शिवशंङ्कर मिश्र
बारा, फागुन ३० गते । कोराना भाइरसको कारण नेपालबाट भारतको वैष्णौदेवी दर्शनकालागि गएका करिब ६० जना दर्शनार्थी भारतको कटरामा अलपत्र परेका छन् । कलैया, वीरगंजबाट गत फागुन २४ गते हिडेका दर्शनार्थीलाई तीन दिनदेखि कटरामा भारतीय प्रहरीले उच्च निगरानीकासाथ राखेको हो ।
जम्मु काश्मीर राज्यको कटरा रेल्वे स्टेशनबाट नियन्त्रण लिएका वैष्णोदेवी दर्शनकालागी वीरगंजबाट गएका श्रवण रायमाझीले जानकारी दिनुभयो । दर्शनकालागी सामुदायिक प्रहरी सेवाकेन्द्र कुम्हालटोलका उपाध्यक्षसमेत रहेका रायमाझीको नेतृत्वमा गएको १७ जनाको टोली सहित वीरगंजकै राधेमाई टोलबाट अवधेशकुमार मिश्र, सुनीता देवी मिश्र, वीरगंज–११ का महेन्द्र कर्ण, हृदयनारायण कर्ण, मुर्ली, मिथिलानगरबाट गरी ६० जना भन्दाबढी दर्शनार्थी अलपत्र परेको बताइएको छ ।
उहाँहरुलाई मंगलबार कटरा रेल्वे स्टेशनमा उत्रिनासाथ भारतीय प्रहरीले नियन्त्रणमा लिएर तीन दिनदेखि नियमित स्वास्थ्य परीक्षण गर्दै आएका दर्शनार्थी हृदयनारायण कर्णले जानकारी दिनुभयो ।
उहाँहरुलाई सुरक्षाकर्मीको निगरानीमा दिनको दुई पटक चिकित्सकको टोलीले ज्वरो, रुघाखोकी तथा उच्च रक्तचापको परीक्षण गरिदै आएको उहाँले बताउनुभयो । आफूहरुमाथि कुनै किसिमको दुरव्यवहार नभएपनि १४ दिन पछि मात्रै छाड्ने भारतीय प्रहरीको कुरालाई उदृतगर्दै गोरखापत्रकर्मी शिवशंङ्कर मिश्रलाई दर्शनार्थी कर्णले मोबाइलमा सम्पर्क गरि बताउनुभयो ।
नियमित रुपमा चेकजाँच गर्दै खानापानको व्यवस्था समेत भारतीय प्रहरीले मिलाएपनि आफूहरु एकैठाउमा बस्नुपर्ने बाध्यताले समस्यामा परेको सामुदायिक प्रहरी सेवाकेन्द्र कुम्हालटोलका उपाध्यक्ष रायमाझिले बताउनुभयो ।
साे सम्बन्धमा परराष्ट्रमन्त्रलयका प्रवक्ता भरतराज पाैडेलसँग कुरा गर्दा उहाँले यस विषयमा जानकारी प्रप्त नभएकाे र अाफूले त्यसबारे बुझ्ने बताउनुभयाे । उहाँ अहिले अतिअावश्यक बाहेकका काममा विदेश नजान अाग्रह गरिएकाे र यस्ताे अबस्थामा क्वारेन्टाइनमा राख्नु स्वभाविक भएकाे बताउनुभयाे ।