मनोज भट्टराई
ओखलढुंगा, चैत २ गते । ओखलढुङ्गाका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडीएको छ । गाउँगाउँमा मार्फत विद्युतीकरण भएसँगै ढिकी जाँतो पाउन छाडिएको हो ।
बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुन लागेका हुन् । गाउँमा टुकी विस्थापित भएसँगै अन्न कुटानी पिसानी गर्ने परम्परागत ढिकी जातो समेत विस्थापित भएका छन् । केही वर्ष अघिसम्म गाउँका मानिसहरू बर्खायाममा खेतबारी खनजोत गर्नु, धान कोदो रोप्न ब्यस्त हुने भए पनि हिउँदको समयममा निकै फुर्सदिला हुन्थे ।
विशेष गरी हिउँदको समयमा महिलाहरु एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी–जाँतोमा अन्न कुट्ने र पिस्ने गर्दथे तर अहिले मीलमा अन्न लगेर कुटानी पिसानी गर्न थाले पछि हिउँदभरी चल्ने ढिकी जाँतो पुर्ण रुपमा बन्दनै भएका छन् ।
विद्युत र तेलबाट चल्ने मिलले गर्दा गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकीजाँतोको उपयोग हुन छाडेको चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जनकुमार बुढाथोकीले बताउनु भयो । थोरै अन्न पिस्न घण्टौं लगाएर ढिकीजाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तोमै मिलमा अन्न सजिलै छिनमै पिसिदिने भएपछि सहज भएको उहाँको भनाई छ ।
‘केही वर्ष पहिलेसम्म गाउँमा चिउरा, धान, गहुँ, कोदो र पिठोका लागि ढिकी जाँतो प्रयोग हुन्थ्योत्यस्ता, तर अजभोली परम्परागत साधन थन्किएका छन्’ खिजीदेम्वा गाउँपालीका वडा नम्वर २ की कमला नेपालले बताउनु भयो । १५/१६ वर्ष अघिसम्म आमा भाउजुहरुले बिहान रातीदेखि घण्टौंसम्म अन्न कुटानी पिसानीका लागि ढिकी जाँतो गर्नुपथ्र्यो, तर मिल आएपछि सजिलो भएको उहाँको भनाई छ ।
१९ वर्षअघि नै गाउँमा डिजल मिल आएपछि ढिकी जाँतो प्रयोगमा केही कमी आएको भए पनि सात वर्षअघि देखी बिजुली मिल चलन थाले पछि अहिले ढिकी जाँतो बेकाम बनेको लिखु–६ का स्थानीय मिल संचालक चिन्ता प्रसाद पुडासैनीले बताउनु भयो । घरनजिकै डिजेल र बिजुलीले चल्ने कुटानीपिसानी मिल सञ्चालनमा आएपछि आफ्नो गाउँमा ढिकी थान्को लागेको उहाँको भनाई छ । घरबाट मिल पुग्न २ मिनेट पनि लाग्दैन, एकैछिनमा पिसिदिन्छ अनि ढिकी जाँतो किन चलाई रहनु पर्यो र मिलको चलनले ढिकीमा हल्लिरहन पनि नपरेको चम्पादेवी गाउँपालिका वडा नं. १० की सकुन्ताला बुढाथोकीले बताउन भयो ।
बिशेष गरी गहकीलो काठ, सकेसम्म साल नभए पनि साज, हर्रो,बर्रो, चिलाउने, अमाला, धँगेरोको ढिकी बनाउने चलन भए पनि पछिल्लो समय ढिकीमा प्रयोग गरीएका साल, साज, हर्रो, बर्रो र अमला जस्ता राम्रा काठहरु भुकम्प पछिको पुननिर्माणका बेला घर बनाउदा घरमा प्रयोग गरीएको उहाँको भनाई छ ।
आधुनिक कुटानीपिसानी मिलले समय र श्रमको बचत हुने भएपछि दिनानुदिन क्रमिक रूपमा ढिकीजाँतोको प्रयोग कम हुन थालेको चम्पादेवी गाउँपालीका वडा नं. १० का वडा अध्यक्ष बुढाथोकीको भनाई छ । मिलमा एकैछिनमा अन्न पिसिदिन्छ ढिकी जाँतोमा घण्टौंसम्म समय र जनशक्तिको नाश हुने हुँदा मिलमा समय र श्रम दुवैको बचत हुने भएको कारण अवको पुस्तालाई ढिकी जाँतो चिनाउनु पर्ने समय आएको उहाँले बताउनु भयो ।
बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा परम्परागत गाउँघरका ढिकीजाँतो लोप हुने क्रममा रहेको छ । अत्याधुनिक प्रविधि गाउँसम्म पुगेपछि ढिकीजाँतो जस्ता परम्परागत शैली र पहिचान ओझेल बन्दै गएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति ओखलढुङ्गा घरेलु तथा साना उद्योग विकास समिति ओखलढुङ्गाको तथ्यांकअनुसार हाल सिद्धिचरण नगरपालीकामा २८ वटा, मानेभञ्याङ्ग गाउँपालीकामा २ वटा, चिसंखुगढी गाउँपालीकामा ७ वटा, सुनकोसी गाउँपालीकामा १० वटा, चम्पादेवी गाउँपालीकामा ७ वटा, लिखु गाउँपालीकामा २० वटा र खिजीदेम्वा गाउँपालीकामा ९ वटा मोलुंग गाउँपालीकामा १८ वटा गरी जिल्लाभर जम्मा ११८ वटा कुटानीपिसानी मिलहरू सञ्चालनमा भएका भए पनि यो संख्या अझै वढी हुन सक्ने घरेलु तथा साना उद्योग विकास समिति ओखलढुङ्गाले जनएको छ ।