logo
२०८१ बैशाख ७ शुक्रवार



अन्नपूर्णको आकर्षण

फिचर |


अन्नपूर्णको आकर्षण


 विश्वास रेग्मी

तपाईं उभिएको ठाउँबाट जतासुकै घुमेर हेर्नुहोस्, तपाईंलाई हिमालले घेरिरहेको हुन्छ । अझ बिहान सबेरै हेर्नुहोस्, आँखालाई नै चकमन्न पार्ने गरी हिमाल तपाईंको सामुन्ने टल्किदिन्छ । हिउँले घरि आफ्नो सुनौलो रङ देखाउँछ त केहीबेरमै चाँदी जस्तो चम्किन्छ ।
माइनस १० डिग्री सेन्टिगे्रड तापक्रममा पनि तपाईंको मन चिसो हुँदैन । किनभने धेरै कमले मात्र अनुभव गर्ने अन्नपूर्ण हिमालको आधार शिविरमा तपाईं हुनुहुन्छ । ४२ सय मिटरको त्यो उचाइमा तपाईंलाई आत्मानुभूति हुने छ । हिमालसँग कुरा गर्न र प्रकृतिसँग रमाउन सक्नुहुन्छ । तपाईं हिउँ हातमा राखेर अनेक कला देखाउन सक्नुहुन्छ । उपत्यकाजस्तो सानो ठाउँबाट तीन सय ६० डिग्री जता पनि घुम्नुहोस् चित्ताकर्षक तस्बिर खिच्न सक्नुहुन्छ आफ्नो मनमा ।
टाढा पहाडका पछाडि मात्र हिमाल देखेको एउटा व्यक्तिले आफ्नो शिरमाथि नै हिमाल देख्यो भने जे जे अनुभव गर्न सक्छ, त्यो सबै तपाईंलाई अनुभूत हुने छ ।
अनुभवको यो सगरमाथा पाउन तपाईंले हिँड्नुपर्ने हुन्छ मादीको तिरैतिर । जसले विश्वमै चर्चित नाम पनि पाएको छ– एबीसी टे«क । अर्थात् अन्नपूर्ण बेस क्याम्पसम्मको टे«किङ । अघि गरिएको हिमालको वर्णन त्यही बेस क्याम्पबाट हो । एबीसी नेपालीमाझ परिचित हुनुअघि विश्वमा पदमार्गको रोमाञ्च लिन चाहने टे«करबीच भने निकै स्थापित गन्तव्य हो । उनीहरूका लागि अझ एबीसी राउन्ड सर्किट आफ्नो जीवन सार्थक बनाउने एउटा यात्रा बनेर उभिएको छ । त्यसैले तीन हप्ता लगाएर म्याग्दीबाट सुरु गरेको यात्राले लोमान्थाङ हुँदै बेस क्याम्पसम्म पु¥याउँछ । तर अहिले सजिलो छ । समय कम भएका पदयात्रीका लागि पोखराबाटै गन्तव्य सुरु गर्न मिल्छ । जसलाई एक हप्तामै पोखरामा फर्किएर टुङ्ग्याउन सकिन्छ ।
तर त्यही एक हप्ता हो जसले तपाईंलाई विशेष अनुभव गराउनेछ । म नआएको भए धेरै कुरा छुट्ने रहेछ भन्ने अनुभूति गराउँछ । त्यसैले त एबीसीलाई विश्वकै चर्चित ट्राभल ब्लगहरूले आफ्नो उत्कृष्ट पदयात्राको गन्तव्यमा सकेसम्म छुटाउँदैनन् । लन्ली प्लानेटदेखि फोब्र्ससम्मले एबीसी ट्रेकलाई जानैपर्ने गन्तव्यको सूचीमा अटाएका छन् ।
तपाईं पोखराबाट यात्रा सुरु गर्दै हुनुहुन्छ भने पहिलो दिनको यात्राका लागि तपाईंसँग दुई विकल्प हुने छन् । वीरेठाँटी चेकपोस्टबाट केही समय अगाडि लागेपछि तपाईंलाई छिट्टै निर्णय लिन नसक्ने दुई विकल्प आउने छन् । पहिलो दिन धेरै पटक नाम सुनेको घान्द्रुकमा रात बिताउनुहुन्छ अथवा खोलाको किनारै किनार सुसेल्दै छोम्रोङसम्म यात्रालाई तन्क्याउनुहुन्छ । अलि छिटै आफ्नो यात्रा अगाडि बढाउन चाहनुहुन्छ भने छोम्रोङसम्म जान सकिन्छ तर केही उकालो लागेपछि पुगिने घान्दु्रकको अवसर किन छुटाउने ? पहिलो रात त्यतै बसेर गाउँले जीवनको उत्कृष्ट अनुभव त्यहाँ लिन सकिन्छ ।
एबीसी पदयात्राको एउटा विशेषता छ । विशेषता भन्दा पनि पदयात्राको एउटा पूरै प्याकेज छ यसमा । उकालो, तेर्सो, ओरालो, रोमाञ्चक, हल्का साहसिक पनि । मालसामान बोक्न प्रयोग गरिएका खच्चडका घाँटीमा झुन्ड्याइएका घण्टीबाट बाटो बाटोमा बजिरहने हिमाली आवाज, पदयात्राकै क्रममा जाँदै गरेका व्यक्तिको आँखामा देखिएको आशा र फर्किंदै गरेका पदयात्रीको खुसी । कतै चिटिक्क मेला पदमार्ग त कतै अलि कठिन साँघुरा बाटा । कतै लामो जङ्गल छिचोल्दै तेर्सो बाटो कटाउनुपर्ने त कतै आँखाले देख्दासम्मको उकालो । उकालो चढ्दै गर्दा तपाईंको मनमा आउनसक्छ ‘बेकारमा यत्रो दुःख गरेर किन हिँड्नुप¥या होला मलाई ?’ । त्यही उकालो सकेपछि जब तपार्इं हिमाल झन् वर सरेको जस्तो अनुभव गर्नुहुन्छ, तपाईंको त्यो प्रश्न त्यहीँ गल्छ तर गल्दैनन् खुट्टाहरू ।
मोदीको तिरैतिर हिँडिरहँदा बाटैमा देखिन्छ मार्दी हिमालको शिर । तपाईंले खासै ठम्याउन नसकेको माछाको जस्तो पुच्छर भएको माछापुच्छ«ेको शिर हो । त्यही यात्रामा यति प्रष्ट देखिन्छ भने तपाईंलाई जति हेरे पनि धित मर्दैन । चराले तपाईंका लागि गीत गाइदिन्छन् यात्रामा । जङ्गलका अग्ला रुख पदयात्रीलाई स्वागतका लागि उभिएका जस्ता । अनेक फूलको आकर्षणले एबीसी आउने तपाईंको निर्णयप्रति तपाईंलाई नै मनमनै खुसी बनाउँछ ।
यात्राको क्रममा तपाईंले केही दिनरात भने पक्कै बिताउनुपर्ने हुन्छ । त्यसका लागि समय र स्थान व्यवस्थापनको पर्याप्त तयारी गर्न भने नभुल्नुहोला । बाटोमा पर्ने सिन्वा, ब्याम्बो, दोभान, हिमालयन, देउराली, एमबीसी (माछापुच्छ«े बेस क्याम्प) तपाईंका लागि बास बस्ने विकल्प हुन् ।
एबीसी निकै सुरक्षित गन्तव्य हो । तर यात्रालाई थप सहज बनाउन यी ठाउँमा रहेका होटल पहिले नै बुक गरेर हिँड्नु भयो भने यात्रा झनै सुरक्षित र सहज हुन्छ । बास बस्ने होटल पाउने नपाउने तनावबाट मुक्तिका लागि पनि यस्तो तयारी आवश्यक छ । सिजनमा होटल भरिभराउ हुने भएकाले पदयात्रामा यस्तो तयारी गर्नु आवश्यक हुन्छ । यसबाहेक आफूसँगै यात्राका लागि खानेकुरा र प्राथमिक उपचारका लागि औषधि पनि साथमा बोक्नुभयो भने झन् बुद्धिमत्तापूर्ण काम । यात्राका लागि पोखराबाट औसत २० हजार रुपियाँ खर्च छुट्याउनुपर्छ ।
हतारमा हिँडेको एबीसी पदयात्राले तपाईंलाई हतारकै अनुभव दिनेछ । एबीसी पदयात्रा पर्याप्त समय राखेर जानुपर्ने गन्तव्य हो । त्यो अनुभवका लागि जाने हो, जुन तपाईंले अर्कोपटक त्यहीँ गएर मात्र पाउनुहुन्छ । र अर्कोपटक त्यहाँ पुग्ने योजना त्यति छिट्टै बन्दैन ।
एबीसी पुग्दै गर्दा मात्र होइन फर्किंदाको आनन्दानुभूति झन् बेग्लै हुन्छ । फर्किंदा मादी हिमालतिर हेर्नुभयो भने त्यता पनि तपाईंको अर्को योजना पक्कै बन्छ । पदयात्रामा जाँदै गर्दा भन्दा फर्किंदा यात्रा अलि छोट्याउन सकिन्छ । एबीसी यात्रा सधैँ अमिट बनिरहन्छ । हो एबीसी पदयात्राले लोभ्याउँछ, हिमालले लोभ्याउँछ । 

 

युवामञ्च माघ २०७६

  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?