logo
२०८१ मंसिर ८ शनिवार

 धौवादी डाँडा फलाम खानी उत्खनन् 



धौवादी फलाम खानी उत्खनन् अन्तिम चरणमा, चीनबाट दुई महिनामा परीक्षण रिपोर्ट आउने

फिचर |
पढ्नै पर्ने |


धौवादी फलाम खानी उत्खनन् अन्तिम चरणमा, चीनबाट दुई महिनामा परीक्षण रिपोर्ट आउने


होेमराज रानाभाट

हुप्सेकोट पुष १७ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि अहिले फलाम खानी उत्खननका लागि सरकारले प्रक्रिया थालेको छ ।

फलाम खानी सञ्चालनकालागि तत्काल कानूनीरुपमा काम अघि बढाउन सरकारले समिति समेत गठन गरेर काम अगाडि बढाएको छ ।

हुप्सेकोटको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा सरकारले चीनको सिचूआन इन्स्टिच्यूट अफ मेटालजिकल जीओलजी एण्ड एक्स्प्लोरेशन छेन्दुमा पाँच टन फलाम परीक्षणको लागि पठाएको र सो परीक्षण अन्तिम चरणमा रहेको बताईएको छ । बढिमा अबको दुई महिनामा त्यहाँबाट परीक्षण रिपोर्ट प्राप्त हुनासाथ सरकारले फलाम उत्पादन शुरु गर्ने जनाईएको ।

चार बर्ष अघि हुप्सेकोटको धौवादीमा १० किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि सरकारले फलाम उत्खनन् गरेर कारखाना सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ । पूर्व पश्चिम राजमार्गको डण्डा बजारबाट २७ किलोमिटर उत्तरमा धौवादी फलाम खानी रहेको छ । पहाडी क्षेत्रमा फलाम खानीसम्म पुग्ने फराकिलो सडक अहिले निमार्णाधीन चरणमा अन्तिम अवस्थामा रहेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गत बर्षको बजेटमा नै गठन गरिसकेको छ । अहिले सो कार्यालय काठमाडौंको खानी तथा भूगर्भ विभागको कार्यालय लौनचौर परिसरमा छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा उद्योग वाणिज्य मन्त्रालयका सहसचिव सोमकान्त पौडेललाई तोकेको छ । समितिमा अन्य चार जना सदस्य रहेका छन् । विभागका महानिर्देशक सोमप्रसाद सापाकोटा, उद्योग र अर्थ मन्त्रालयका सहसचिव र सडक विभागका सहसचिव रहेको पाँच सदस्य समिति गठन भएको हो ।

संसदको गत वर्षको बजेटमा धौवादी फलाम खानी संचालनका लागि खानी तथा भूगर्भ विभागले साढे २ अर्ब बजेट माग गरेकोमा अर्थ मन्त्रालयले पहिलो किस्ता भन्दै २५ करोड बजेट विनियोजन गरेर निकासा दिइसकेको जनाईएको छ ।

सरकारले नीति तथा कार्यक्रममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको द्यौबादी फलाम खानीको उत्खनन् कार्य यसै बर्षदेखि हुने भए पछि यहाँका बासिन्दामा उत्सुकता सँगसँगै खुशी छाएको छ ।

अहिले उत्खनन हुने क्षेत्रमा प्रारम्भिक काम शुरु भएका छन् । उत्खनन हुने क्षेत्रमा अहिले नाप–नक्सा र त्यहाँको पूर्र्वाधारका काम शुरु भएको छ । पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको द्यौवादी फलाम खानी उत्खनन् यसै बर्षदेखि शुरु गर्ने सरकारको घोषणाले मुर्त रुप पाउने भए पछि यहाँका बासिन्दामा खुशी सँगै विस्थापित हुने समस्या पनि थप जटिल बन्दै गएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

साविक देउरालीको नाम्जाकोट हुदैं दक्षिणमा रुम्से र उत्तरको बौदीकाली गाउँपालिकाको नरमको ल्हापे सम्म यो फलाम खानी फैलिएको छ ।

खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाट अध्ययन शुरु गरे पछि एक बर्ष अघि मात्र लामो अनुसन्धानबाट यहाँको बास्तबिक फलाम खानीको बारेमा पत्ता लागेको र अहिले सरकारले समेत आफनो नीति तथा कार्यक्रममा द्यौवादी फलाम खानीको यसै बर्षदेखि उत्खन्न शुरु गर्ने घोषणा पछि नवलपुरका वासिन्दामा थप उत्सुकता छाएको हुप्सकेोट गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनुभयो ।

भूगर्भविद्हरुले गरेकाे अध्ययनमा यहाँको कच्चा पदार्थमा ५८ प्रतिशत सम्म फलाम निकाल्ने तत्व भेटिएको छ भने फलाम खानीका लागि ६० प्रतिशत हेमटाईडेवर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यम खालको मानिने भएकाले यहाँको फलाम खानी उत्खन्न गर्ने प्रशस्त सम्भावना भएकाे हुँदा सरकारले समेत यस्लाई बढि महत्व दिएको भूगर्भविद्हरुले जनाएका छन् ।

भूगर्भविद्हरुका अनुसार द्यौवादी फलाम खानीमा च्यानल ग्याप कम रहेकाले भित्रैसम्म प्रचुर रुपमा फलाम भेटिएको छ । यस कुराको पुष्टि सहितको प्रतिवेदन सरकारलाई बुझाएको र यो बर्षदेखि द्यौवादी फलाम खानी उत्खन्नमा सरकार अघि बढेको र कानुनी प्रक्रिया को अन्तिम चरणमा पुगेको छ ।

यो बर्षदेखि उत्खन्न थाल्ने घोषणा गरे पछि यहाँका चार सय घर परिवारका तीन हजार बासिन्दा विस्थापित हुने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनुभयो । यहाँको फलाम खानीले गाउँपालिकाको वडा नं ४, ५ र ६ का चार सय घर परिवार विस्थापित हुने छन् भने बौदीकाली गाउँपालिकाको वडा नं ५ नरमका ५० घर परिवार विस्थापित हुने बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताउनुभयो ।

करीव दुई करोड टन उत्पादन हुने यहाँको फलाम खानी वरपरका बासिन्दालाई तत्काल अन्य क्षेत्रमा स्थापित गर्नु पर्ने चुनौती रहेको छ । सबै भन्दा बढि हुप्सकोट गाउँपालिकाका वडा न. ५ को बस्ती नै जोखिममा पर्ने र वडा नं ४ र ६ का एक सय परिबार जोखिममा पर्ने भएकाले राज्यले उनीहरुलाई सम्बोधन गरि द्यौबादी फलाम खानीको उत्खन्न शुरु गर्नु पर्नेमा अध्यक्ष पाण्डेले जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?