प्रकाशविक्रम शाह
धनगढी, चैत १५ गते । शुक्रबार कोरोना भाइरस संक्रमण भएको पुष्टी भएका धनगढीका ३४ वर्षीय युवकको स्वास्थ्य अबस्था समान्य रहेको अस्पतालले जनाएको छ ।
निजलाई उपचारमा अस्पतालबाट वास्ता नगरिएको आरोप परिवाले लगए पनि अस्पतालले लापरबाही नभएको प्रोटोकल अनुसार नै उपचार भएको जनाएको छ ।
शुक्रबार दिउँसो संक्रमण पुष्टी भएपछि छुट्टै आइसोलेसन वार्डमा राखिएको छ । ती युवक चैत ७ गते दुबहीबाट दिल्ली हुँदै काठमाडौ आएका थिए भने चैत ८ गते धनगढी आइपुगेका थिए । खोकी लाग्न थाले पछि निज चैत ११ गते सेती प्रादेशिक अस्पताल आएका थिए । दुवईबाट आएको भनेपछि उनलाई अस्पतालमै राखिएको छ । उनमा ज्वरो ९७ डिग्री मात्रै भए पनि सामान्य खोकी लागेको छ । अस्पतालले शुक्रबार नै एक विज्ञप्त जारी गरेर विमारीको अवस्था सामान्य रहेको बताएको थियो ।
ती युवकका आफन्तले भने अस्पतालका राम्रो उपचार नभएकाले काठमाडौं लगेर उपचार गराउन माग समेत गरेका छन ।
चैत ७ गते शुक्रबार दुवईबाट इमिरेट एअरलाइन्सको फ्लाइट नम्बर ईके ०५१० मा दिल्ली र दिल्लीमा छ घण्टाको ट्रान्जिटपछि भिस्तरा एअरलाइन्सको यूके ० १५५ को फ्लइटबाट दिउँसो ४ ः ३० मा काठमाडौ आएका थिए । त्यो दिन काठमाडौमै मामा घरमा बसेका उनी अर्कोदिन मात्रै नेपालगञ्जसम्म वुद्ध एअरमा र त्यसपछि अटोरिक्सामा कोहलपुर, माइक्रोमा अत्तरिया र अत्तरियाबाट बसमा धनगढी पुगेको आफन्तहरुले बताएका छन् ।
सेती प्रादेशिक अस्पताका अध्यक्ष दुर्गाप्रसाद जोशीले अझ राम्रो उपचारका लागि चिकित्सकसंग छलफल भइरहेको बताउनुभयो ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले विरामीा आफन्तलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्न पहल भइरहेको बताउनुभयो । कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आफन्तलाई आज नै आइसोलेसनमा राखी निगरानी गरिने बताउनुभयो । उहाँले आज नै उनीहरूको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौ पठाइने पनि बताउनुभयो ।