हेटौँडा, चैत १४ गते । वाग्मती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको लक डाउनले बजारमा सहजरुपमा ग्यास उपलब्ध नभएको उपभोक्तहरुले गुनासो गरेका छन् ।
ग्यास बिक्रेताले ग्यास अभाव रहेको र ग्यास उद्योगमा थप ग्यास नआएकाले आ–आफ्ना पसल बन्द गरेको बताएका छन् । लक डाउनले बाहिर निस्कने अवस्था नरहेको र ग्यास अभाव भएको उपभोक्तलाई समस्या परेको ग्यास बिक्रेता नवीन अधिकारीले बताउनुभयो ।
उता नेपाल आयल निगम अमलेखगञ्ज डिपो कार्यालका प्रमुख भरत रेग्मीले आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर राख्ने कारणले समस्या भएको बताउनुभयो । उहाँले वीरगञ्ज नाकाबाट दैनिक ३० देखि ४० ग्यास बुलेट आइरहेको र बिक्रीवितरण प्रणाली व्यवस्थित गरेमा समस्या नहुने बताउनुभयो ।
लक डाउनले होटेलहरु बन्द भएको र ग्यास बुलेटका चालक तथा सहचालकलाई आफ्नो अमलेखगञ्जस्थित डिपोमा निःशुल्क खाना खुवाउने गरेको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
त्यसैगरी हेटौँडामा पम्पहरु बन्द हुँदा पेट्रोलियम पदार्थको समेत समस्या भएको सर्वसाधारणको गुनासो छ । हेटौँडामा रहेको एक दर्जन पम्पले पेट्रोलियम पदार्थ बिक्री वितरण बन्द गरेका छन् तर डिपो प्रमुख रेग्मीले मौज्दात पूरा रहेको छ भन्नुभयो । लक डाउनले हेटौँडा बजार अहिले सुनसान भएको छ । सर्वसाधारण घरमा बसेका छन् भने स्थानीय प्रहरी बजारमा व्यापक रुपमा परिचालन गरिएको छ ।