logo
२०८१ मंसिर ९ आईतवार



गाउँपालिकाले दिने भयो, स्वास्थ्यकर्मीलाई एक महिनाको प्रोत्साहन भत्ता

फिचर |


गाउँपालिकाले दिने भयो, स्वास्थ्यकर्मीलाई एक महिनाको प्रोत्साहन भत्ता


मनोज भट्टराई

ओखलढुंगा, चैत १८ गते । कोरोना भाईरस संक्रमणको रोकथामका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई गाउँपालिकाले प्रोत्साहन भत्ता दिने भएको छ । जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका कार्यपालिकाको बैठकले उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई एक महिनाको तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले दैनिक रुपमा क्वारन्टाईनमा खटिने तथा थपसेवा प्रदानगर्ने स्वास्थ्यकर्मीहरुलाई खाना खाजा वापत दैनिक ५ सय रूपियाँ भत्ता उपलब्ध गराउने भएको गाउँपालिकाका उपाध्यक्ष सविता राईले जानकारी दिनुभयो । विश्वमा कोरोना भाईरसको महामारीको सन्त्रास फैलिरहेको अवथामा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने उद्धेश्य सहित यस्तो निर्णय गरेको उपाध्यक्ष राईले बताउनुभयो । 

गाउँपालिकामा सोमबारसम्म भारत तथा अन्य तेश्रोमुलुकबाट ३५ जना भित्रिएका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले मानेभञ्ज्याङ बजार मै ११ शैयाको र हर्कपुरमा ६ शैयाको क्वारेन्टाईन निर्माण गरि सकेको छ । संभावित संक्रमितहरुलाई लक्षित गरेर गाउँपालिका केन्दमा रहेको क्वारेन्टाईनलाई २४ र हर्कपुरको क्वारेन्टाईनलाई १० शैयामा विस्तार गर्ने गरि तयारी भैरहेको गाउँपालिकाका सूचना अधिकारी रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

हाल मानेभञ्ज्याङ्ग गाउँपालिकामा सुरक्षाका साधन पीपीई ७ सेट रहेकोमा ५ थान विभिन्न स्वास्थ्य शाखामा तथा १ थान गाउँपालिकाकेन्द्रमा रहेको क्वारेन्टाईनमा र १ थान हर्कपुरको हेल्थ डेस्कमा राखिएको स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले जानकारी दिनुभयो । हाल मानेभञ्ज्याङ गाउँपालिकाले ७० थान सेनेटराईज र १ हजार थान मास्क गाउँपालिकाका वडा वडामा रहेको स्वास्थ्य संस्थातथ हेल्पडेस्कहरुमा वितरण गरि सकेको छ ।

मानेभञ्ज्याङ्ग गाउँपालिका ओखलढुङ्गा मात्रै नभएर सोलुखुम्बु र खोटाङ जिल्ला प्रवेश गर्ने मुख्य नाका भएकाले गाउँपालिका कोरोना संक्रमणको घेरामा रहेको छ । तिन जिल्लामा प्रबेश गर्ने मुख्यद्वार समेत रहेको यस गाउँपालिकामा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चेकजाँच गर्नलाई असहज मानेको भन्दै स्वास्थ्यकर्मीहरुको लागि थप ३० थान पीपीई सेट उपलब्ध गराउने तयारी गरि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?