शिवकुमार काशी
हेटौँडा, चैत ३ गते । चितवनको सौराहाजस्तै वन वातावरणम आधारित पर्यटकीय स्थल निर्माणका लागि पश्चिम मकवानपुरको मनहरीमा जग्गा खोजी गरिएको छ । मनहरी गाउँपालिकाले सार्बजनिक/पर्ती जग्गा खोजेर संरक्षणको प्रयास गरेको हो । संरक्षित जग्गामा ‘मिनी सौराहा’ निर्माणका लागि पूर्वाधार तयार गरेर अघि बढ्न लागिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार मनहरी गाउँपालिकाको वडा नं ६ को प्रतापपुर र ७ को रमौली क्षेत्रमा गरी १ सय ५० विघा नदी छेउको जग्गा फेला पारिएको छ । गाउँपालिका उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा गठित समितिले गरेको अनुगमनका क्रममा तटबन्धन निर्माण गरेपछि निस्केको नदी उकास जमीन फेला पारिएको हो ।
राप्ती खोलासँग जोडिएका ती जग्गाहरुमा सौराहामा झैँ होटलहरु स्थापना गर्न र सांस्कृतिक प्रतिष्ठानहरु निर्माण गरी संचालन गर्न सकिने उपाध्यक्ष विष्टले बताउनुभयो । उहाँले पर्र्सा राष्टिय निकुन्जको मध्यवर्ती क्षेत्र भएकाले निकुन्ज क्षेत्रबाट खोला किनारमा आउने जंगली जनावर सजिलै देख्न पाइने र निकुन्जमा समेत हात्ती सफारी गर्न पाइने भएकाले ‘मिनी सौराहा’ भन्ने गरिएको बताउनुभयो । यस क्षेत्रमा बिस्तारै ठूला लगानीका होटलहरु स्थापना हुने क्रम पनि बढेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सबै वडाका पर्ती जग्गाहरुको संरक्षण गरी त्यसलाई आर्थिक समृद्धिसँग जोड्ने कार्यक्रम ल्याउने जनाएको छ । अहिले पर्ती जग्गा खोज्नका लागि सर्वदलीय र सरोकारवाला सहितको उपसमितिले काम गरिरहेको गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो । भूमीहिनहरुले गरेका पुराना अतिक्रमणलाई व्यवस्थित गर्दा वास्तविक भूमिहीन पहिचान भएमा सरकारले सुकुम्बासी समस्या समाधान आयोगमार्फत समस्या समाधान गर्ने उहाँले जानकारी दिनुभयो ।