुनाउनुहुन्छ । ‘धार्मिक पर्यटकले धार्मिक देवीदेवताका मन्दिर मन पराउँछन् नेपालमा आउने धेरैजसो पर्यटकले नेपालको प्राकृतिक सौन्दर्यलाई मन पराउँछन्’ । कैलाशमा पनि अहिले पर्यटक धेरै गइरहेका छन् तर धेरैजसो विश्वभर रहेका हिन्दू धर्मावलम्बी खासगरी भारतबाट आउने धार्मिक तीर्थयात्रीको चाप प्रत्येक वर्ष बढ्दै गइरहेको छ । कैलाश यात्राका लागि जेठदेखि भदौसम्म सबैभन्दा रामो त्योभन्दा अरू समयमा त्यहाँ जाडोको कारणले यात्रा सम्भव हँुदैन ।
‘नेपाल भ्रमण वर्ष २०२०’ लाई एक उत्सवका मात्र नभई राष्ट्रिय आर्थिक एजेण्डाको रुपमा लिनुपर्ने सरोकारवालाहरु बताउँछन् । वर्तमान अवस्थामा विश्वको पर्यटन विकास दर छ प्रतिशत मात्र रहेका बेला नेपालको २० प्रतिशतभन्दा बढी भएकाले यसलाई अझै सम्भावनामा बदल्नुपर्ने आवश्यकता छ ।
हामीले आफैँसँग भएका स्रोत र साधनलाई परिचालन गर्न सके मात्रै पनि २० लाख पर्यटक भिœयाउने कार्य असम्भव छैन । यो क्षेत्रकै सरोकारवालाले भनेजस्तै अभावै अभावबीच यो सम्भव छैन, हामीसँग भएको पूर्वाधारको स्तरोन्नति गर्दै व्यापक सुधार गर्दै केन्द्रीकृत विकासलाई देशैभर विस्तार गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
यता अक्टोबर, नोभेम्बर र डिसेम्बरमा जहिले पनि ठूलो सङ्ख्यामा पर्यटक भित्रिने तर गर्मी र वर्षाका बेला साहै्र कम पर्यटक आउने भएकाले कम पर्यटक आउने समयलाई लक्षित गरेर विशेष प्रचारप्रसारको काम गरिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
विमानस्थल, सडकजस्ता पूर्वाधार निर्माणलाई गति दिनसके लक्ष्य पूरा गर्न कठिन नभएको भन्दै पर्यटन व्यवसायी न्यौपाने भन्नुहुन्छ–‘पर्यटकको आकर्षण धेरै हुँदाहुँदै सडक र उडान प्रभावकारी बनाउन नसकेर समस्या भएको हो । विमानस्थलको स्तरोन्नति गर्ने काम र पर्यटक जाने ठाउँको सडक निर्माण तीव्र गतिमा निर्माण गर्नुपर्छ ।’
होमस्टेमा आकर्षण
नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई पनि खानपान र बासको हिसाबले ‘होमस्टे’ पहिलो रोजाइमा पर्ने गरेको छ । पारिवारिक वातावरणमा मनोरञ्जन र आतिथ्य सत्कारको अनुभव गराउने भएकोले होमस्टे पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको हो । होमस्टे कार्यक्रमलाई नजिकबाट बुझ्ने र त्यहीँबाट व्यावसायिकता खोज्न सक्नेलाई आम्दानीको गतिलो माध्यम बन्न सक्नेमा स्थानीय समुदाय पनि विश्वस्त देखिन्छन् । होमस्टेले गर्दा स्थानीयस्तरमा विदेशी पर्यटकको आगमन अहिले बढ्न थालेको छ ।
पछिल्लो समय होमस्टे अर्थात् घरबास कार्यक्रममा सरकारी निकायबाटै सहयोग बढ्न थालेपछि होमस्टे सञ्चालन गर्नेहरूसमेत बढ्न थालेका हुन् । ‘होमस्टे’ नयाँ पर्यटकीय क्षेत्रभित्र उदाउँदो छ ।
नेपाल पर्यटन वर्ष २०११ मा सरकारले नेपाल भित्रिने पर्यटकलाई ग्रामीण क्षेत्रमै व्यवस्थित गरी होमस्टे (घरबास) को विकासलाई प्रवद्र्धन गर्ने नीति लिएका बेला ग्रामीण पर्यटनमा जुटेका सञ्चालक निकै हौसिएका थिए ।