logo
२०८१ मंसिर ९ आईतवार



किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा !

फिचर |


किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा !


बेलिना थापा

लमजुङ, फागुन २८ गते । सन्देषी दीक्षित लमजुङको बेंसीसहर नगरपालिका ७, चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्नुहुन्छ । १६ बर्षीया उहाँ २ बर्षअघि महिनावारी हुनुभयो ।

विस्तारै उहाँको शारीरिक परिवर्तन हुँदै गयो । अंग, उचाई बढ्दै जाँदा उहाँलाई डर लाग्यो । विद्यालयमा यौन तथा शारीरिक शिक्षा सम्बन्धी पाठ पढाइँदै थियो । किताबमा लेखिएका कुरा र शिक्षकले भनेका कुराबाट उहाँलाई थाहा भयो कि, यो सामान्य कुरा रहेछ । अहिले केही कुरा मनमा आउने वित्तिकै शिक्षक र बुवाआमालाई भन्ने गर्नुहुन्छ । ‘जब महिनावारी भएँ । स्तन बढ्न थाल्यो । उचाई बढ्न थाल्यो । कसलाई भन्ने र के गर्ने भयो । मनमा एकखाले डर पलायोे’ उहाँले भन्नुभयो, ‘कक्षमा पढ्न थालेँ । यस्तो कुरा बारे साथीसङ्गी, शिक्षकका साथै अभिभावकसँग सोधपुछ गरेँ । कुरा बुझ्न थालेपछि खासै नौलो लागेन ।’

विद्यार्थीले यौन सचेतनाका कुरालाई सकरात्मक रुपमा लिँदै आएका छन् । कक्षा १० मै अध्ययनरत सुस्मिता घिमिरेलाई पनि किन रजस्वला हुन्छ, किन अंग बढ्छ भन्ने जिज्ञासा आइरहन्थ्यो । अभिभावकलाई भन्न नसकेपनि साथीभाइ र शिक्षकसँग सोध्न थाल्नुभयो । उहाँले भन्नुभयो–‘यौन शिक्षाको महत्व बुझ्न थालेका छौं । यौन शिक्षाको अभावमा कतिको उमेर नपुगी विवाह भएको छ । धेरै जनासँग यौनजन्य क्रियाकलापले रोग लागेको छ । कतिले आफ्नो जीवन बर्बाद पारेका छन् । यस्ता विषयमा म जानकार भएको छु । साथीहरुलाई पनि यौन शिक्षाका बारेमा जानकारी गराउने गरेको छु ।’

कक्षा १० मा अध्ययरनत सौरभ दुलालले शिक्षकलाई खुलेर यौन जिज्ञासा गर्ने गर्नुभएको छ । ‘मेरो बुवाआमाले पढ्नुभएको छैन । उहाँलाई केही साध्न थाले भने थाहा छैन भन्नुहुन्छ । विद्यालय आउँदा सरहरुसँग सोध्न थालें’ उहाँले भन्नुभयो, ‘विद्यालयमा पढ्दै गर्दा कुन उमेर कस्तो परिवर्तन हुन्छ र कुन उमेरमा यौन सम्पर्क गर्न उपयुक्त हुन्छ अनि कुन उमेरमा विवाह गर्न हुन्छ र कुन उमेरमा बच्चा जन्माउन हुन्छ भनेर बुझेको छु ।’

जन विकास माध्यमिक विद्यालय चण्डीडाँडाका स्वास्थ्य शिक्षक श्रीकृष्ण घिमिरेका अनुसार विद्यालयमा कक्षा ८, ९, १०, ११ र १२ कक्षामा स्वास्थ्य शिक्षा पढाउने गरिन्छ । उनीहरुलाई सामाजिक विषय र स्वास्थ्यको विषयमा जानकारी गराउने गरेपनि विद्यार्थीले शारीरिक र स्वास्थ्यको बारेमा चासो दिने गरेका छन् । यौन शिक्षाबारे खुलेर प्रश्न गर्ने गरेका छन् ।

‘पाठ्यपुस्तकमा भए अनुसार यौन शिक्षाबारे बुझाउँछौं । छात्र र छात्रा दुवै खुलेर सोध्ने गर्छन् । चासो दिएर कक्षामा बस्ने गर्छन्’ उहाँले भन्नुभयो, ‘कुन उमेरमा यौन सम्पर्क गर्ने, असुरक्षित यौन सम्पर्क गर्दा के हुन्छ भनेर सोध्छन् । उनीहरुले बुझ्ने तरिकाले जवाफ दिने गरेका छौं । यसबाट विद्यार्थीले के गर्दा, के हुन्छ, के गर्दा आफ्नो जीवन बर्बाद हुन्छ भनेर बुझेका छन् ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?