logo
२०८१ मंसिर ८ शनिवार



पर्यटकको पर्खाइमा आकर्षक पर्यटकीय गन्तब्य म्याग्दीको खोप्रा लेक (फोटो फिचर)

फिचर |
पर्यटन |


पर्यटकको पर्खाइमा आकर्षक पर्यटकीय गन्तब्य म्याग्दीको खोप्रा लेक (फोटो फिचर)


ठाकुरप्रसाद आचार्य

पुस १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिख स्थित पाउँद्धारको टुप्पोमा रहेको खोप्रालेक म्याग्दीको आकर्षक पर्यटकीय स्थल हो । यो समुिन्द्र सतह देखि तिनहजार छ सय मिटरको उचाईमा छ । यहाँबाट आँखै अगाडि देखिने चाँदी जस्तै सेता हिमाल । मनोरम प्राकृतिक सौन्दर्यता सहितको रमणीय खोप्रालेक गण्डकी प्रदेशकै पर्यटकीय स्थाल बन्न सक्ने संभावनायुक्त स्थल हो । प्राकृतिक सौन्दर्यताले यहाँको सुन्दरतामा थप निखार ल्याएको छ ।

धौलागिरि,अन्नपूर्ण साउथ,निलगिरि लगायतका दर्जनौ हिमाल र डाँडाकाडाँहरुले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । पहाडको टाकुरामा अवस्थित खोप्रालेकबाट देखिने प्राकृतिक दृश्य झन रमणीय छ । प्राकृतिक सुन्दरताका साथै सामुहिक रुपमा पालिएका चौंरीले पनि पर्यटकलाई लोभ्याउने गर्दछन ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी यहाँको भ्रमणमा आउने पाहुँनाको स्वागत र सत्कार गर्न यहाँका स्थानीयहरुले तयारी गरेका छन् । खोप्रालेक आउने पाहुँनाको आरमदायी बसोवासका लागि स्थानीयवासीहरुले सामुहिक रुपमा सामुदायिक होटल सञ्चालन गरेका छन् । भ्रमण वर्षलाई लक्षित गरेर सामुहिक रुपमा थप पूर्वाधार निर्माणमा यहाँका स्थानीयहरु जुटेका छन् ।

खोप्रा पुग्नका सवै रुटहरुमा सामुदायिक पदमार्गको विकास गरिएको छ । सामुदायिक पदमार्गको पदयात्रामा सुन्दर पर्यवरणीय गाउँहरुको अवलोकन गर्दै खोप्रा पुग्न सकिन्छ । कास्कीको धम्पुस – घान्द्रुक – दोवाटो – वहेली – डाँडखर्क हुँदै पाँचदिनमा खोप्रा पुग्न सकिन्छ । यसका साथै म्याग्दीको सदरमुकाम बेनी– वासखर्क – नांगी–महरेडाँडा, फुलबारी, स्वात –डाडखर्क हुँदै चार दिनमा खोप्रालेख पुग्न सकिन्छ । अर्को तर्फ भुरुङ तातोपानी– पाउँद्धार हुँदै खोप्रा दुइदिनमा पुग्न सकिन्छ । यहाँ समुदायहरुले चन्दा सहयोग जुटाएर सामुदायिक पदमार्ग निर्माण गरेका छन् ।
यसै गरी अर्को रुट कास्कीको नयाँ पुल – उल्लेरी – घोडेपानी हुँदै डाडखर्कबाट खोप्रा जान सकिन्छ । खोप्रालेक पुगेका पर्यटकहरु शिखको पाउँद्धार हुँदै भुरुङ तातापोनी पुगेर तातोपानी कुण्डमा रमाउछन । अर्को बाटो खोप्रा बाट नारच्याङको लेकगाउँ – बेशी गाउँ हुँदै तातोपानी झर्न सकिन्छ । भने केही पर्यटकहरु घोडेपानी वा महरे डाँडाको अवलोकन गर्दै नागी–लेस्पार–पुर्णगाउँ हुँदै कास्कीको नयाँ पुल झर्ने गर्दछन् ।

पदमार्गमा मगरसंस्कृति,भेषभूषाको अवलोकन र न्यानो आथित्य सत्कारले पर्यटकको थकानलाई मेटाइदिन्छ । खोप्रालेकबाट छ घण्टाको पदयात्रा पछि पुग्न सकिने खयरभरानी ताल यहाँको अर्को महत्पूर्ण गन्तव्य हो । सामुदायिक पदमार्गमा पर्ने विभिन्न स्थानमा टि हाउस, क्याम्पेनिङ्ग र होमस्टे सुविधा उपलब्ध भएकाले पनि खोप्रालेक पर्यटकको थप आकर्षण बन्न थालेको पाउँद्धारका समाजसेवी रुद्रवहादुर पुनमगरले बताउँनुहुन्छ ।

पदमार्गमा स्थानीयहरुको पहलमा खोलिएका सामुदायिक लजहरुले पर्यटकलाई वस्न र खानको समस्या छैन् । खोप्रालेकमा रहेको खोप्रा सामुदायिक लजमा २४ जना पर्यटक वस्ने सक्ने क्षमताको लज रहेको लजका लेखापाल नारायण पुनले बताउनुभयो ।

पर्यटकहरुका लागि पदयात्रा मार्गमा आवश्यक पर्ने सुविधासम्पन्न होटल, बाटो आदि पूर्वाधार बनेका छन् । पर्यटकहरुका लागि पदयात्रा क्षेत्रमा पर्याप्त खाना तथा आवास एवं बाटो घाटो मर्मत सुधार गरिए पछि यो ट्रेकिङ रुट पर्यटकका लागि निकै आरामदायि बन्न थालेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । गाउँपालिकाले खोप्रामा भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि योजना बनाएको पुनले बताउँनुभयो ।

पदयात्रा मार्गमा पर्ने वस्ती बाहिरका गन्तब्यहरु डाँडखर्क, महरे, खोप्रा, स्वाता लगाएतका ठाउ“मा निजी तथा सामुदायिक लगानीमा गेष्ट हाउस बनेका छन् । अन्नपुर्ण पदमार्गको जस्तै सौन्दर्य र रोमाञ्चक क्षेत्रलाई स्थानीय समुदायले वैकल्पिक पदमार्गको रुपमा बेनी–नागी–खोप्रा ‘इको पदमार्ग’ पर्यटकका लागि थप आकर्षण हो । नागी–महरेडाँडा–घोरेपानी–स्वाता–खोप्रा–खयरबराहतालबाट नारच्याङ्ग–तातोपानी हुँदै बेनी र्फकने १४ दिने लामो साहसिक पदमार्ग भित्रका बाँसखर्क, नागी, टिकोट, खिवाङ्ग, स्वाता, नारच्याङ्ग लगाएतका गाउँमा पर्यटकलाई होमस्टे गराइ स्थानीयले न्यानो आतिथ्यता प्रदान गर्छन् । पदमार्गमा होमस्टे संञ्चालन गरिएका सबै गाउँ मगर बाहुल्य वस्ती रहेका छन् ।
अन्नर्पूण र धौलागिरी हिमश्रृखलामा देखिने सूर्योदय र सुर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल तलैया र हिमाली वन्यजन्तु एवं पंक्षिहरु देख्न सकिने प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधताको अध्ययनका लागि यस क्षेत्रको भ्रमण फलदायी हुने सामुदायिक पदमार्गका समन्वयकता चित्रपुन तिजिलाले बताउनुभयो ।
पदमार्गको मुख्य आकर्षण अग्लो खोप्रालेक हो । खोप्रालेकको भौतिक पूर्वाधार निर्माण गर्न र पदमार्गको विकास गर्न अझै आवश्यक रहेको स्थानीयहरु बताउँछन् । पदयात्रीलाई संञ्चार सुविधाकालागि महावीर पुनको पहलमा निशुल्क इन्टरनेट सेवा समेत संञ्चालन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?